कोहलीको नामसँग जोडिएका यी रोचक कीर्तिमान
काठमाडौँ । भारतीय क्रिकेट टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् । कोहलीले भारतको इङ्ल्यान्ड भ्रमणको सँघारमा सोमबार टेस्ट क्रिकेटबाट सन्न्यास लिएका हुन् ।
विराटले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि यसअघि नै सन्न्यास लिइसकेका छन् । उनले आगामी दिनमा पनि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटलाई भने निरन्तरता दिनेछन् । ३६ वर्षीय विराटले एक सय २३ टेस्टको दुई सय १० पालीमा कुल नौ हजार दुई सय ३० रन बनाएका छन् ।
टेस्ट क्रिकेटमा विराटले ३० शतक र ३१ अर्धशतक पनि बनाएका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर भने अविजित दुई सय ५४ रन हो । उनले टेस्टमा एक हजार २७ चौका र ३० छक्का प्रहार गरेका छन् । टेस्टमा विराटको नामसँग जोडिएको केही कीर्तिमानको बारेमा यहाँ चर्चा गरिएको छ ।

विराटले सन् २०११ को जुन २० तारिखमा किङ्सटनमा सुरु भएको वेस्ट इन्डिजविरुद्धको खेलमार्फत टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले आफ्नो पहिलो टेस्टको पहिलो पालीमा चार र दोस्रो पालीमा १५ रन बनाएका थिए । यद्यपि, उक्त टेस्टमा भारतीय टोली ६३ रनले विजयी भएको थियो । त्यति बेला भारतीय टोलीका कप्तान थिए, महेन्द्रसिंह धोनी ।
विराटले आफ्नो अन्तिम टेस्ट भने सन् २०२५ को जनवरीमा अस्ट्रेलियाविरुद्ध सिड्नीमा खेलेका थिए । त्यो बोर्डर–गावस्कर शृङ्खला थियो । त्यो शृङ्खलामा विराटको प्रदर्शन निराशाजनक थियो र उनी लयमा फर्कन सङ्घर्ष गरिरहेका थिए ।
त्यो शृङ्खलाका क्रममा विराटसँगै अर्का प्रभावशाली ब्याट्सम्यान एवं कप्तान रोहित शर्माको पनि व्यापक आलोचना भएको थियो । विराटले सन्न्यास लिनुभन्दा केही दिनअघि रोहितले पनि टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए ।

प्रभावशाली ब्याट्सम्यानहरूको निराशाजनक प्रदर्शनपछि बोर्डर–गावस्कर शृङ्खलामा भारतीय टोली पराजित भएको थियो । विराटले आफ्नो अन्तिम टेस्टको पहिलो पालीमा १७ र दोस्रो पालीमा ६ रन बनाएका थिए । उनको अन्तिम टेस्टमा भारतीय टोली ६ विकेटले पराजित भएको थियो ।
विराट विश्व टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा १९औँ स्थानमा छन् । उनी विश्व टेस्टमा सर्वाधिक दोहोरो शतक बनाउने ब्याट्सम्यानको सूचिमा चौथो स्थानमा छन् । उनले टेस्ट क्रिकेटमा सातवटा दोहोरो शतक बनाएका छन् ।
टेस्ट क्रिकेटमा सर्वाधिक दोहोरो शतक बनाउने ब्याट्सम्यान भने अस्ट्रेलियाका सर डोनाल्ड ब्राडम्यान हुन् । उनले १२ वटा दोहोरो अर्धशतक बनाएका थिए । यो सूचिमा दोस्रो स्थानमा श्रीलंकाका कुमार सांगाकारा (११ दोहोरो शतक) र तेस्रो नम्बरमा वेस्ट इन्डिजका ब्रायन लारा (नौ दोहोरो शतक) छन् ।
यसैगरी, विराट टेस्ट क्रिकेटमा सर्वाधिक चौका प्रहार गर्ने ब्याट्सम्यानको सूचिमा २६औँ स्थानमा छन् । उनी टेस्ट क्रिकेटमा सबैभन्दा छिटो ६ हजार रन पूरा गर्ने नवौँ ब्याट्सम्यान हुन् । उनी सबैभन्दा कम खेल खेलेर सात हजार टेस्ट रन पूरा गर्ने पाँचौँ ब्याट्सम्यान हुन् ।

कप्तानको भूमिकामा सबैभन्दा बढी टेस्ट क्रिकेट खेल्ने भारतीय खेलाडी पनि हुन्, विराट । विराटले ६८ टेस्टमा भारतीय टोलीको कप्तानी गरेका थिए । त्यसमध्ये भारतीय टोली ४० खेलमा विजयी भएको थियो भने १७ खेलमा पराजित ।
विराटको कप्तानीमा भारतीय टोली ११ टेस्टमा भने बराबरीमा रोकिएको थियो । विराटको कप्तानीमा भारतले २४ टेस्ट घरेलु मैदानमा र १६ टेस्ट विपक्षी टोलीको मैदानमा जितेको हो । विराट कोहली कप्तानको भूमिकामा सबैभन्दा बढी टेस्ट खेल्ने विश्वका छैटौँ खेलाडी हुन् । उनी टेस्ट क्रिकेटमा सबैभन्दा बढी रन बनाउने भारतीय ब्याट्सम्यानको सूचिमा चौथो स्थानमा छन् ।
यो सूचिमा पहिलो स्थानमा सचिन तेन्दुल्कर, दोस्रो स्थानमा राहुल द्रविड र तेस्रो स्थानमा सुनिल गावस्कर छन् । तेन्दुल्करले टेस्टमा १५ हजार नौ सय २१, द्रविडले १३ हजार दुई सय ८८ र गावस्करले १० हजार एक सय २२ रन बनाएका छन् ।

विराट सन् २०१२, सन् २०१५, सन् २०१६, सन् २०१८ र सन् २०२३ मा एकै वर्ष सबैभन्दा बढी टेस्ट रन बनाउने भारतीय ब्याट्सम्यानको रूपमा पनि दरिएका थिए । उनी कप्तानको भूमिकामा टेस्ट क्रिकेटको एउटै पालीमा सर्वाधिक रन बनाउने भारतीय ब्याट्सम्यान पनि हुन् ।
उनले सन् २०१९ मा खेलिएको दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा अविजित दुई सय ५४ रन बनाएका थिए । यसका अतिरिक्त उनी कप्तानको भूमिकामा टेस्ट क्रिकेटमा सबैभन्दा बढी शतक प्रहार गर्ने भारतीय खेलाडी पनि हुन् । उनले कप्तानको भूमिकामा टेस्ट क्रिकेटमा २० शतक बनाएका छन् ।
यसैगरी, उनी कप्तानको भूमिकामा सबैभन्दा बढी टेस्ट रन बनाउने भारतीय खेलाडी पनि हुन् । उनले कप्तानको भूमिकामा टेस्ट क्रिकेटमा कुल पाँच हजार आठ सय ६४ रन बनाएका छन् । विराट टेस्ट क्रिकेटमा कप्तानको भूमिकामा सबैभन्दा बढी (६ पटक) दोहोरो शतक बनाउने खेलाडी पनि हुन् ।

यसैगरी, उनी कप्तानको भूमिकामा भारतलाई सबैभन्दा बढी टेस्ट जिताउने खेलाडी पनि हुन् । उनले भारतलाई कप्तानको भूमिकामा ४० वटा टेस्टमा जित दिलाएका थिए । उनी लगातार चारवटा टेस्ट शृङ्खलामा दोहोरो शतक बनाउने एकमात्र ब्याट्सम्यान पनि हुन् ।
यसैगरी, विराट कोहली अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टेस्ट ब्याट्सम्यान वरीयतामा सबैभन्दा बढी रेटिङ अंक प्राप्त गर्ने भारतीय खेलाडी पनि हुन् । उनले सन् २०१८ मा घोषित आईसीसी टेस्ट ब्याट्सम्यान वरीयतामा नौ सय ३७ रेटिङ अंक प्राप्त गरेका थिए ।
यसका अतिरिक्त, विराट कप्तानको भूमिकामा अस्ट्रेलियामा टेस्ट शृङ्खला जित्ने पहिलो एसियाली खेलाडी पनि हुन् । विराटको कप्तानीमा भारतीय टोलीले सन् २०१८–१९ सिजनमा अस्ट्रेलियामा टेस्ट शृङ्खला जितेको थियो ।

विराट कप्तानको भूमिकामा लगातार सबैभन्दा बढी (नौवटा) टेस्ट शृङ्खला जित्ने खेलाडीसमेत हुन् । उनी अस्ट्रेलियामा सबैभन्दा बढी टेस्ट शतक बनाउने भारतीय ब्याट्सम्यान पनि हुन् । उनले अस्ट्रेलियामा सातवटा टेस्ट शतक प्रहार गरेका छन् ।
उनी कप्तानको भूमिकामा सबैभन्दा कम बलमा टेस्ट शतक पूरा गर्ने खेलाडी पनि हुन् । उनले सन् २०१७ मा खेलिएको श्रीलंकाविरुद्धको टेस्टमा ९३ बलमा शतक पूरा गरेका थिए । भारतीय टेस्ट टोलीका कुनै पनि कप्तानले हालसम्म यति कम बलमा शतक पूरा गर्न सकेको छैन ।
उनले टेस्ट क्रिकेटबाट सन्न्यास लिनुभन्दा दुई दिनअघि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यसबारे जानकारी गराएका थिए । तर, बीसीसीआईले निकट भविष्यमा हुने इङ्ल्यान्ड भ्रमणपछि मात्र उनलाई सन्न्यास लिन सुझाव दिएको थियो ।

तर, बीसीसीआईको सुझाव विपरीत उनले अप्रत्याशित रूपमा सोमबार १४ वर्ष लामो टेस्ट जीवनबाट विश्राम लिने निर्णय लिए । अर्कोतिर, उनी १० हजार टेस्ट रनको कोशेढुङ्गाबाट केवल सात सय ७० रन टाढा थिए । त्यसैले पनि धेरै समर्थकले १० हजार रन पूरा गरेपछिमात्र उनले टेस्ट क्रिकेटबाट सन्न्यास लिने अनुमान गरेका थिए ।
‘राष्ट्रको जर्सी लगाएर टेस्ट खेल्न मैदानमा ओर्लिएको पनि १४ वर्ष बितिसकेछ । पहिलो पटक टेस्ट खेल्न मैदानमा ओर्लँदा क्रिकेटको यो ढाँचाले मलाई कहाँ पुर्याउँछ भन्नेसम्म थाहा थिएन । साँच्चै भन्नु पर्दा क्रिकेटको यो ढाँचाले मेरो ठुलै परीक्षा लियो । कहिले मलाई चुनौती दियो भने कहिले अपार माया पनि दियो,’ सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सन्न्यासको घोषणा गर्दै विराटले भनेका छन् ।

उनले टेस्ट क्रिकेटबाट सन्न्यास लिने निर्णय लिनु आफ्ना लागि सहज नभएको पनि बताएका छन् । ‘टेस्ट क्रिकेटबाट सन्न्यास लिने निर्णय गर्नु मेरा लागि सहज थिएन । किनभने क्रिकेटको यो ढाँचाले मलाई धेरै कुरा दिएको छ । तर, एक दिन त रोकिनै पर्छ । मेरो विचारमा सन्न्यास लिने यो नै उपयुक्त समय हो । अहिलेसम्म मलाई साथ र सहयोग पुर्याउने सबैप्रति आभारी छु,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण