बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

स्मार्ट मिटरमा प्रयोग गर्न टेलिकमले डेढ लाख ई–सिम उपलब्ध गराउने

बिहीबार, ०७ वैशाख २०८०, १८ : ०२
बिहीबार, ०७ वैशाख २०८०

काठमाडौँ । नेपाल टेलिकमले नेपाल विद्युत् प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि १ लाख ५० हजार थान ई–सिम उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा दुई संस्थाबीच  बिहीबार एक सम्झौता सम्पन्न भएको हो ।

सम्झौतापत्रमा नेपाल टेलिकमकोतर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र नेपाल विद्युत् प्राधिकरणको तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युत बाबु घिमिरेले हस्ताक्षर गरे ।

सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले नेपाल विद्युत् प्राधिकरणसँगको व्यावसायिक सहकार्यका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे ।

नेपाल विद्युत् प्राधिकरणका निर्देशक अच्युत बाबु घिमिरेले पहिलेदेखि नै स्मार्ट मिटरमा नेपाल टेलिकमको सिम प्रयोग भइरहेकोमा आगामी दिनमा नयाँ प्रविधियुक्त ई–सिममार्फत सेवा उपलब्ध हुने भएकोमा खुसी व्यक्त गरे ।

नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल सम्बन्धी जानकारीका लागि स्मार्ट मिटरको प्रयोग गरिरहेको छ । यसको सहयोगले कार्यालयबाटै विद्युत् खपत बारेमा जानकारी लिन सकिनुका साथै लाइन काट्न र विद्युत् चुहावट नियन्त्रण लगायतका कार्य गर्न सहयोग पुग्दछ । ई–सिमले प्राधिकरणको सिस्टम र स्मार्ट मिटरको बीचमा सञ्चार सुविधा उपलब्ध गराउन सहयोग गर्छ ।

१०० एम्पियरसम्म क्षमता भएका थ्री फेज ग्राहकहरुका लागि ई–सिम प्रयोग गरिने छ । नेपाल टेलिकमले नेपाल विद्युत् प्राधिकरणलाई यस अघि पनि स्मार्ट मिटर प्रयोजनका लागि ५३ हजार थान सिम उपलब्ध गराइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप