शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
मदन आश्रित स्मृति दिवस

एमाले नेताहरूलाई माधव नेपालको अपिल : पार्टीको लोकतान्त्रिक रूपान्तरण गर्नका लागि अग्रसरता लिनुहोस्

बुधबार, ०३ जेठ २०८०, ०९ : ४९
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका नेताहरूलाई आफ्नो पार्टीभित्र रहेका गलत प्रवृत्तिलाई पहिचान गर्दै पार्टीको लोकतान्त्रिक रूपान्तरण गर्नका लागि अग्रसरता लिन अपिल गरेका छन् । यति गरे मात्र मदन भण्डारी र जीवराज आश्रितलाई गरेको सम्मानको अर्थ रहने उनले बताएका हुन् ।

३० औँ मदन–आश्रित दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेकपा एमालेमा अझै अलोकतान्त्रिक प्रवृत्ति हाबी रहेको जिकिर गरे । ‘नीति भन्दा नेता प्रधान, सामूहिक नेतृत्वको सिद्धान्त पालना गर्नुभन्दा एउटा नेताको निर्देशन पालना गर्नुपर्ने अवस्था छ । त्यसैले बहुदलीय जनवादको औचित्य समाप्त भएको छैन ।’ 

व्यक्तिवादको महारोगले सिङ्गो कम्युनिस्ट आन्दोलन ग्रसित रहेको बताउँदै उनले वैचारिक शुद्धीकरणको अभियान नै  चलाउनुपर्ने बताए । आज नेपाल कम्युनिस्ट आन्दोलन ठुलो चुनौतीको बीचमा उभिएको र त्यसलाई कसरी अघि बढाउने भन्ने जिम्मेवारी आफ्नो पाटीको काँधमा आइपुगेको सुनाए ।

‘अरू समूहहरूले तपाईंले पहल गरिदिनुपर्छ भन्दैछन् । हिजोमात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुराकानी भयो, नेकपाका महासचिव विप्लवसँग कुराकानी भयो । पहल अघि बढाउन पर्यो भन्नु भएको छ । पहल गर्न तयार छौँ । कुराकानी अघि बढाइरहेका छौँ । विचार र धारणामा के–के समानता र विमति छन् बारेमा कुराकानी गर्दैछौँ । समानताका आधारमा अघि बढ्ने मिलेर तयार छौँ ।’

उनले यतिबेला नेताहरू सबै भ्रष्टाचार गर्न प्रतिस्पर्धा गरिरहेकोमा चिन्ता व्यक्त गरे । अध्यक्ष नेपालले भने, ‘के कांग्रेस, के कम्युनिस्ट, कुनै दर्शनले काम गरेको छैन । एउटै दर्शन छ – पैसा कमाऊ, जनतालाई लुट । यस्तो प्रवृत्ति व्याप्त छ ।  नेपालको कम्युनिस्ट आन्दोलनलाई भ्रष्टीकरणको प्रवृत्ति र व्यक्तिवादी प्रवृत्तिबाट जोगाउने चुनौती रहेको उनको भनाई छ ।

नेता नेपालले मदन भण्डारीलाई दूरदृष्टि भएको नेता र जीवराज आश्रितलाई कुशल संगठकको रूपमा स्मरण गरे । उनले भने, ‘नेपालको राजनीतिमा मदन भण्डारीको अत्यन्त महत्त्वपूर्ण भूमिका रहेको छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय र बलियो बनाउनका लागि उहाँहरूले खेलको भूमिका अविस्मरणीय रहेको छ । त्यसैले हामीले मदन भण्डारीलाई कहिल्यै पनि बिर्सन सक्दैनौँ । आश्रितले तत्कालीन पार्टीलाई अगुवाइ गर्न ठुलो भूमिका खेल्नु भयो ।’

जिप दुर्घटनामा दुई जनाको निधन भएको भन्ने खबरले पार्टीमात्र नभएर देश नै रोएको स्मरण गरे । ‘मृत्यु पनि मान्छे पिच्छे फरक पर्दो रहेछ, जनताको छोरो मर्दा देश रुँदो रहेछ,’ उनले भने, ‘तर हामीले शोकलाई शक्तिमा बदल्यौँ । उहाँको मिसनलाई अघि बढाएर लैजाने सङ्कल्प गर्‍यौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप