शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
विज्ञका कुरा

समय अगावै जन्मिएको बच्चामा हुन सक्छ ‘आरओपी’ रोग

सोमबार, ०१ जेठ २०८०

काठमाडौं । समय अगामै जन्मिने बच्चाको आँखामा अन्धोपना ल्याउन सक्ने ‘रेटिनोपेथी अफ प्रिमेचुरिटी’ (आरओपी) रोगका बिरामी बढ्न थालेका छन् । पाटन अस्पतालमा समय अघि प्रसूति भइ जन्मिएका दैनिक सरदर १० बच्चामा आरओपी रोगको स्क्रिनिङ गरिँदै आएको आँखा रोग विशेषज्ञ डाक्टर पवन महतले बताए ।

स्क्रिनिङ गरिएकामध्ये १० प्रतिशतमा आँखामा अन्धोपना ल्याउने आरओपी रोग पुष्टि हुने गरेको डा.महतले जानकारी दिए । प्रविधिको विकास भएसँगै समय अगावै अर्थात् ३४ हप्ताभन्दा अघि जन्मने र कम तौल हुने दर बढेकाले आरओपी रोगका बिरामी बढेको उनको अनुमान छ ।

समय अगावै जन्मिएका बच्चालाई एनआईसीयू नर्सरीमा राख्नुपर्ने हुन्छ । डा. महत भन्छन्, ‘पछिल्लो समय नयाँ प्रविधिको विकासका कारण कम समयमै जन्मिएका बच्चालाई पनि बचाउन त सकिन्छ तर त्यस्ता कतिपय बच्चाको आँखामा आन्धोपना ल्याउने आरओपी रोग देखापर्ने गरेको छ ।’

आरओपी रोगबारे बुझाउनै समस्या

स्क्रिनिङका क्रममा बच्चामा अन्धोपन हुने आरओपी रोग पुष्टि भएको छ भन्दा हत्तपत्त अभिभावकले विश्वास नै नगर्ने डा. महत बताउँछन् । उनका अनुसार बच्चाको आँखा हेर्दा सामान्य जस्तै देखिन्छ तर, आँखामा गम्भीर समस्या सुरु भइसकेको हुन्छ । अभिभावकले विश्वास नमानेर फलोअपका लागि बेवास्ता गर्दा अन्धोपना निम्तिने उनले सुनाए ।

‘बच्चाको आँखामा तीन महिनापछि सेतो दाग देखिन्छ अनि आउनु हुन्छ । त्यस्तो अवस्थामा चाहेर पनि उपचार सम्भव हुँदैन । बच्चाहरू बाँचुन्जेल अन्धो हुन बाध्य हुन्छन्,’ उनले भने ।

dr pawan mahat

अभिभावकलाई बच्चाको आँखाको अवस्था देखाउन मिल्ने गरी ‘फोरस न्यू एचडी’ मेसिन पाटन अस्पतालले ल्याएको उनले बताए । ‘यस मेसिनबाट एकैपटक आँखाको भागलाई ठूलो एरिया बनाएर हेर्न सकिन्छ । यसअघिको मेसिनले चिकित्सकले मात्र आरओपी रोग पहिचान गर्न सकिन्थ्यो,’ उनले भने, ‘अहिलेको नयाँ मेसिनले रोग पहिचानसँगै अवस्था कस्तो छ भनेर अभिभावकलाई पनि देखाउन सकिन्छ ।’  

अभिभावकले नै बच्चाको आँखाको अवस्था राम्रोसँग देख्न र बुझ्न सक्ने प्रविधियुक्त मेसिन ल्याइएका कारण अब यो रोगको गम्भीरताबारे राम्रोसँग बुझाउन सकिने उनको विश्वास छ ।

किन हुन्छ आरओपी ?

समय अगामै जन्मिएका बच्चालाई बचाउन एनआईसीयूमा राख्दा अक्सिजन दिनुपर्छ । डा. महतका अनुसार त्यसबेला बच्चाको आँखाको पर्दा राम्रोसँग बनेको हुँदैन । आँखाको पर्दा सम्पूर्ण रुपमा नबनेको अवस्थामा लगातर अक्सिजन दिएर एक्कासी बन्द गरेपछि आँखामा नयाँ नसा पलाउन सुरु हुन्छ ।

उनले भने, ‘नयाँ नसा अक्सिजन डिपेन्डेन्ट हुन्छ । अक्सिजन दिन छाडेपछि नयाँ नकारात्मक नसा पलाएर बच्चाको आँखाको पर्दा फाट्ने गर्छ ।’

अक्सिजन दिन छाडेपछि आँखामा नकारात्मक प्रभाव परी नसा पलाएर आरओपी रोग जटिल बन्दै जाने उनले बताए ।

जबसम्म अभिभावकलाई समय अगावै जन्मिएका बच्चाको आँखामा आरओपी रोग लाग्छ भन्ने जानकारी हुँदैन, तबसम्म अन्धोपनाको दर बढ्न सक्ने डा. महत बताउँछन् ।

आरओपीबाट जोगिन के गर्ने ?

डा. महतका अनुसार एनआईसीयूमा बच्चा हुँदै आँखाको स्क्रिनिङ गर्नु पर्छ । आरओपी रोग देखिएकामध्ये धेरैको पहिलो चरणमै स्क्रिनिङ गर्दा थाहा हुने भएकाले त्यतिबेला सुइ र रेजरमार्फत उपचार गर्दा निको हुने गरेको उनले सुनाए ।

पाटन अस्पतालमा एनआईसीयूमै आँखाको परीक्षण गरिने भएकाले सुरुवाती चरणमै रोग पहिचान हुँदा अप्रेशन र अन्धोपनाबाट बच्चाहरू जोगिएको उनको जिकिर छ । पछिल्लो समय पाटन अस्पतालमा बालरोग विशेषज्ञहरू आरओपी रोगबारे जानकार भएकाले बच्चालाई एनआईसीयूमा चाहिने मात्रामा अक्सिजन दिने गर्दा जोखिम केही कम भएको उनले बताए ।

जबसम्म अभिभावकलाई समय अगावै जन्मिएका बच्चाको आँखामा आरओपी रोग लाग्छ भन्ने जानकारी हुँदैन, तबसम्म अन्धोपनाको दर बढ्न सक्ने डा. महत बताउँछन् ।

उनका अनुसार कम समयमा जन्मेको बच्चाको आँखा हेर्दा सामान्य देखिन्छ तर, आरओपी रोग लागेको थाहा हुँदैन । बच्चा तीन महिना हुँदासम्म आँखामा समस्या भएकोबारे अभिभावकले थाहा पाउँदैनन् ।

त्यसपछि क्रमशः आँखाको नानीमा सेतो सेतो दाग देखिन्छ । आँखामा सेतो दाग देखिएर उपचारका लागि अस्पताल ल्याउँदा बच्चाको आँखामा पूर्णमा अन्धोपना आइसकेको हुने उनको भनाइ छ ।

कसरी पहिचान गर्ने ?

डा महतले ३४ हप्ताभन्दा कम समयमा जन्मिएमा वा कम तौल भएका बच्चा जन्मिएको २० दिनदेखि एक महिनाभित्र एक पटक आँखाको परीक्षण अनिवार्य रुपमा गराउनुपर्ने बताए ।

‘जन्मिएको एक महिनाभित्र आँखा जाँच गर्नुपर्छ भन्ने जनचेतना व्यापक रुपमा फैलाउन जरुरी छ । समय अगावै जन्मिएका धेरै बच्चामा अन्धोपना आउन सक्छ,’ उनले भने ।

समय अगावै जन्मिएका बच्चालाई हेर्ने बालरोग विशेषज्ञहरूले पनि अनिवार्य रुपमा चाँडो आँखा परीक्षण गर्न सुझाव दिन आवश्यक रहेको उनको भनाइ छ ।

‘गर्भावस्था, कम तौल र समय अगाडि जन्मिएका बच्चालाई स्वास्थ्यकर्मीले अनिवार्य आँखा जाँच गर्नुपर्छ भनिदिए अभिभावक सचेत भएर धेरैभन्दा धेरैलाई अन्धोपनाबाट जोगाउन सकिन्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया