शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

तापक्रम वृद्धिले महोत्तरीको जनजीवन प्रभावित

मङ्गलबार, ०२ जेठ २०८०, १० : ३९
मङ्गलबार, ०२ जेठ २०८०

महोत्तरी । महोत्तरी जिल्लामा केही दिनदेखि अचाक्ली बढेको गर्मीले बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला दिन यहाँ चालिस डिग्री, ४१ डिग्री र कहिलेकाहीँ ४२–४३ डिग्रीसमेत तापक्रम पुगेको छ ।  यसबाट महोत्तरीको जनजीवन प्रभावित भएको छ भने यहाँका अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट डा मनिषा भारद्वाजका अनुसार गर्मी बढेसँगै  अस्पतालमा सेवा लिन आउने बिरामीको सङ्ख्या बृद्धि भएको छ । सामान्यरूपमा ७०–७५ उपचारका लागि आउने गरेकामा अहिले एक सय ५० देखि दुई सय ५० बिरामी उपचारका लागि आउने गरेको उनले बताए।

उनका अनुसार गर्मीले आउ, ज्वरो, झाडापखाला, टाइफाइड, छालाजन्य रोग, पानीको कमी र जन्डिसका बिरामीको सङ्ख्या अत्यधिक बढेको हो ।  अधिकांश झाडापखालाका बिरामी अस्पतालमा आउने गरेका र अधिकांश आठ वर्षमुनिका बालबालिका र ५०–६० वर्षमाथिका वृद्धवृद्धा रहेका मेडिकल सुपरिटेन्डेन्ट डा  भारद्वाजले बताए । 

चर्को घाम र तातो हावाका कारण जिल्ला सदरमुकाम जलेश्वर नगर क्षेत्रसहित सहरी र ग्रामीण क्षेत्रमा दिउँसो सर्वसाधारणको आवतजावत घटेको छ ।

अत्यधिक गर्मीका कारण जिल्लाका ह्याण्डपाइप, कुवा, इनार, पोखरीलगायत पानीको मुहान सुक्न थालेका छन् । जलेश्वर नगरसहित जिल्लाका उत्तरवर्ती अधिकांश क्षेत्रका अनेकौँ हयाण्डपाइपबाट पानी आउन छाडेका छन् ।

चर्को घाम र तातो हावाका कारण बिहान १०–११ बजेदेखि अपराह्न ५ बजेसम्म प्रायः सडक सुनसान नै हुन्छन् भने अत्यावश्यक कामबाहेक सर्वसाधारण घरमै बस्छन् । गर्मीसँगै लामो खडेरीका कारण यहाँका अधिकांश किसानले धानको बीउ राख्न पाएका छैनन् । अकाशे पानीको भरमा खेती गर्ने किसान वर्षा नभएकाले बीउ राख्न नपाउँदा खेत बाँझै रहने चिन्तामा छन् । गर्मीले गर्दा तरकारी बाली र फलफूलमा पनि प्रतिकूल प्रभाव पारेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप