बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

एसइईको परीक्षा दिएका विद्यार्थीले टेलिकमको सिम निःशुल्क पाउने

बिहीबार, २३ चैत २०७९, १६ : २६
बिहीबार, २३ चैत २०७९

काठमाडौँ । नेपाल टेलिकमले सेकेन्डरी एजुकेसन इक्जामिनेसन (एसइई) का विद्यार्थीहरूका लागि ‘एसइई २०७९’ अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसइई परीक्षा दिएका विद्यार्थीहरूलाई  सिम निःशुल्क उपलब्ध गराउने र बोनस अन रिचार्ज पनि उपलब्ध गराउने भएको हो । २०७९ चैत २४ देखि उपलब्ध हुने यो अफर ३ महिना (९० दिन) सम्म उपलब्ध हुनेछ भने बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध गराइने छ ।

उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट निःशुल्क उपलब्ध हुनेछ । सिम कार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफरहरू उपलब्ध हुने कम्पनीले जनाएको छ । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरू उपयोग गर्न सक्नेछन् ।

नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरूले सिम कार्डमा मेन ब्यालेन्सको रूपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिन्छ । साथै एक महिनासम्म जम्मा ४० मिनेट अन नेट कल गर्न, ६० एमबी डाटा चलाउन र ३० वटा अन नेट एसएमएस सहितको सुविधा प्रयोग गर्न सक्नेछन् । यसका अतिरिक्त यसबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिनेछ । यस अनुसार ३० दिनसम्म ३००० एमबी डाटा, ६०० मिनेट टक टाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ ।

नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरूले प्रवेश पत्र वा कक्षा १० को मार्क सिटको फोटोकपी, एकप्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्ने बताइएको छ । यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप