शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

बच्चाको अण्डकोषमा यस्तो समस्या भए गर्नुपर्छ शल्यक्रिया (भिडियो)

शुक्रबार, १५ वैशाख २०८०

काठमाडौं । बच्चाको अण्डकोषमा विभिन्न समस्या देखिएको अवस्थामा शल्यक्रिया गर्नुपर्ने हुन्छ । तर कतिपय अभिभावकहरु बच्चाको शल्यक्रिया भन्नासाथ डराउने गर्दछन् । कान्ति बाल अस्पतालका पूर्व निर्देशक एवं इसान बाल तथा महिला अस्पतालका कार्यकारी निर्देशक, बाल शल्य चिकित्सक डाक्टर रामानन्दप्रसाद चौधरी भने अण्डकोषमा विभिन्न समस्या भएमा शल्यक्रिया गर्नबाट डराएर बस्न नहुने बताउँछन् ।

बच्चाको अण्डकोषमा हर्निया, हाइड्रोसिल तथा डल्लाहरू देखा परेमा शल्यक्रिया गर्नुपर्ने उनले बताए । उनी भन्छन्, ‘राम्रोसँग अप्रेशन गरियो भने बच्चामा कुनै पनि समस्या आउँदैन, यसरी अप्रेशन गर्दा बच्चामा बाँझोपन हुन्छ भन्ने भ्रम पनि पाइन्छ, जो सत्य होइन ।’

अण्डकोषमा समस्या भएको कसरी थाहा पाउने ?

अण्डकोषको समस्या जुनसुकै उमेर समूहका पुरुषमा हुन सक्छ । साना बालकको अण्डकोषमा समस्या छ कि छैन भन्नेबारे अभिभावक नै सचेत हुनुपर्ने डा. चौधरी बताउँछन् ।

उनका अनुसार अण्डकोष दुई वटा हुनुपर्छ । दुवै थैलोमा अण्डकोष हुनुपर्छ । सामान्य आँखाले हेर्दा पनि दुई वटै अण्डकोष झुुन्डिएको देखिन्छ । फुल्ने वा सुन्निने गर्दैन भने सानो बालकको अण्डकोष स्वस्थ हो भनेर थाहा बुझ्नुपर्ने उनले बताए ।

अण्डकोषको थैलो सानो वा ठूलो भएमा, खोक्दा वा रुँदा अण्डकोष माथि फुलेर आएमा हर्निया हुन सक्ने उनले बताए । भर्खरै जन्मेको बच्चाको एउटा मात्रै अण्डकोष छ र अर्को थैलो खाली छ भने वा तीन÷चार वर्षको उमेर हुँदा अण्डकोष दुख्ने, अण्डकोष रातो भएमा तत्काल चिकित्सकको सल्लाह लिन उनको सुझाव छ ।

अण्डकोष दुख्ने, रातो हुँदाहुँदै बटारिन सक्छ । जसले गर्दा बच्चालाई धेरै दुख्छ । त्यस्तो अवस्थामा तत्काल नजिकैको अस्पतालमा गएर अल्ट्रासाउन्ड गराएर अवस्थाबारे जानकारी लिनुपर्ने उनले बताए ।

डा. चौधरीका अनुसार अल्ट्रासाउन्ड गर्दा अण्डकोष बटारिएको अवस्थामा पाइएमा आकस्मिक रुपमा शल्यक्रिया गर्नुपर्ने हुन्छ । यदि ६ घण्टादेखि ८ घण्टासम्म शल्यक्रिया गरिएन भने अण्डकोष ड्यामेज भई कुहिएर जान्छ । यस्तो अवस्थामा अण्डकोष फाल्नुपर्ने हुन सक्ने उनले बताए ।

अण्डकोषमा ट्यूमर छ वा छैन भन्ने कसरी थाहा पाउने ?

सबै उमेर समूहका पुरुषको अण्डकोषमा ट्यूमर हुन सक्छ । साना बालकको अण्डकोषमा ट्यूमर हुँदा सामान्य बेलाभन्दा अण्डकोष ठूलो हुन्छ र छाम्दा नदुख्ने डा.चौधरीले बताए ।

अण्डकोषमा नदुख्ने डल्ला भए नभएकोबारे छामेर थाहा पाउन सकिने उनको भनाइ छ । पाँच वर्षभन्दा माथिका बच्चाले मात्र अण्डकोषमा समस्या भएको थाहा पाउन सक्ने भएकाले त्यसभन्दा कम उमेरका बच्चाको सम्बन्धमा अभिभावकले नै विचार गर्नुपर्ने उनले बताए ।

अण्डकोष वा माथिल्लो भागमा कुनै किसिमको डल्ला देखिएमा, असामान्य जस्तो लागेमा आकस्मिक उपचार गुर्नपर्ने हुन सक्ने उनी बताउँछन् ।

डा.चौधरीका अनुसार अल्ट्रासाउन्डबाट कतिपय कुरा पत्ता लगाउन सकिन्छ । कतिपय कुरा तत्काल जाँँच गरे पनि थाहा पाउन सकिन्छ । समयमै उपचार गरिएमा यस्ता समस्या निको हुने उनले बताए ।

प्रायः अभिभावकले बच्चा सानो भएका कारण शल्यक्रिया गर्न नमान्दा भविष्यमा समस्या निम्तिन सक्ने उनको भनाइ छ । बटारिएको अण्डकोषलाई समयमै अप्रेशन गरेमा कुहिन र ड्यामेज हुनबाट बचाउन सकिने उनले बताए ।

कुन समयमा अप्रेशन गर्ने ?

हर्नियाको समस्यालाई बच्चा हुर्किएपछि शल्यक्रिया गर्दा पनि हुन्छ भन्ने धारणा समाजमा पाइन्छ । तर, हर्निया हुँदा अनिवार्य रुपमा अप्रेशन गर्नुपर्ने उनको भनाइ छ । जति चाँडो शल्यक्रिया गरिन्छ, त्यति राम्रो हुने उनले बताए ।

डा. चौधरीका अनुसार हाइड्रोसिल भएको अवस्थामा दुई वर्षपछि पनि शल्यक्रिया गर्न मिल्छ । यस्तै, अण्डकोष थैलीमा छैन भने पनि ६ महिनासम्म कुरेर बस्न सकिन्छ । ६ महिनासम्म अण्डकोष ठाउँमा आएन भने बालशल्य चिकित्सकलाई देखाएर समयमै शल्यक्रिया गरेको खण्डमा निःसन्तान हुनबाट जोगाउन सकिने उनले बताए ।

यस्तै, अण्डकोषमा डल्ला देखिएमा शल्यक्रियाका लागि धेरै ढिला गर्न हुँदैन । अण्डकोषमा कुनै समस्या भएको शंका लाग्ने बित्तिकै बालरोग विषेशज्ञलाई देखाउन उनले सुझाव दिए । समयमै उपचार गरेमा जटिलता आउनुभन्दा अघि नै बचाउन सकिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया