आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बैंकमा बेथिति : ९ महिनादेखि सञ्चालक समितिले पूर्णता पाएन, वित्तीय जोखिम बढ्यो

बुधबार, २७ वैशाख २०८०, १३ : ४८
बुधबार, २७ वैशाख २०८०

काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडमा बेथिति बढ्दै गएको छ । जसका कारण वित्तीय जोखिम बढ्न थालेको टीकाटिप्पणी हुन थालेको छ । 

बेथिति यतिसम्म देखिएको छ कि बैंकमा विगत ९ महिनादेखि स्वतन्त्र सञ्चालकसमेत नियुक्त हुन सकेका छैन ।  यसअघिका स्वतन्त्र सञ्चालक दीपेन्द्र विक्रम थापाले राजीनामा दिएपछि बैंकको सञ्चालक समितिले स्वतन्त्र सञ्चालक नियुक्त गर्न नसकेको हो । 

बैंकभित्रको आन्तरिक खिचातानीका कारण लामो समयदेखि सञ्चालक समितिको बैठकसमेत बस्न सकेको छैन । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को परिच्छेद–४ अनुसार सञ्चालक समिति र कार्यकारी प्रमुख सम्बन्धी व्यवस्थाको दफा १४ अनुसार सञ्चालक समितिले एक जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्नुपर्ने हुन्छ । 

तर, नेपाल बैंकमा अघिल्लो साधारण सभा अगाबै खाली भएको स्वतन्त्र संचालकको पद हालसम्म पूर्ति हुनुले हुन नसकेको हो । 

बैंकका एक अधिकारीले  सञ्चालक समितिको अध्यक्षमा गंगा प्रसाद ज्ञवाली नियुक्त भएसँगै बैंकभित्र आन्तरिक खिचातानी बढेको बताए । उसो त बैंकका सञ्चालक समितिका सदस्यहरूले कर्मचारीहरूलाई समेत अनावश्यक दबाब दिँदै आएको बताइएको छ । 

कतिपय सञ्चालकले संस्थालाई आवश्यक सामाग्री खरिदबिक्रीमा बिक्रेता सम्झौता गर्ने र कार्यकारी अधिकृतले जसरी नै कर्मचारीहरूलाई निर्देशन दिँदै आएको बैंकको आइटी शाखामा कार्यरत कर्मचारीहरू बताउँछन् । 

एक कर्मचारीले भने,‘ सञ्चालक समितिको सदस्य भनेको छ, तर, हरेक खरिदबिक्रीमा उहाँहरूको चासो हुन्छ । यस विषयमा हामीले बैंकको कार्यकारी प्रमुखलाई जानकारी गराइसकेका छौं ।’ 

बैंकका अध्यक्ष कर्जा लगानीका पार्टीहरूमा व्यस्त रहने र बैंकभित्र सञ्चालक समितिले देखाएको हर्कतलाई नियन्त्रण गर्न नसक्दा त्यसको मार कर्मचारीहरुमा पर्न गएको बैंकका एक उच्च अधिकारीले बताए । 

बैंकको कोर बैंकिङ सोलुसन (सिबिएस) को सामाग्री खरिद अन्तिम चरणमा पुगेको छ । यसमा बैंकका विशेषज्ञ सञ्चालक समितिका सदस्यहरूले धेरै चासो देखाईएको बुझिन्छ । 

यसैबीच बैंकका प्रवक्ता प्रकाश कुमार अधिकारीले स्वतन्त्र सञ्चालक समितिलाई पूर्णता दिने तयारी भइरहेको बताए । उनले रातोपाटीसँग भने, ‘एक जना स्वतन्त्र सञ्चालकको म्याद सकिएकाले अर्को नियुक्ति गर्ने तयारी छ ।’

 तर, बैंकका सञ्चालक समितिका सदस्यहरूले कर्मचारीलाई अनावश्यक दबाब दिने गरेको विषयमा भने उनले त्यस्तो आफूले जानकारी नपाएको बताए । उनले भने,‘ सिबिएस खरिद अन्तिम चरणमा पुगेको छ, यसका लागि सञ्चालक समितिमा रहनुभएका विशेषज्ञ सदस्यहरूले कर्मचारीलाई राय सुझाव दिनुभएको होला, तर यो गर्नुपर्छ वा त्यो गर्नुपर्छ भनेर दबाब दिएको जानकारी मैले पाएको छैन ।’ 

बैंकको वित्तीय जोखिम बढ्यो 

बैंकले प्रवाह गर्दै आएको खराब कर्जाका कारण यो आर्थिक वर्षमा नाफा समेत घटेको छ । यो आर्थिक वर्षको चैतसम्ममा बैंकको खुद नाफा एक अर्ब ७८ करोड २३ लाख २९ हजार रुपैयाँ छ । जबकि गएको आर्थिक वर्ष २०७८÷०७९ मा बैंकको खुद नाफा दुई अर्ब १९ करोड २९ लाख ३१ हजार रुपैयाँ थियो । गत आव र यो आवसम्म आइपुग्दा बैंकको आम्दानी १८.७२ प्रतिशतले घटेको देखिन्छ ।

त्यस्तै यो आर्थिक वर्षमा खराब कर्जा समेत बढेको छ । यो आ.वमा ४.१६ प्रतिशत खराब कर्जा छ । गत आबमा २.६ प्रतिशत मात्रै थियो । 

बैंकको लाभ श्रेणी समेत २१ बैंक मध्ये १२ औँ नम्बरमा पुगेको छ । लाभ श्रेणीमा पहिलो स्थानमा नबिल बैंक छ । 

निष्क्रिय ऋणमा भने नेपाल बैंक तेस्रो स्थानमा छ । निष्क्रिय ऋण ४.१६ प्रतिशत छ । जबकि बैंक तथा वित्तीय संस्थाको निष्कृय ऋण ५ प्रतिशत भन्दा बढी भयो त्यसलाई जोखिमपूर्ण मानिन्छ । पहिलो निष्क्रिय ऋण दिने स्थानमा हिमालयन बैंक छ । उसको निष्क्रिय ऋण ५.५६ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले खराब कर्जा वितरण देखिएपछि नेपाल बैंकलाई १८ लाख ५९ हजार ७ सय ५२ रुपैयाँ ३८ पैसा जरिवाना समेत तिराएको छ । 

निष्क्रिय ऋण

sdsd

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप