मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
वर्ष २०७९ फर्केर हेर्दा

वर्ष २०७९ मा कांग्रेस : सदन र सत्तामा उत्साहजनक ‘कमब्याक’

शुक्रबार, ०१ वैशाख २०८०, ०७ : ०९
शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौं । २०७४ देखि ०७८ सम्म दोस्रो ठुलो दलका रुपमा रहेको नेपाली कांग्रेस ०७९ मा पहिलो दल बनेको छ । स्थानीय तह, प्रदेश र केन्द्रमा कांग्रेस पहिलो दलका रुपमा स्थापित भएको हो ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा ७५२ वटा पालिकामध्ये ३२९ पालिका (१८८ अध्यक्ष र १४१ प्रमुख) जितेर कांग्रेस पहिलो दल बन्यो । २०७४ मा नेपाली कांग्रेसले प्रमुख/अध्यक्ष गरी २६६ पालिकामा जितेको थियो ।

कांग्रेस २०७४ को तुलनामा ६३ बढी पालिकामा जित हात पारेको देखिन्छ । अहिले कुल पालिकाको ४४ प्रतिशत हिस्सा कांग्रेसले ओगटेको अवस्था छ ।

कांग्रेसले १९० पालिकामा उपाध्यक्ष र ११० उपप्रमुखसहित ३ सय पालिकामा दोस्रो प्रमुख पद पनि जितेको छ । जुन कुल सदस्यको ४० प्रतिशत हो । ७ हजार ६ सय ३३ मध्ये २ हजार ६ सय वडामा कांग्रेसको नेतृत्व छ । वडाध्यक्षमा कुल संख्याको ३९ प्रतिशत हिस्सा कांग्रेसको भागमा छ ।

कोशी प्रदेशमा १३७ पालिकामध्ये ६९ पालिका प्रमुख/अध्यक्ष जितेर कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले कोशी प्रदेशका स्थानीय तहमा ५० प्रतिशत हिस्सा ओगटेको छ । ०७४ मा भने कांग्रेसले ५१ पालिका प्रमुख मात्र जितेको थियो । यसपटक कांग्रेसले १८ पालिका प्रमुख थपेको छ ।

मधेस प्रदेशमा कांग्रेसले ४५ प्रमुख/अध्यक्ष हात पारेको छ । २०७४ मा मधेस प्रदेशमा कांग्रेसले ४० पालिका जितेको थियो । विगतको पहिलो स्थान कामय राख्दै कांग्रेसले थप पाँच पालिकाको नेतृत्व हत्याएको छ ।

बागमती प्रदेशका ११९ पालिकामध्ये ०७४ मा ३५ पालिका जितेर दोस्रो भएको कांग्रेस ०७९ मा ५८ पालिका जितेर पहिलो बन्यो । गण्डकी प्रदेशका ८५ पालिकामध्ये ०७४ मा कांग्रेस ४४ पालिका जितेर पहिलो दल बनेको थियो । यो पटक गण्डकीमा कांग्रेसले ८ पालिकाको नेतृत्व गुमाएको छ । ०७९ मा ३६ पालिका मात्रै जिते पनि गण्डकी प्रदेशमा पहिलो स्थानमा कांग्रेस कायमै छ ।

लुम्बिनी प्रदेशमा १०८ पालिकामध्ये कांग्रेसले ०७४ मा ३३ पालिका जितेको कांग्रेसले ०७९ मा ४७ पालिका जितेको छ । लुम्बिनीमा अघिल्लो पटक दोस्रो भएको कांग्रेस यो पटक भने पहिलो दल भएको छ ।

कर्णाली प्रदेशमा ७९ पालिकामध्ये ३२ पालिकामा कांग्रेसले जितेको छ । ०७४ को निर्वाचनमा दोस्रो भएको कांग्रेस ०७९ को स्थानीय तह निर्वाचनमा पहिलो दलको रुपमा स्थापित भयो । ०७४ मा कांग्रेसले कर्णालीका २५ पालिका जितेको थियो ।

त्यस्तै सुदूरपश्चिम प्रदेशको ८८ पालिकामध्ये ०७४ को निर्वाचनमा कांग्रेसले ३८ पालिका जितेको थियो । ०७९ मा कांग्रेसले सुदूरपश्चिममा थप दुई पालिकामा जित्न सफल भयो । कांग्रेस ४० पालिका जितेर सुदूरपश्चिममा पनि पहिलो स्थानमा छ ।

 

प्रदेशसभातर्फ पनि कांग्रेसकै बर्चस्व छ । बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा २७, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा १९ सांसदसहित कांग्रेस पहिलो दलका रुपमा स्थापित छ ।

०७४ मा कांग्रेस कुनै पनि प्रदेशमा पहिलो दल थिएन । अहिले कोशी प्रदेशमा २९, मधेस प्रदेशमा २२ र लुम्बिनी प्रदेशमा २७ सांसदसहित कांग्रेस दोस्रो स्थानमा छ । ०७४ को भन्दा ०७९ मा कांग्रेसले सबै प्रदेशमा सांसदको  संख्या बढाएको छ ।

०७९ मा संघीय संसदमा पनि कांग्रेस पहिलो दलका रुपमा स्थापित छ । ०७४ मा सम्पन्न निर्वाचनमा २३ प्रत्यक्ष र ४० समानुपातिक गरी कांग्रेससँग प्रतिनिधिसभामा ६३ सांसदको उपस्थिति थियो । संसदको दोस्रो दल भए पनि कांग्रेससँग एक तिहाइ सांसदको संख्या पनि थिएन ।

२०७९ मंसिरमा भएको निर्वाचनबाट संघीय संसदको चित्र फेरिएको छ । अहिले ५७ प्रत्यक्ष र ३२ समानुपातिक गरी ८९ जना सांसदसहित कांग्रेस पहिलो दलका रुपमा स्थापित छ । यद्यपि सरकारको नेतृत्व गर्ने अवसरबाट भने कांग्रेस बञ्चित हुन पुग्यो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १० मा तत्कालीन पाँच दलीय गठबन्धनको साथ छाडेपछि कांग्रेस सत्ता विमुख हुने अवस्था आयो । एमाले नेतृत्वको सात दलीय गठबन्धनको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि कांग्रेस सातवटै प्रदेश र संघमा सरकारबाट बाहिर रह्यो । तर गत फागुन १२ मा पुस १० को कोर्स करेक्सन भएपछि सत्तामा कांग्रेसको ‘कमब्याक’ भयो ।

मुलुकको सर्वोच्च पद राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पुगेका छन् । कांग्रेसकै रामवरण यादव गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनेका थिए । नयाँ संविधान बनेपछि २०७२ कात्तिक ११ मा एमालेबाट विद्यादेवी भण्डारी राष्ट्रपति बनेकी थिइन् । ०७४ फागुन मा पनि उनी पुनः राष्ट्रपति बनिन् । कांग्रेसले दुबै पटक राष्ट्रपति निर्वाचनमा पराजय ब्यहोर्‍यो  । २०७९ फागुनमा शीतलनिवासमा कांग्रेसको कम्ब्याक भयो ।

अहिले ८ मन्त्री र एक राज्यमन्त्रीको भाग लिएर कांग्रेस केन्द्रीय सरकारमा सहभागी भएको छ भने सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार छ । बागमती सरकारमा सहभागी भएको कांग्रेस कर्णाली र मधेस प्रदेशमा पनि सरकारमा सहभागी हुने तयारीमा छ । यस्तै गण्डकी र लुम्बिनीमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि नयाँ सरकारको नेतृत्व गर्न कांग्रेस प्रतिक्षारत छ ।

कोशी प्रदेशमा पनि नयाँ सरकार बनाउने कांग्रेसको पहल जारी छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले २०७९ साल कांग्रेसका लागि ठिकै रहेको सुनाए । ‘२०७४ देखि ०७८ सम्म दोस्रो दल रहेको कांग्रेसलाई ०७९ सालको नयाँ वर्षको पहिलो महिनाको चुनावले पहिलो दल बनायो । मंसिर ४ को चुनावले पनि कांग्रेसलाई प्रदेश र केन्द्रमा पनि पहिलो दल बनायो । वर्ष २०७९ ले समग्रमा कांग्रेसलाई पहिलो दलको रुपमा स्थापित ग-यो,’ उनले भने ।

वर्ष २०७९ मा हासिल गरेको परिणामले आगामी दिनमा कांग्रेस सबल भएर जान्छ भन्ने सन्देशलाई स्थापित गरेको महामन्त्री शर्माको भनाइ छ । कांग्रेसकै नेतृत्वमा निर्वाचनमार्फत लोकतन्त्रलाई अझै सुदृढ गर्ने कार्य भएको भन्दै उनले सत्ता कांग्रेसकै वरिपरि रहेको बताए ।

‘आपसी असमझदारीका कारण बीचमा गठबन्धन भत्किए पनि २०७९ मै गठबन्धन पुनर्स्थापित भयो । राष्ट्रपति पनि कांग्रेसले नै प्रस्ताव र समर्थन गरेको नेता बन्नुभयो । तुलनात्मक रुपमा कांग्रेसका लागि २०७९ साल उत्साहजनक रह्यो,’ महामन्त्री शर्माले भने । अब डेलिभरीको सन्दर्भमा एउटा संकल्प गरेर राम्रोसँग काम गर्ने प्रक्रियामा प्रवेश गर्नुपर्ने उनको भनाइ छ ।

यस्तै कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले पनि २०७९ कांग्रेसका लागि समग्रमा राम्रै रहेको बताए । ‘२०७४ मा खुम्चिएर दोस्रो भएको पार्टी २०७९ मा पहिलो बन्यो । अहिले पार्टी सरकारमा सहभागी छ । बीचमा गठबन्धनभित्र असमझदारी भए पनि कोर्स करेक्सन भएको छ,’ उनले भने ।

कांग्रेस गठबन्धनमा लड्नुपर्ने बाध्यात्मक अवस्थामा सुखद् नभएको महरको बुझाइ छ । ‘वर्ष २०७९ कांग्रेसका लागि सन्तोषजनक रह्यो भनुपर्छ । केही उपलब्धि भए, केही भएनन् । तर गठबन्धनको माध्यमले भए पनि चुनाव परिणाम हामीले हात पार्न सफल भएका छौं,’ उनले भने ।

सांगठनिक अवस्था लथालिङ्ग

वर्ष ०७९ मा कांग्रेसको सांगठनिक अवस्था भने लथालिङ्ग रह्यो । ०७८ मंसिरमा सम्पन्न महाधिवेशनबाट आएको नयाँ कार्यसमिति विधानसम्मत चलेको छैन । पार्टीका संरचना नेतृत्वविहीन अवस्थामा छन् । न विधानसम्मत पार्टीका संरचनाले पूर्णता पाएको छ, न त केन्द्रीय कार्यसमिति बैठक नै नियमित बस्छ ।

सभापति देउवाले नचाहँदा भदौ ५ यता कांग्रेस केन्द्रीय समिति बैठक बस्न सकेको छैन । गत मंसिर २७ मा १४ औँ महाधिवेशन गरेको कांग्रेसले अहिलेसम्म पार्टी संरचनालाई पूर्णता दिन सकेको छैन । कांग्रेसको विधानमा महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र सांगठनिक संरचनालाई पूर्णता दिनुपर्ने बाध्यात्मक व्यवस्था छ । तर कांग्रेसमा पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्डसमेत अपुरो छ ।

१४ सदस्यीय पदाधिकारीमा कोषाध्यक्ष मनोनित गर्नै बाँकी छ भने १६८ सदस्यीय केन्द्रीय समितिमा १५६ जना सदस्यमात्र छन् । सभापतिले १२ जना केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ ।

पार्टी विधान अनुसार ४६ सदस्यीय कार्यसम्पादन समिति हुनुपर्नेमा अहिले ३७ सदस्यमा सीमित छ । २५ सदस्यीय संसदीय बोर्डमा पदाधिकारीमात्र छन् । बाँकी सदस्य मनोनित गर्न सभापति शेरबहादुर देउवाले नसकेको अवस्था छ । यस्तै २८ वटा विभाग पनि कहिले गठन हुन्छन् भन्ने टुङ्गो छैन ।

कांग्रेसको पार्टी संरचनामात्र होइन, भ्रातृ संस्था पनि लथालिङ्ग अवस्थामा छन् । गत फागुन ३ गते केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भ्रातृ संस्थाको कार्यसमिति भङ्ग गरेको थियो । साथै बैठकले फागुन मसान्तभित्र केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार सभापति देउवालाई दिएको थियो ।

सभापति देउवाद्वारा गत वर्ष फागुन ९ मा नेविसंघ, तरुण दल, असार १० मा नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ र साउन २६ मा नेपाल महिला संघमा सभापति मनोनित गरिए पनि बाँकी भ्रातृ संस्थामा नेतृत्व समेत आएको छैन ।

तदर्थ समितिलाई तीन तहको निर्वाचनको अन्तिम परिणाम आएको तीन महिनाभित्र अधिवेशन गर्नुपर्ने म्यान्डेट दिइएको थियो । गत मंसिरमा आम निर्वाचन सम्पन्न भएकाले तदर्थ समितिले फागुनसम्म महाधिवेशन गरिसक्नुपर्ने थियो । तर, नेतृत्व पाएका भ्रातृ संस्थाले पूर्णतासम्म नपाएको अवस्था छ ।

नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल थारु संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाल भूतपूर्व सैनिक संघमा एक वर्षदेखि नेतृत्व छैन । केन्द्रीय सदस्य महरले पार्टीको आन्तरिक गतिविधि सुस्त रहेकाले कांग्रेसका लागि २०७९ वर्ष उत्साहजनक नरहेको बताए । ‘२०७९ मा पार्टीका आन्तरिक गतिविधिले रफ्तार लिन सकेन । अब उपनिर्वाचनपछि पार्टीले गति लिन्छ होला,’ उनी भन्छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप