अन्य मन्त्रीले मेरो जति काम गरे देश बन्न समय लाग्दैन : खानेपानी मन्त्री खान

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले आफूले गरेको जति काम अन्य मन्त्रालयले गर्ने हो भने देश बन्न समय नलाग्ने बताएका छन् ।
आज सिंहदरबारभित्र ४ स्थानमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्दै मन्त्री खानले यस्तो दाबी गरेका हुन् । उनले आफूले मन्त्री बनेर काम गरेको लगभग साढे २ महिना भएको भन्दै यो अवधिमा आफूले सोचेअनुसार काम गर्न नसके पनि राम्रो काम गरेको दाबी गरे ।
मन्त्री खानले आफूले मन्त्री बनिसकेपछि नै सबै नेपालीहरूलाई जार र बोतलको पानी किन्नुपर्ने अवस्थाबाट मुक्त गरी सार्वजनिक धाराको पानी खुवाउने घोषणाअनुसार सिंहदरबारबाट काम सुरु गरेको बताए । उनले अब छिटै नै विभिन्न सार्वजनिक स्थल, शौचालय, विमानस्थल, बसपार्क र अस्पताल लगायतका स्थानमा सार्वजनिक धारा राख्ने बताए । मन्त्रालयका विभिन्न समस्याका कारण अझै पनि आफूले चाहेको गतिमा काम गर्न नसकेको उनले बताए ।
मन्त्री खानले बोतल र जारमा महँगो मूल्यको नियन्त्रण गर्ने काममा मन्त्रालय लागेको भन्दै पानीको मूल्य ५ महिनाभित्र घटाएरै छोड्ने दाबी गरे । उनले देशका हरेक क्षेत्रमा ५ वर्षभित्र खानेपानीको समस्या समाधान गर्ने गरी मन्त्रालयले काम गरिरहेको बताए ।
शुक्रवार खानेपानी मन्त्रालय, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको सक्रियतामा निःशुल्क रूपमा सेवा पाउने गरी स्वच्छ खानेपानी धाराको उद्घाटन भएको हो । निकट भविष्यमा काठमाडौँ उपत्यकाका अन्य सार्वजनिक ठाउँमा सेवा बिस्तार गर्ने मन्त्रालयको योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समिति बैठक प्रत्यक्ष प्रसारण गर्न माग
-
एमडीएमएसमा छुटेका मोबाइल दर्ता गर्न कति शुल्क लाग्छ ?
-
विदेशबाट कति सुन ल्याउन पाइन्छ ?
-
‘चुचुरोमा पुग्दा खुसीको सीमा नै रहेन’
-
संवैधानिक परिषदबाट सिफारिस भएका व्यक्ति सुनुवाइ समितिमा रोकिन सक्छन् : अध्यक्ष तिमिल्सिना
-
संसदीय सुनुवाइ विशेष समितिको बैठक सिंहदरबारमा