बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

ग्राहकको जोखिम व्यवस्थापनका लागि वित्तीय साक्षरता

मङ्गलबार, ३० वैशाख २०८२, १० : २२
मङ्गलबार, ३० वैशाख २०८२

वित्तीय सेवा तथा कारोबारको संख्या र मात्रा बढ्दै जाँदा पछिल्लो समय वित्तीय साक्षरताको आवश्यकता पनि बढ्दै गएको छ । नेपालमा मात्रै नभएर विश्वमा नै वित्तीय साक्षरताको महत्त्व दिनप्रतिदिन बढ्दै गएको छ । सबै देशका सरकार, केन्द्रीय बैंक, बैंक तथा वित्तीय संस्थादेखि गैरसरकारी संस्था, नागरिक समाज र उपभोक्ताकर्मीको पनि यो क्षेत्रमा बढ्दै गएको छ । 

वित्तीय साक्षरता दुईवटा उद्देश्य हुन्छ— वित्तीय सुरक्षा कायम गर्ने र जनताको वेलफेयर (कल्याण) वृद्धि गर्ने । सामान्य भाषामा भन्दा हाम्रो जीवनशैलीलाई सजिलो बनाउने, सुरक्षित हुने र धेरै लाभ प्राप्त गर्ने नै यसको मुख्य उद्देश्य हो । 

यद्यपि वित्तीय साक्षरताको दायरा एकदमै फराकिलो छ । यो एउटा व्यक्तिले गर्ने वित्तीय सेवाको प्रयोगसँग मात्रै जोडिँदैन व्यक्ति तथा संस्थाको बौद्धिकता, व्यावसायिक सफलतालाई समेत यसले निर्धारण गरेको हुन्छ । एउटा व्यक्तिले आफूसँग भएको वित्तीय साधन बढी प्रतिफल आउने गरी कसरी प्रयोग गर्ने भन्ने निर्णय गर्ने कार्य पनि वित्तीय साक्षरताकै दायराभित्र पर्छन् । विश्वका अर्बपति व्यापारीदेखि कर्पोरेट जायन्ट यही प्रश्नको घेराभित्र सधैँ रहेका हुन्छन् । यो अर्थमा वित्तीय साक्षरता एउटा अन्तहीन प्रक्रिया हो । 

तर, सरकार तथा नियामक निकायको सहभागितामा हुने वित्तीय साक्षरता भने एउटा तहसम्म हुन्छ । वित्तीय सेवाको प्रयोग र वित्तीय ग्राहकको सुरक्षाको लागि आवश्यक साक्षरता सबै वित्तीय ग्राहकसम्म पुर्‍याउनु हाम्रो उद्देश्य हो । पछिल्लो वित्तीय सर्वेक्षणले नेपालको औसत वित्तीय साक्षरताको अवस्था करिब ५८ प्रतिशत मात्रै छ । त्यसमध्ये पनि २७ प्रतिशत मात्रै यस्ता व्यक्ति छन् जसले वित्तीय साक्षरताका न्यूनतम अंक पूरा गरेका छन् । त्यसैले नेपालको सन्दर्भमा वित्तीय साक्षरताको महत्त्व अझै बढी रहेको हामीले पाउँछौँ । 

कसलाई कति चाहिन्छ वित्तीय साक्षरता ? 

वित्तीय साक्षरता सिकाइको अन्तहीन प्रक्रिया भए पनि आधारभूत साक्षरताको आवश्यकता निर्धारण गर्न सकिने किसिमको हुन्छ । कुन उमेर समूहको व्यक्तिलाई कति वित्तीय साक्षरता चाहिन्छ भन्ने सम्बन्धमा विश्वमा विभिन्न अध्ययन र अनुसन्धान भएका छन् । युरोपेली मुलुकले यस सम्बन्धमा एउटा अवधारणा रहेको पाइछ । यसअनुसार वित्तीय साक्षरतालाई ६ वटा ढाँचा विकास गरिएका छन् ।   

यो अवधारणा अनुसार ५ वर्ष उमेरसम्मका बालबालिकालाई वित्तीय साक्षरता दिनु आवश्यक छैन । त्योभन्दा माथि १० वर्षसम्मका बालबालिकालाई सामान्य खालको जानकारी दिनुपर्छ । यो उमेर समूहको बालबालिकालाई पैसा चिनाउने र त्यसको कारोबार गर्ने तरिका बुझाउनुपर्छ भनिन्छ । जस्तै, एटीएमबाट पैसा निकाल्न सकिन्छ, अनलाइन कारोबार हुन्छ भन्ने जस्ता सामान्य जानकारी उनीहरूलाई दिनुपर्छ ।  

उमेरसँगै साक्षरताको तह पनि बढ्दै जानुपर्छ । १० वर्षभन्दा माथिका बालबालिकालाई बिस्तारै वित्तीय कारोबारमा प्रत्यक्ष रूपमा सहभागी गराउँदै जानुपर्छ । यसका लागि १० देखि १६ वर्ष, त्योभन्दा माथि १८ वर्षसम्म र १८ वर्ष भन्दा माथि (एडल्ट) का लागि आवश्यक हुने वित्तीय साक्षरताको तहको ढाँचा फरक फरक निर्धारण गरिएको छ । हामीले दिने वित्तीय साक्षरता एडल्टकै लागि केन्द्रित हुने गर्छ । बालबालिकाका लागि दिइने साक्षरता परिवारको सदस्य वा विद्यालयबाट प्रदान गर्नुपर्छ भन्ने मान्यता हुन्छ । 

वित्तीय साक्षरताका क्षेत्र

वित्तीय साक्षरता सीमाहीन विषय भए पनि आधारभूत रूपमा यसलाई विभिन्न भागमा वर्गीकरण गर्न सकिन्छ । हामीले यसलाई चार भाग — मुद्रा कारोबार तथा योजना, जोखिम तथा वित्तीय परिदृश्य, डिजिटल वित्तीय साक्षरता र साना तथा मझौला उद्योगीसँग सम्बन्धित वित्तीय साक्षरता गरी चार भागमा विभाजन गरेका छौँ । यसमध्ये पहिलो तीनवटा भाग व्यक्तिगत ग्राहक र उपभोक्तासँग सम्बन्धित हुन्छ भने चौथो घरेलु तथा साना उद्योग व्यवसायसँग सम्बन्धित हुन्छन् । 

एउटा व्यक्ति आफैँमा उपभोक्ता मात्रै नभएर उत्पादक समेत हो । त्यस्तो सेवाप्रवाह ठुला व्यावसायिक संस्थादेखि घरेलु तथा साना उद्योग (एमएसएमई) मार्फत दिने गर्छ । मझौला तथा ठुला उद्योगका कार्यरत कर्मचारी आफैँमा यसप्रति जागरूक हुन्छन् ।  घरेलु तथा साना उद्योगका हकमा भने सरकार र नियामक निकायकै स्तरबाट वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता हुँदै आएको छ । यहाँ वित्तीय साक्षरताका चारवटै क्षेत्रलाई संक्षेपमा उल्लेख गरिएको छ । 

१. मुद्रा र कारोबार

भौतिक वा अभौतिक (डिजिटल) रूपमा हुने मुद्राको कारोबारको लागि व्यक्तिमा खास प्रकारको सीप र ज्ञान आवश्यक हुन्छ । यस अन्तर्गत पैसालाई चिन्ने, आम्दानी र खर्चको सन्तुलन मिलाउने, खरिद र भुक्तानीबिचको मूल्य निर्धारण गर्ने, वित्तीय अभिलेख व्यवस्थापन गर्ने कुराहरू पर्दछन् । 

भौतिक स्वरूपको मुद्रा कारोबार गर्ने कुनै पनि व्यक्तिले सर्वप्रथम सिक्का वा नोटलाई चिन्नुपर्छ । त्यसको मूल्य थाहा पाउनुपर्छ । सक्कली हो कि होइन भनेर यकिन गर्न सक्ने हुनुपर्छ । र, यसलाई कसरी सुरक्षित राख्ने भन्ने जानकारी पनि हुनुपर्छ । त्यस्तै, डिजिटल कारोबार वा डिजिटल मुद्राको प्रयोग गर्नेले प्रयोग गर्ने तरिका तथा उपयुक्त भुक्तानी प्रणालीको छनोटसम्बन्धी जानकारी हुनु अपरिहार्य मानिन्छ । 

आम्दानीको स्रोतको पहिचान अर्को मुख्य विषय हो । कुनै व्यक्तिले आम्दानी गर्छ भने यसको स्रोत के हो भन्ने थाहा हुनुपर्छ । त्यस्तो स्रोत वैध हो भन्ने निश्चित हुनुपर्छ । र यस्ता आम्दानी र खर्चको रेकर्ड समेत राख्नुपर्छ । त्यस्तै, आम्दानी र खर्चको विश्लेषण गर्ने, फजुल खर्च रोक्ने कार्य पनि एउटा व्यक्तिका लागि अपरिहार्य हुन्छ । यस्तो कार्यले आयव्ययको सन्तुलन कायम गर्न सहयोग पुग्छ । भविष्यको खर्च एवं अवकाशपछिको सुरक्षालाई समेत यसले सुनिश्चित गर्छ । 

मुद्रा तथा कारोबारको अर्को महत्त्वपूर्ण पक्ष भने बजार अनुशासन हो । हामीले कुनै वस्तुका लागि शुल्क (प्राइस) तिर्छौँ भने त्यो बराबरको मूल्य (भ्यालु) प्राप्त गरेका छौँ कि छैनौँ भन्ने यकिन हुनुपर्छ । अहिले उपभोक्ता ठगीका घटना आउनुमा बजार अनुशासनसम्बद्ध वित्तीय साक्षरताको अभाव मुख्य कारणको रुपम देखिएका छन् । 

त्यस्तै, कुनै पनि सामान किन्नुभन्दा अगाडि त्यसले भविष्यका लागि आवश्यक खर्चमा पर्न सक्ने प्रभाव, तरलता व्यवस्थापन जस्ता कुरामा पनि ध्यान दिनुपर्छ । उदाहरणको लागि एउटा व्यक्तिले १० हजार मात्रै बचत गर्छ तर २० हजारको भुक्तानी गर्ने गरी सवारी साधन किन्छ भने त्यस्तो सामानले सुविधा र सन्तुष्टिको सट्टा समस्या निम्त्याउने काम मात्रै गर्छ । यी विषयबारेको सचेतना हुनु एउटा व्यक्तिसँग हुनु आवश्यक छ । 

त्यस्तै, बजारमा हुने मुद्रास्फीतिका भविष्यमा मुद्राको मूल्यमा ह्रास आउँदै जाने कुरालाई पनि उपभोक्ताले विचार गर्नुपर्छ । त्यसको क्षतिपूर्तिको लागि रकम व्यवस्थापन गर्दै जानु वित्तीय रूपमा साक्षर व्यक्ति एउटा पहिचान हो ।

२. योजना तथा वित्तीय व्यवस्थापन

निश्चित समयमा, निश्चित उद्देश्यका लागि गरिने खर्च तथा आम्दानीको खाका तयार पार्ने काम वित्तीय व्यवस्थापन हो । यसले सम्पत्ति सञ्चय गर्ने, त्यसको प्रयोग गर्ने र त्यस्तो प्रयोगबाट थप आम्दानी गर्ने कार्यलाई जनाउँछ । बजेटिङ, आम्दानी तथा खर्चको व्यवस्थापन, बचत तथा लगानीको दीर्घकालीन योजना निर्माण, ऋण व्यवस्थापन तथा अवकाशका लागि योजना बनाउने कार्य यस अन्तर्गत पर्छन् । 

कुनै व्यक्तिले खर्चको योजना बनाउँदा त्यसको आम्दानी र तरलता व्यवस्थापनमा ध्यान दिनुपर्छ । यस्तो योजना  बनाउँदा पछिल्लोपटकको आम्दानी तथा खर्चलाई आधार बनाउन सकिन्छ । यस्तो योजना बनाउँदा भविष्यमा अपर्झट आइपर्ने जोखिमका लागि आवश्यक खर्च व्यवस्थापन गर्नुपर्छ । 

आम्दानी र खर्चको अवस्था सधैँ सन्तुलित नहुन सक्छ । आम्दानीभन्दा धेरै खर्च हुँदा कहिदे ऋण लिनुपर्छ । खर्चभन्दा आम्दानी बढी हुँदा बचत हुन्छ । यस्तो अवस्था व्यक्तिको उमेर समूह, स्वास्थ्य अवस्था, पारिवारिक अवस्था तथा अन्य प्राकृतिक तथा मानवीय विपत्तिसँग पनि जोडिएको हुन्छ । 

उदाहरणको लागि एउटा वयस्क व्यक्तिले सामान्य अवस्थामा काम गर्न सक्दा खर्च भन्दा आम्दानी धेरै गर्नुपर्छ ताकि भविष्यको लागि सहयोग हुन् । तर, त्यही व्यक्ति बिरामी हुँदा, विवाह जस्ता सामाजिक कार्य गर्दा त्यही उमेरमा पनि आम्दानी भन्दा खर्च बढी गर्ने अवस्थामा पुग्न सक्छ । त्यसैले जीवनमा आइपर्ने खर्चको आवश्यकता अनुसार बचत वा ऋणसम्बन्धी निर्णय लिन सक्ने अवस्था बनाउनु वित्तीय साक्षरताको एउटा उद्देश्य हो । 

त्यस्तै, बचत वा लगानी गर्दा सुरक्षित र उचित प्रतिफल पाउने ठाउँमा गर्नुपर्छ । अहिले बजारमा बचत तथा मुद्दती निक्षेप, शेयर तथा अन्य धितोपत्र, सुनचाँदी लगायत कमोडिटिज, डेरिभेटिभ जस्ता विभिन्न विकल्प छन् । आन्तरिक तथा बाह्य वातावरणीय प्रभावलाई समेत विचार गरेर लगानी विविधीकरण गर्दै जोखिम घटाउने उपायमा जानुपर्छ । 

ऋण लिनुपर्दा कस्तो अवस्थामा लिने ? कस्तो अवस्थामा नलिने ? कुन स्रोतबाट लिने भन्ने निर्णय महत्त्वपूर्ण हुन्छ । साथै ऋण लिँदा यसका सर्तहरू, धितो जमानी, ब्याजदर, भुक्तानीको किस्ता, आम्दानीको स्रोतको सुनिश्चितता जस्ता विषयलाई पनि ध्यान दिनुपर्छ । 

त्यस्तै, अवकाशपछिको योजना, बीमा, अवकाश कोष, निवृत्तिभरण कोष लगायतमा उपयुक्त योगदान गरेर आफू र आफ्नो परिवार र भविष्यलाई सुरक्षित बनाउने निर्णय पनि योजना र वित्तीय व्यवस्थापनका अभिन्न अंग हुन् । 

३ जोखिम र प्रतिफल 

हामीले गर्ने वित्तीय कारोबारमा जोखिम सँगसँगै जोडिएर आउँछ । यस्तो जोखिम प्रणालीगत (सिस्टमेटिक) र अप्रणालीगत (अनसिस्टमेटिक) गरी दुई प्रकारका हुन्छन् । पैसा हराउने, चोरी हुने जस्ता जोखिमहरू प्रणाली बाहिरका जोखिम हुन् । व्यापार वा लगानीमा हुने नोक्सानी, तरलता जोखिम, ब्याजदर जोखिम, विदेशी विनिमयको उतारचढाव, मूल्यवृद्धिजस्ता विषय प्रणालीगत जोखिम हुन् । 

भौतिक रूपमा मुद्राको प्रयोग हुँदा हराउने, चोरी हुने जस्ता जोखिम हुन्थ्यो । डिजिटल कारोबारको प्रयोगसँगै फिसिङ, सोसल इञ्जिनियरिङमार्फत चोरी र ठगीका घटना हुने गरेका छन् । भुक्तानी प्रणालीमा समस्या आउँदा हुनसक्ने व्यवहारिक अप्ठ्यारा तथा नोक्सानी पनि यस्तै जोखिमकै एउटा स्वरूप हो । 

यस्ता जोखिम न्यूनीकरण गर्न कतिपय अवस्थामा विभिन्न बीमासम्बन्धी प्रोडक्टहरु उपलब्ध हुन्छन् छन् भने कतिपय अवस्थामा छैनन् । उदाहरणको लागि आगलागी तथा अन्य प्राकृतिक प्रकोप जस्ता क्षतिमा बीमाको व्यवस्था गरिएको हुन्छ । विनिमय कारोबारको अनिश्चितता घटाउन हेजिङको व्यवस्था गरिएको हुन्छ । कुन अवस्थामा यस्ता जोखिम कसरी घटाउने भन्ने कुरा वित्तीय साक्षरताको एउटा महत्त्वपूर्ण भाग हो । 

४. वित्तीय धरातल 

वित्तीय धरातल (फाइनान्सियल ल्यान्डस्केप) ले देशको आर्थिक विकास, वित्तीय संस्थाको संरचना र वित्तीय पहुँचको अवस्थालाई बुझाउँछ । यस अन्तर्गत नियमन तथा ग्राहक संरक्षणको अवस्था, उपभोक्ताको अधिकार तथा जिम्मेवारीको व्यवस्था, वित्तीय सेवा तथा वस्तुको उत्पादनको अवस्था, वित्तीय घोटाला तथा ठगीको अवस्था, सार्वजनिक खर्च र राजश्व तथा बाह्य प्रभावका विषय समावेश हुन्छन् ।

वित्तीय साक्षरता र नियामकीय निकाय विकासबिचको सम्बन्ध पारस्परिक हुन्छ । वित्तीय संस्था तथा नियामक निकायको उपस्थितिले वित्तीय साक्षरतालाई एकतातर्फ मजबुत बनाउँछ, यसले ग्राहक संरक्षण, स्वस्थ प्रतिस्पर्धा र गुनासो व्यवस्थापनका लागि ठोस पहल गर्छ । अर्कोतर्फ, वित्तीय साक्षरतामा भएको सुधारले वित्तीय संस्था तथा नियामक निकायको विकासलाई समेत सहयोग पुर्‍याउँछ । नेपालमा राष्ट्र बैंक, बीमा प्राधिकरण, धितोपत्र बोर्ड, राष्ट्रिय सहकारी नियमन प्राधिकरण जस्ता नियामकीय संस्था गठन भएको अवस्था छ ।  

फाइनान्सियल ल्यान्डस्केपले वित्तीय ग्राहकलाई आफ्नो अधिकार तथा जिम्मेवारीप्रति कति सचेत छन् भन्ने कुरालाई समेत जनाउँछ । वित्तीय सेवाको विकासको अवस्था प्रतिबिम्बित समेत गर्छ । नियमित र गुणस्तरीय वित्तीय सेवा पाउनु ग्राहकको अधिकार हो । सेवालाई सञ्चालन गर्न आवश्यक सहयोग गर्नु जिम्मेवारी पनि हो । कुनै व्यक्तिले बैंकमा खाता खोलेको छ केवाईसी अपडेट गर्नु, ऋण लिएको छ भने सर्त अनुसार समयमै भुक्तानी गर्नु, गैरकानुनी रूपमा हुने कार्यलाई हटाउन मद्दत गर्नु ग्राहकको जिम्मेवारी हो । 

त्यस्तै, कुनै पनि देशमा हुने वित्तीय साधनको उपलब्धताले समेत आर्थिक धरातललाई इङ्गित गर्छ । लगानी, ऋण, बीमा तथा भुक्तानी सेवाको क्षेत्रमा जति धेरै विकल्प हुन्छन्, देशको वित्तीय साक्षरता त्यति नै मजबुत भएको मानिन्छ  । त्यस्तै, विभिन्न तरिकाबाट हुने वित्तीय अपराधको अवस्था समेत वित्तीय साक्षरताका सूचक हुन् । वित्तीय साक्षरता र पहुँचबिचको असन्तुलन हुँदा यस्ता अपराध बढ्ने गरेको पाइन्छ । उदाहरणको लागि हामीसँग मोबाइल बैंकिङ सेवा उपलब्ध छ, तर त्यसको पासवर्ड कसैलाई भन्नु हुँदैन भन्ने थाहा छैन भने यसले यस्ता अपराध बढाउने काम गर्छ । 

त्यस्तै, सरकारी करण प्रणालीप्रति जनताको बुझाइ र त्यसको अनुपालना कति छ भन्ने तथा विश्वमा प्रयोग भइरहेका प्रविधि तथा असल अभ्यासलाई ग्रहण गर्ने प्रवृत्तिले समेत यसलाई निर्धारण गर्छ । 

५. डिजिटल साक्षरता

डिजिटल साक्षरता वित्तीय साक्षरताको अर्को महत्त्वपूर्ण पक्ष हो । यसले विश्वको वित्तीय सेवामा बढ्दै गएको सूचना प्रविधिको प्रयोगमा जनताको पहुँचलाई बुझाउँछ । नेपालको सन्दर्भमा खुद्रा वित्तीय सेवाका लागि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्ड सेवा, ईवालेट, कनेक्ट आईपीएस जस्ता सेवा उपलब्ध छन् । त्यस्तै, थोक कारोबारका लागि आईपीएस, आरटीजीएस, कर्पोरेट पे, स्वीफ्ट जस्ता सेवा छन् । नेपालमा वैध नभए पनि विश्व बजारमा क्रिप्टोकरेन्सीलाई समेत वित्तीय सेवा तथा औजारको रूपमा प्रयोग गरिँदै आएको छ । 

यी सेवाको उपयोग कसरी गर्ने र यसबाट हुने जोखिमलाई कसरी कम गर्ने भन्ने विषय वित्तीय साक्षरताको एउटा महत्त्वपूर्ण पक्ष हो । पछिल्लो समय फिसिङ, सोसल इन्जिनियरिङ लगायत तरिकाबाट वित्तीय अपराध तथा ठगीका घटना हुँदै आएका छन् । यसलाई बच्न एउटा उपभोक्ताले विभिन्न कुरामा ध्यान दिनुपर्छ । खासगरी वित्तीय प्रलोभनमा नपर्ने, पासवर्डलाई जटिल तथा गोप्य राख्ने, पब्लिक वाईफाईबाट वित्तीय कारोबार नगर्ने जस्ता सचेतनाले यस्ता ठगी न्यूनीकरण गर्न सहयोग पुर्‍याउँछ । 

६. घरेलु तथा साना उद्योगसम्बन्धी साक्षरता

माथि उल्लेख गरिएका विषय व्यक्तिगत ग्राहकको वित्तीय साक्षरतासँग सम्बन्धित छन् । तर, साक्षरताको आवश्यकता व्यक्ति मात्रै नभएर व्यावसायिक क्षेत्रमा पनि अत्यावश्यक छ । एउटा व्यक्तिले व्यक्तिगत, पारिवारिक र व्यावसायिक कर्तव्य फरक फरक हुन्छ । व्यक्तिको व्यावसायिक कर्तव्य भनेको ग्राहकलाई सजिलो, सुविधायुक्त र उचित मूल्यमा सेवा दिनु, स्वस्थ प्रतिस्पर्धा कायम गर्नु, कर परिपालना कायम गर्नु तथा सरकार र नियामक निकायको निर्देशन पालना गर्नु लगायत हुन्छ । यी विषय व्यक्तिगत ग्राहकभन्दा पृथक् हुन्छन् । 

एउटा व्यावसायिक संस्थासँग आबद्ध व्यक्ति माथि उल्लेखित विषयसँग जानकार हुनुपर्छ । यो पनि वित्तीय वित्तीय साक्षरताको एउटा भाग हो । त्यस्तै, वित्तीय सेवाको पहुँच र छनोट, वित्तीय व्यवस्थापन तथा योजना, जोखिम तथा बीमा तथा वित्तीय धरातल तथा बाह्य प्रभावका विषयबारे जानकार हुनु पनि यस अन्तर्गत पर्छ । त्यसबाहेक व्यवसायको दर्ता तथा नवीकरण, करको परिपालना, अभिलेख व्यवस्थापन, तरलता तथा ऋणको योजना निर्माण गर्ने काम समेत अपरिहार्य हुन्छ ।

ठुला व्यावसायिक संस्था तथा प्रतिष्ठानहरू यस्ता विषयबारे जानकार हुन्छन् र यसका लागि त्यस्ता संस्थासँग स्रोत र साधन समेत पर्याप्त उपलब्ध हुन्छ । तर, घरेलु तथा साना उद्योग साना लगानी र दायरामा सञ्चालन हुने भएकोले नियामक निकायले यस्ता क्षेत्रलाई समेत केन्द्रित गर्दै वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ । 

(पौडेल नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशील पौडेल
सुशील पौडेल
लेखकबाट थप