बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

प्रतिबन्ध खुलेको ४ महिनापछि लय समात्दै वैदेशिक व्यापार

वैशाखमा ३३ अर्ब भन्सार राजस्व संकलन
सोमबार, ०८ जेठ २०८०, १९ : ५३
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । आयात प्रतिबन्ध खुलेको झण्डै ४ महिनापछि वैदेशिक व्यापारले लय समात्न थालेको छ । 

सरकारले २०७९ वैशाख दोस्रो सातादेखि विदेशी मुद्राको सञ्चिती जोगाउने लक्ष्यसहित आयातमा प्रतिबन्ध लगाएको थियो । सरकारले विभिन्न वस्तुको नाम र एचएस कोड नै किटेर आयात रोकेपछि सम्पूर्ण वैदेशिक व्यापार प्रभावित बनेको थियो ।

आयात नै रोकिएपछि आयातमा आधारित राजस्व संकलन लक्ष्यसमेत प्रभावित बनेको थियो । यहीकारण, चालू आर्थिक वर्ष २०७९/८० को यस अवधिसम्ममा बजेट घाटा ३५ अर्ब रुपैयाँ छ । यस अवधिमा सरकारले ८ खर्ब १२ अर्ब रुपैयाँ खर्च हुँदा राजस्व संकलनको स्थिति भने ७ खर्ब ७१ अर्ब रुपैयाँ मात्रै छ ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत् साढे ६ खर्ब रुपैयाँ भन्सार राजस्व संकलनको लक्ष्य लिएको थियो । तर, यस अवधिसम्म लक्ष्यको जम्मा ५८ प्रतिशत मात्रै भन्सार राजस्व संकलन हुँदा बजेट घाटा बढ्दै गएको हो । सरकारले गर्ने आम्दानीको तुलनामा धेरै खर्च गर्दा बजेट घाटा हुन्छ । 

सरकारले २०७९ वैशाखदेखि लागू हुने गरी सवारीसाधन, महँगा मोबाइल फोन, १५० सीसी क्षमताभन्दा माथिका मोटरसाइकल, कुरकुरे, कुरमुरे, लेज, तास, खेलौना लगायतका वस्तुको आयात रोकेको थियो ।

भन्सार राजस्वमा सबैभन्दा धेरै हिस्सा ओगट्ने सवारी साधनको आयात रोकिँदा सिंगो राजस्व प्रणाली नै समस्यामा पर्यो । यहीकारण, चालू वर्षको १० महिनाको अवधिमा ३ खर्ब ८ अर्ब रुपैयाँ मात्र राजस्व संकलन भएको छ । जबकि, यस अवधिमा सरकारले ५ खर्ब ४८ अर्ब रुपैयाँ भन्सार शुल्क संकलनको लक्ष्य लिएको थियो । यद्यपि, पछिल्लो समय यसमा सुधारको संकेत देखिएको छ ।

सरकारले पुस महिनादेखि लागू हुने गरेर सबैखाले आयात प्रतिबन्ध हटाएको ३–४ महिनापछि वैदेशिक व्यापारमा सकारात्मक संकेत देखिन थालेको हो । पुसदेखि आयात प्रतिबन्ध खुलाउँदा आयातका लागि व्यापारीले एलसी खुलाएको ३ महिनापछि सामान आयात सुरु भयो । सोहीअनुसार चैत महिनायता नेपालको वैदेशिक व्यापारले लय समात्न थालेको देखिन्छ ।

चैत महिनामा १ खर्ब ४३ अर्ब रुपैयाँको सामान आयात भएको थियो । जबकि, त्यसअघिका ८ महिनामा मासिक १ खर्ब हाराहारीको आयात भइरहेको थियो । साउनदेखि माघ महिनासम्ममा जम्मा १० खर्ब ५८ अर्ब रुपैयाँको आयात भएकोमा चैत महिनासम्ममा १२ खर्ब १ अर्ब रुपैयाँको आयात भएको थियो । 

यस्तै, वैशाख महिनासम्ममा १३ खर्ब ३५ अर्ब रुपैयाँको आयात भएको छ । यो एक महिनामै १ खर्ब ३३ अर्ब रुपैयाँको आयातपछि सम्भव भएको हो ।

यससँगै नेपालको वैदेशिक व्यापार पुनः लयमा फर्किएको संकेत देखिन थालेको हो । आयातमा आधारित राजस्व प्रणाली नै थलिने गरी रोकिएको आयात लयमा फर्किएसँगै बजेट घाटाको अवस्थासमेत सुधारिन थालेको छ । 

वैदेशिक मुद्राको सञ्चिती ६ महिनाको मात्रै आयात धान्ने अवस्थामा आएपछि नेपाल राष्ट्र बैंकले समेत आयातलाई कडाई गरेको थियो । सरकार र केन्द्रीय बैंकले नै आयात कडाई गरिरहेको समयमा रेमिट्यान्स आप्रवाह ह्वात्तै बढेपछि यतिबेला ११ महिनाको आयात धान्न सक्ने विदेशी मुद्राको सञ्चिती छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि वैशाखसम्मको १० महिनाको १६.७८ प्रतिशतले आयात घटेको छ । गत आर्थिक वर्ष २०७८÷७९ को यही अवधिमा विदेशबाट १६ खर्ब ४ अर्ब रुपैयाँको आयात भएको थियो । 

गत आर्थिक वर्ष इतिहासकै सबैभन्दा धेरै १९ खर्बभन्दा धेरै मूल्यको वस्तु आयात भएको थियो । यस्तै, यस अवधिमा निर्यात २४.४९ प्रतिशतले खुम्चिएर १ खर्ब ३० अर्ब रुपैयाँमा बसेको छ । गत वर्षको यही अवधिमा नेपालबाट १ खर्ब ७३ अर्बको निर्यात भएको थियो ।

खनिज इन्धनमै गयो झण्डै ३ खर्ब

चालू आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा सबैभन्दा धेरै रकम खनिज इन्धनको आयातमा बाहिरिएको छ । यस अवधिमा नेपालमा २ खर्ब ९१ अर्ब ७२ करोड रुपैयाँ खनिज इन्धनमै बाहिरिएको छ । यो झण्डै ३ खर्ब रुपैयाँ आसपास हो । 

यसपछि, आइरन र स्टीलको आयातमा धेरै रकम बाहिरिएको छ । औद्योगिक कच्चा पदार्थका रुपमा प्रयोग हुने आइरन र स्टीलको आयातमा १ खर्ब ३६ अर्ब ८१ करोड रुपैयाँ बाहिरिएको छ ।

यस्तै, ८३ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको औद्योगिक मेसिनरीको आयात भएको छ भने ८१ अर्ब ८९ करोड रुपैयाँ भन्दा बढीको विद्युतबाट चल्ने विद्युतीय सामग्रीको आयात भएको छ । 

उता, ११ अर्ब ८६ करोड रुपैयाँको औद्योगिक कच्चा पदार्थको रुपमा प्रयोग हुने आल्मुनियमको आयात भएको छ भने हातबाट बुनिएको धागो आयातमा १५ अर्ब बाहिरिएको छ ।

यसैगरी, २७ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको तरकारी आयात हुँदा १६ अर्ब ९४ करोड रुपैयाँको फलफुल आयात भएको छ । यस्तै, खाद्यान्न आयातमा ४७ अर्ब २९ करोड रुपैयाँ बाहिरिएको छ । यसका साथै, ७६ अर्ब रुपैयाँ खानेतेल लगायतका वस्तुको आयातमा बाहिरिएको छ ।

सबैभन्दा धेरै खानेतेल निर्यात

यस्तै, नेपालबाट यस अवधिमा सबैभन्दा धेरै मूल्यको खानेतेल निर्यात भएको छ । नेपालबाट निर्यात हुने सम्पूर्ण वस्तुहरुको तुलनामा खानेतेलको निर्यात सबैभन्दा धेरै भएको हो । 

चालु वर्षको १० महिनाको अवधिमा नेपालबाट २७ अर्ब २८ करोड रुपैयाँभन्दा धेरैको खानेतेल निर्यात भएको छ । र, यो सबै भारततर्फ केन्द्रीत छ । यसपछि, नेपालबाट चिया र कफीको निर्यात धेरै छ । चिया र कफीको निर्यातबाट नेपालले १२ अर्ब ५ करोड रुपैयाँ आर्जन गरेको छ ।

यस्तै, यस अवधिमा नेपालबाट १० अर्ब रुपैयाँ बराबरको कार्पेट निर्यात भएको छ भने हातबाट निर्मित धागो निर्यातबाट ९ अर्ब रुपैयाँ आर्जन भएको छ । यस्तै, विभिन्न प्रकारका धागोको निर्यात ४ अर्ब रुपैयाँभन्दा बढीको छ । यसैगरी, ४ अर्बभन्दा धेरैको वनजंगलमा आधारित धागो निर्यात भएको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप