बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद्

कांग्रेसका चार मन्त्री– को कस्ता ?

शुक्रबार, १७ चैत २०७९, २२ : ३३
शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पहिलो चरणमा ४ जना मन्त्री पठाएको छ । पार्टीका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसबाट आज ४ जना मन्त्री सरकारमा सहभागी भएका छन् ।

खड्का उपप्रधान तथा रक्षा, डा.प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग र सीता गुरुङ सहरी विकासमन्त्री बनेका छन् ।

सत्ता गठबन्धनको भागबण्डा अनुसार कांग्रेसले ८ मन्त्रालय पाए पनि आज जनाले मात्र शपथ लिएका छन् । कांग्रेस नेता शेखर कोइराला समूहले मन्त्रीको नाम नपठाएपछि कांग्रेसले आफ्नो कोटा अनुसार मन्त्री पठाउन नसकेको हो ।

सभापति शेरबहादुर देउवाले २ जनाको नाम सिफारिस गर्न भनेपछि कोइराला पक्षले अस्वीकार गरेको हो । कोइराला पक्षले तीन मन्त्रालय पाउनुपर्ने अडान राखेको छ । कोइराला पक्षबाट मन्त्रीमा उपसभापति धनराज गुरुङ र मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुको नाम चर्चामा थियो । मन्त्री भागबण्डामा कोइराला पक्षले असहमति जनाएपछि देउवाले तत्काल ४ जना मन्त्री पठाएर बाँकी चार मन्त्री दोस्रो चरणमा पठाउने निधो गरेका हुन् ।

को हुन् पूर्णबहादुर खड्का ?

२०१० सालमा सुर्खेतमा जन्मिएका खड्का ०४५ सालदेखि नै सक्रिय राजनीतिमा छन् । गाउँमा जन्मिए पनि खड्काको परिवार सबल र राजनीतिक नै थियो । उनका बुबा जिल्ला पञ्चायतको उपसभापति थिए । माध्यमिक शिक्षापछि नेपालगन्ज र काठमाडौँबाटै उच्च शिक्षा हासिल गरेका खड्काले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

नेपाल विद्यार्थी संघमा आबद्ध रहेर उनी केन्द्रीय सदस्य हुँदै उपसभापतिसम्म भए । ०३६ सालको जनमतसंग्रह र ०४६ सालको आन्दोलनमा उनको सक्रिय भूमिका रह्यो ।

४५ सालमा उनी कांग्रेसको जिल्ला सभापति भए । ०४८ को आमनिर्वाचनमा उनी सुर्खेत क्षेत्र नं. १ बाट निर्वाचित भए । ०५१ को मध्यावधि चुनाव जितेका उनी राज्य व्यवस्था समितिको सभापति बने ।

जनमत संग्रहमा बहुदलको हारपछि २०३७ सालमा भएको पञ्चायती चुनावमा वीरेन्द्रनगर नगरपञ्चायतको प्रधानपञ्च जितेका खड्का निर्दलीय व्यवस्था स्विकार्न नमान्दा ६ महिनामै अपदस्थ भए ।

पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनको क्रममा पटकपटक समातिएर करिब ५ महिना हिरासतमा बिताएका खड्का बहुदल पुनर्स्थापनापछि कांग्रेसभित्रको राजनीतिमा कृष्णप्रसाद भट्टराई नजिक भए ।

उनले २०४८ पछि पटक–पटक गरी ७ पटक गृहसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । खड्का २०५५ वैशाखदेखि २०५५ भदौसम्म युवा, खेलकुद तथा संस्कृति र जनसंख्या तथा वातावरण मन्त्री भएका थिए । २०५५ पुस १० देखि २०५६ जेठ १६ सम्म उनी वाणिज्य, युवा तथा खेलकुद तथा संस्कृति मन्त्री बनेका थिए ।

२०५६ जेठ १७ देखि २०५६ असार १५ गतेसम्म सूचना तथा सञ्चार र उद्योग मन्त्री भएका खड्का २०५६ असार १६ देखि २०५६ चैत ७ गतेसम्म गृहमन्त्री भएका थिए ।

२०५८ कात्तिक २ देखि २०५९ असोज २५ गतेसम्म उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका थिए । २०६१ असार २१ देखि २०६१ माघ १९ गतेसम्म उनले गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

कांग्रेसको १० औं महाधिवेशनसम्म तत्कालीन मध्यपश्चिमबाट एक जनामात्र केन्द्रीय सदस्य हुने व्यवस्था थियो । १० औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उठेर सुशील कोइरालासँग पराजित भएका खड्का पार्टी फुटेर प्रजातान्त्रिक कांग्रेस बनेपछि केन्द्रीय सदस्य भए ।

२०६७ सालमा भएको १२ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका उनलाई तत्कालीन सभापति सुशील कोइरालाले सहमहामन्त्री मनोनीत गरेका थिए ।

२०७२ मा भएको १३ औं महाधिवेशनमा पनि खड्का केन्द्रीय सदस्य बने । सभापति शेरबहादुर देउवाले खड्कालाई महामन्त्रीमा मनोनीत गरेका थिए । १४औं महाधिवेशनमा भने उनी उपसभापतिमा विजयी भए । खड्का पछिल्लो समय कांग्रेसभित्र सभापति देउवाको ‘राइट ह्यान्ड’को भूमिका छन् ।

को हुन् प्रकाशशरण महत ?

अर्थमन्त्री महतको जन्म २०१६ सालमा नुवाकोट भएको हो । विद्यार्थी राजनीतिबाट उदाएका महत सभापति शेरबहादुर देउवाका विश्वास पात्र हुन् । 

कक्षा ७ मा अध्ययनरत रहँदा नै उनी नेविसंघको राजनीतिमा सक्रिय भइसकेका थिए । २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा डा. महत सहभागी भए । २०४२ सालको सत्याग्रहमा सक्रिय भूमिका खेलेका उनी त्यसबेला २०४० देखि २०४४ सम्म नेपाल विद्यार्थी संघको महामन्त्री थिए ।

कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा डा. महतले एक्सन कमिटीमा रहेर काम गरेका थिए । २०५५ देखि २०५६सम्म (सन् १९९८ देखि १९९९सम्म) कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गर्ने मौका पाएका डा. महत २०५९(सन् २००२)देखि निरन्तर केन्द्रीय सदस्य रही आएका छन् ।

देउवाको नेतृत्वमा कांग्रेस प्रजातान्त्रिक गठन भएपछि उनी पहिलो पटक केन्द्रीय सदस्य बनेका थिए । उनी पार्टी एकतापछि निरन्तर कांग्रेसको केन्द्रीय सदस्य छन् ।

१३ औं महाधिवेशनपछि सह–महामन्त्री बनेका महत १४ औं महाधिवेशनमा महामन्त्रीका प्रत्याशी थिए । महामन्त्रीमा पराजित भएपछि अहिले उनी कांग्रेस प्रवक्ताको जिम्मेवारीमा छन् ।

गत निर्वाचनमा समानुपातिक सांसद बनेका उनी दोस्रो संविधानसभामा पनि समानुपातिकबाट सभासद् भएका थिए । उनी संविधान लेखनका बेलामा संविधान मस्यौदा समितिका सदस्यका रुपमा क्रियाशील थिए । महत पहिलो संविधानसभामा पनि समानुपातिकबाट सभासद् थिए ।

महतले २०७३ मा परराष्ट्र मन्त्रालय सम्हालिसकेका छन् । महत २०६६ देखि २०६७ सम्म ऊर्जामन्त्रीको जिम्मेवारीमा थिए ।

तत्कालीन प्रधानमन्त्री देउवालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले अपदस्थ गर्दा महत पहिलो पटक परराष्ट्र राज्यमन्त्री भएका थिए । माओवादीको सशस्त्र विद्रोह उत्कर्षमा रहेका बेला सन् १९९९ मा सरकारले गठन गरेको माओवादी समस्या समाधान समिति सदस्य सचिवको जिम्मेवारी निर्वाह गरिसकेका महतलाई तत्कालीन प्रधानमन्त्री देउवाले २००१ सेप्टेम्बरदेखि २००२ मेसम्म सल्लाहकार नियुक्त गरेका थिए । उनी २०५८ चैतदेखि २०५९ असोजसम्म (सन २००२ को अप्रिलदेखि अक्टोबरसम्म) राष्ट्रिय योजना आयोगको सदस्य पनि बनेका थिए ।

२०६३ देखि २०६४ सम्म (२००६ देखि जुन २००७ सम्म) माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गठित राष्ट्रिय शान्ति समितिका सदस्य रहेर काम गरेपछि उनलाई २०६४ साउनदेखि २०६४ फागुनसम्म (अगष्ट २००७ देखि जुन २००८ सम्म) विभिन्न विद्रोही समूहसँग वार्ता गर्न गठित सरकारी वार्ता समितिको सदस्य बनाइएको थियो ।

अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउदर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी गरेका महतले त्यही राज्यको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र (पोलिसी इकोनोमिक्स) मा स्नातकोत्तर गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका महतले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा नीतिगत तथा अनुसन्धान पत्रहरु प्रस्तुत गर्नुका साथै आर्थिक विकास, शान्ति प्रक्रिया, परराष्ट्रसम्बन्धी विभिन्न लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् ।

को हुन् रमेश रिजाल ?

मन्त्री रिजालको जन्म २०१३ सालमा पर्साको जगनाथपुर गाउँपालिकामा भएको थियो । रिजालका बुबा मेघराज उपाध्याय राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय सहभागी थिए । रिजालले विरासतमै राजनीति पाएका हुन् । २०२७ मा नेपाल विद्यार्थी संघ गठन हुँदा रिजालले विरगंजको ठाकुरराम बहुमुखी क्याम्पसबाट प्रतिनिधित्व गरेका थिए ।

नेवि संघको जिल्ला उपसभापति, २०३४ देखि २०४८ सम्म कांग्रेसको जिल्ला सचिव भएका उनी २०५२ मा पार्टीको जिल्ला सभापति भएका थिए ।

कांग्रेस विभाजित हुँदा उनी प्रजातान्त्रिक कांग्रेसको केन्द्रीय सदस्य भए । पार्टी एकीकरण भएदेखि कांग्रेसको १२औं, १३औं र १४औं महाधिवेशनबाट रिजाल केन्द्रीय सदस्य निर्वाचित हुँदै आएका छन् । उनी ०४८ र ०५२ को निर्वाचनमा विजयी भएका थिए भने ०५६ सालको निर्वाचनमा भने पराजित भए ।

०६४ सालमा पुनः विजयी भएका उनी त्यसपछि ०७० र ०७४ सालको निर्वाचनमा पराजित भएका थिए । गत आम निर्वाचनमा उनी पर्सा–४ बाट निर्वाचित भएका हुन् । विभिन्न राजनीतिक आन्दोलनमा सहभागी हुँदा रिजाल ३ वर्ष जेल बसेका छन् ।

को हुन् सीता गुरुङ ?

सीता गुरुङ २०३४ सालमा तेह्रथुमको आठराई गाउँपालिका–४ ईवामा जन्मिएकी हुन् । गाउँमा सामान्य परिवारमा जन्मिएकी गुरुङ विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय भइन् ।

उनी ०४८ सालमा नेवि संघको जिल्ला सचिव थिइन् भने ०५४ मा तरुण दलको जिल्ला कोषाध्यक्ष बनिन् । ०५७ मा नेपाल महिला संघको जिल्ला सभापति बनेकी गुरुङ ०५८ मा केन्द्रीय सदस्य भइन् ।

२०६० मा उनले नेपाल महिला संघको केन्द्रीय सचिव भएर काम गरिन् । ०६२ मा कांग्रेस महाधिवेशन प्रतिनिधि बनेकी गुरुङ ०६७ को महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भइन् । उनी अहिले पार्टीमा तेस्रो पटक केन्द्रीय सदस्यको रुपमा निर्वाचित भएर काम गरिरहेकी छन् ।

सभापति देउवासँग निकट गुरुङले यसबीचमा पार्टीको आदिवासी जनजाति विभागको प्रमुख भएरसमेत काम गरिसकेकी छन् । राजनीतिशास्त्रमा स्नात्तकोत्तर गुरुङ ०६४ र ०७० मा समानुपातिकतर्फबाट संविधानसभा सदस्य थिइन् । उनी पहिलो संविधानसभामा हुँदा राज्यको शासकीय स्वरुप निर्धारण समितिको सदस्य, अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिको सदस्य भएर काम गरिन् ।

दोस्रो संविधानसभामा हुँदा संविधान मस्यौदा समितिको सदस्य र राज्य व्यवस्था समितिको सदस्य भएर उनले काम गरिन् । उनी ०७४ मा देउवा नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री भएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप