बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय
दसौँ राष्ट्रिय खेलकुद

दसौँ राष्ट्रिय खेलकुद : संघीय सरकारको व्यवहारमा पनि हेपिएको कर्णाली

न नीति कार्यक्रममा स्थान न त पूर्वाधार निर्माणमै सहयोग
मङ्गलबार, ०९ जेठ २०८०, ०८ : ५२
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । देशभित्र हुने सबैभन्दा ठूलो र महत्त्वपूर्ण प्रतियोगिता हो, ‘वृहत् राष्ट्रिय खेलकुद ।’ वृहत् राष्ट्रिय खेलकुदका १०औँ संस्करण कर्णाली प्रदेशमा आयोजना हुने भनिएको छ । पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा १०औँ संस्करण आयोजना गर्ने जिम्मेवारीसहित कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिएको थियो ।
 
हालसम्म वृहत् राष्ट्रिय खेलकुदको ९ वटा संस्करण सम्पन्न भएका छन् । तर, विकास, समृद्धि र पूर्वाधारमा निकै पछि परेको कर्णाली प्रदेशमा भने पहिलो पटक वृहत् राष्ट्रिय खेलकुद आयोजना हुन लागेको हो । १०औँ राष्ट्रिय खेलकुदका लागि २०८१ साल मङ्सिर २ देखि ९ गतेसम्मको मिति निर्धारण गरिएको छ ।
 
यस हिसाबले अब राष्ट्रिय खेलकुदको १०औँ संस्करण सुरु हुन करिब डेढ वर्षमात्र समय बाँकी छ । तयारीका हिसाबले राष्ट्रिय खेलकुदजस्तो वृहत् प्रतियोगिताका लागि यो समय निकै कम हो । देशभित्रको खेलकुदलाई चलायमान बनाउन र खेलाडी उत्पादनका दृष्टिले सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता मानिन्छ, वृहत् राष्ट्रिय खेलकुदलाई ।
 
यतिमात्र होइन, वृहत् राष्ट्रिय खेलकुदलाई भौतिक पूर्वाधार निर्माणको हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । वृहत् राष्ट्रिय खेलकुदका नाममा सम्बन्धित प्रदेशमा पूर्वाधारहरू निर्माण हुने गर्छ । त्यसैले यो प्रतियोगिता प्रत्येक २ वर्षमा छुट्टाछुट्टै प्रदेश (विगतमा विकास क्षेत्रमा)मा आयोजना गरिँदै आएको छ ।
 
पक्कै पनि कर्णाली प्रदेशमा खेलकुदका भौतिक पूर्वाधारहरू निकै कम छन् । न आधुनिक रंगशाला छ, न त सुविधा सम्पन्न कभर्डहल नै । यस्तो अवस्थामा कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुदजस्तो वृहत् प्रतियोगिता आयोजना गर्नु आफैमा चुनौतीपूर्ण छ ।
 
यो चुनौती कर्णाली प्रदेशमाथि मात्र होइन, संघीय सरकारमाथि पनि उत्तिकै छ । देशभित्र हुने सबैभन्दा ठूलो प्रतियोगिता भएकाले यसप्रति संघीय सरकार अझ बढी संवेदनशील हुनुपर्छ । तर, विडम्बना सरकार भने यसप्रति खासै गम्भीर देखिएको छैन ।

Stadium
 
सरकारले गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलमार्फत संघीय संसद्मा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्‍यो । तर, संघीय सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा १०औँ राष्ट्रिय खेलकुदको विषयमा एक शब्द पनि उल्लेख गरिएको छैन । सरकारले आफ्नो नीति तथा कार्यक्रममा खेलकुदका अधिकांश पुरानै योजनालाई दोहोर्‍याएको पाइन्छ ।
 
यसअघि आयोजना भएका वृहत् राष्ट्रिय खेलकुदलाई हेर्ने हो भने आयोजक विकासक्षेत्र वा प्रदेशहरूले गतिलै भौतिक पूर्वाधार पाएको देखिन्छ । सुदूरपश्चिम, लुम्बिनी प्रदेश र कोशी प्रदेशमा वृहत् राष्ट्रिय खेलकुद हुँदा ती क्षेत्रमा खेलकुदका थुप्रै भौतिक पूर्वाधार निर्माण भएका थिए ।
 
तर, १०औँ संस्करण कर्णालीजस्तो विकट प्रदेशमा आयोजना हुने भनिए पनि भौतिक पूर्वाधार निर्माणमा संघीय सरकारले कुनै चासो देखाएको पाइँदैन । अवस्था कतिसम्म निराशाजनक छ भने, सरकारको नीति तथा कार्यक्रममा समेत कर्णालीमा हुने भनिएको वृहत् राष्ट्रिय खेलकुदले सानो स्थान पनि पाएको छैन ।
 
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र संज्याल भने यसलाई सरकारले कर्णाली प्रदेशप्रति गरेको उपेक्षा र विभेद मान्छन् । उनी भन्छन्, ‘वृहत् राष्ट्रिय खेलकुद भित्राउनका लागि नै हामीले ४४ वर्ष लामो प्रतीक्षा गर्नुपर्‍यो । १०औँ संस्करण आयोजनाको अधिकार पाएपछि पनि संघीय सरकारबाट हामीले सहयोग पाउन सकेका छैनौं । हामीले यसलाई संघीय सरकारले कर्णालीप्रति गरेको विभेद र उपेक्षाका रूपमा बुझेका छौँ ।’
 
१०औँ राष्ट्रिय खेलकुद आयोजनाको अधिकार पाएपछि कर्णाली प्रदेश सरकारले आफ्नै पहलमा सुर्खेतमा सुविधा सम्पन्न रंगशाला बनाउन सुरु गरेको छ । रंगशाला निर्माणको काम पनि अगाडि बढिसकेको छ । हालसम्म करिब ३५ प्रतिशत काम पनि सम्पन्न भइसकेको सदस्यसचिव संज्याल बताउँछन् । तर, संघीय सरकारले हालसम्म पूर्वाधार निर्माणमा कुनै सहयोग नगरेको उनको गुनासो छ ।

sanjyal
 
‘राष्ट्रिय खेलकुद आयोजनाको अधिकार पाएपछि त्यसलाई हामी कर्णालीबासीले आफ्नो प्रतिष्ठासँग जोडेर हेरेका छौँ । हामीले प्रदेश सरकारकै पहलमा प्रदेशको गौरवको योजनाअन्तर्गत सुर्खेतमा १ अर्ब ७५ करोड रुपैयाँको लागतमा रंगशाला निर्माणको काम अगाडि बढाएका छौँ । कर्णाली प्रदेशमा नागरिकको जनजीविकासँग जोडिएका थुप्रै समस्याहरू छन् । यसका बाबजुद हामीले अन्यत्रको बजेट कटाएर रंगशालामा लगानी गरेका हौँ,’ सदस्यसचिव संज्याल भन्छन्, ‘पटक/पटक अनुरोध गर्दा पनि संघीय सरकारबाट हामीले कुनै सहयोग पाएका छैनौं ।’
 
कर्णाली प्रदेशबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूले समेत पटक/पटक कुरा उठाउँदा पनि संघीय सरकारले १०औँ राष्ट्रिय खेलकुदको पूर्वाधार निर्माणमा बेवास्ता गरेको उनको गुनासो छ । ‘संघीय सरकारको नीति तथा कार्यक्रममा पुराना कार्यक्रमहरू समावेश गरिएको छ तर, वृहत् राष्ट्रिय खेलकुदजस्तो महत्त्वपूर्ण विषयलाई बेवास्ता गरिएको छ । योभन्दा दुर्भाग्य अरू के हुनसक्छ । संघीय सरकारले कर्णाली प्रदेशप्रति लिएको यो विभेदकारी नीति हो,’ उनी भन्छन् ।
 
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ भने राखेपले १०औँ राष्ट्रिय खेलकुदका लागि बजेटको प्राथमिकता निर्धारण गरेर युवा तथा खेलकुद मन्त्रालयमार्फत पक्रिया अगाडि बढाएको बताउँछन् । सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय खेलकुदको विषय उल्लेख गरिनु पर्नेमा भने उनी पनि सहमत छन् । ‘सरकारले सबै क्षेत्रलाई हेर्नुपर्ने भएकाले यस्तो भएको हुनसक्छ । अहिले पनि संसद्मा नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ, अझै पनि राष्ट्रिय खेलकुदको विषय त्यसमा समेट्न सकिन्छ,’ सदस्यसचिव घिसिङ भन्छन् । उनी राखेप र कर्णाली प्रदेशको खेलकुद परिषद्ले १०औँ राष्ट्रिय खेलकुदको विषयमा समान धारणा बनाएर अगाडि बढिरहेको दाबी पनि गरे ।


 
कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव संज्याल भने वृहत् राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माण गर्न संघीय सरकारको बजेटमा समावेश गरिएको रकम पनि कटौती गरिएको दाबी गर्छन् । १०औँ राष्ट्रिय खेलकुदका खेलहरू कर्णाली प्रदेशको कुन/कुन जिल्लामा खेलाइन्छ ? भन्ने प्रश्नको जवाफमा संज्याल भन्छन्, ‘प्रदेशको बजेटले मात्र सबै जिल्लामा पूर्वाधार बनाउन सम्भव छैन । हामीले अन्य जिल्लाको बजेटसमेत काटेर सुर्खेतमा रंगशाला बनाउँदै छौँ । १२ देखि १४ वटासम्म खेल खेलाउन मिल्ने गरी त्यो रंगशालामा बनाइँदै छ,’ उनी भन्छन्, ‘पूर्वाधार निर्माणमा संघीय सरकारले सहयोग नगरे हामीसँग जेजस्तो पूर्वाधार उपलब्ध हुन्छ त्यसैमा राष्ट्रिय खेलकुदका सबै खेल खेलाउने हो ।’
 
मुलुक संघीय स्वरूपमा गएपछि आयोजना भएका वृहत् राष्ट्रिय खेलकुदका खेलहरू सम्बन्धित प्रदेशका विभिन्न जिल्लामा छरेर खेलाइँदै आएको छ । सुदूरपश्चिम, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १ (हाल कोशी प्रदेश) र गण्डकी प्रदेशमा भएको राष्ट्रिय खेलकुद प्रतियोगिता पनि विभिन्न जिल्लामा आयोजना गरिएको थियो । कर्णाली प्रदेशमा हाल पश्चिमी रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, सुर्खेत, दैलेख र जाजरकोट गरी १० वटा जिल्ला पर्छन् ।
 
००००
 
पदक तालिकामा सधैँ निरीह : छैन विशेष कार्यक्रम
 
विगतदेखि नै कर्णाली प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा सबैभन्दा पछाडि पर्दै आएको छ । भौतिक पूर्वाधारको अभाव, नियमित प्रशिक्षणमा समस्या, दक्ष प्रशिक्षकको कमी, जीवन धान्न चरम आर्थिक समस्याजस्ता कारणले कर्णालीका खेलाडीको प्रदर्शन निराशाजनक रहँदै आएको छ ।
 
विभिन्न समस्यासँग जुध्दै दूरदराजका गाउँबस्तीहरुमा प्रशिक्षण गरेर जेनतेन राष्ट्रिय प्रतियोगितामा सहभागी हुने कर्णालीका खेलाडीहरूले आफूभन्दा निकै बलिया खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । देशका सहरी क्षेत्रमा रहेका खेलाडीले गतिलो भौतिक पूर्वाधारमा प्रशिक्षणको अवसर पाउँछन् । दक्ष र अनुभवी प्रशिक्षकसम्म उनीहरूको पहुँच हुन्छ ।
 
विश्व खेलकुदका आधुनिक प्रशिक्षण शैलीसँग पनि उनीहरू परिचित हुन्छन् । नियमित प्रतियोगिताहरूको पनि अभाव हुँदैन । सहर केन्द्रित खेलाडीहरू नियमित अभ्यासपछि सन्तुलित डाइटमा पनि पहुँच राख्छन् । यसको विपरीत विकट गाउँबस्ती छिचोल्दै राष्ट्रिय प्रतियोगितासम्म पुगेका खेलाडीहरू यी सबै सुविधाबाट वञ्चित हुन्छन् । त्यसैको परिणाम राष्ट्रिय खेलकुदको पदक तालिकामा देखिन्छ ।

Stadium2
 
हालै गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा पनि कर्णाली प्रदेश पदक तालिकाको सबैभन्दा तल रह्यो । उक्त प्रतियोगितामा कर्णालीले २ स्वर्ण, ४ रजत र १२ वटा कांस्य पदक जित्यो । बरु भर्खरमात्र राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेको गैरआवासीय नेपाली संघको टोलीले नवौँ संस्करणमा १० वटा स्वर्ण जित्यो ।
 
यसअघि आठौँ राष्ट्रिय खेलकुदमा पनि कर्णाली ३ स्वर्ण जित्दै पदक तालिकाको सबैभन्दा तल थियो । त्यतिबेला गैरआवासीय नेपाली संघको टोलीले भने पहिलो सहभागितामै ६ वटा स्वर्ण पदक जितेको थियो । वृहत् राष्ट्रिय खेलकुदका सुरुका ३ संस्करणमा अञ्चलका आधारमा टोलीहरूलाई समावेश गरिएको थियो । तर, त्यतिबेला पनि कर्णाली अञ्चल नै पदक तालिकाको सबैभन्दा तल हुन्थ्यो ।
 
अवस्था कतिसम्म निरीह थियो भने, आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन कर्णालीबाट आएका कतिपय खेलाडीले त एथलेटिक्स स्पर्धामा ‘हर्डल्स’ कस्तो हुन्छ भन्नेसमेत आफूहरूले पहिलो पटक देखेको प्रतिक्रिया सञ्चारकर्मीलाई दिएका थिए । दुर्भाग्य के थियो भने, त्यतिबेला यस्तो प्रतिक्रिया दिने कर्णालीका खेलाडी आफै पनि ‘हर्डल्स’ स्पर्धामै भाग लिन आएका थिए ।
  
राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकालाई हेर्दा अवस्था निकै उदेकलाग्दो देखिन्छ । यति हुँदा पनि हालसम्मका कुनै सरकारले कर्णालीमा खेलकुदको पूर्वाधार विकास गर्न वा खेलाडीको स्तर उकास्न विशेष कार्यक्रम अगाडि सारेनन् । पक्कै पनि कमजोर क्षेत्र वा कमजोर वर्गको उत्थानका लागि विशेष योजना र कार्यक्रम आवश्यक पर्छ । तर, नेपाली खेलकुद क्षेत्र यसमा चुकेको देखिन्छ ।

Stadium 1
 
किन महत्त्वपूर्ण छ राष्ट्रिय खेलकुद ?
 
विश्वका हरेक राष्ट्रले प्रतिभावान् खेलाडी उत्पादन गर्न नियमित रूपमा राष्ट्रिय खेलकुद प्रतियोगितामा आयोजना गर्ने गरेका छन् । खेलकुद प्रतिभाहरू सहरमा मात्र नभई देशका कुनाकाप्चामा पनि लुकेर रहेका हुन्छन् भन्ने मान्यतालाई आधार बनाएर यस्तो प्रतियोगिता आयोजना गर्ने गरिन्छ ।  
 
राष्ट्रिय प्रतियोगिताभन्दा अघि देशको तल्लो तहदेखि नै छनोट प्रतियोगिताहरू आयोजना गर्ने गरिन्छ । तल्लो तहका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी खेलाडीहरू क्रमशः छनोट चरण पार गर्दै मुख्य प्रतियोगितासम्म आइपुग्छन् । यसरी छनोट भएर आएका खेलाडीले राष्ट्रिय स्तरमा चर्चित खेलाडीहरुसँंग प्रतिस्पर्धा गरेर आफ्नो क्षमता देखाउने अवसर पाउँछन् ।
 
त्यसैले नयाँंनयाँं प्रतिभा खोजी गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद प्रतियोगिता महत्त्वपूर्ण माध्यम हो । राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई लामो समयसम्म बन्द प्रशिक्षणमा राखेर उनीहरूको सिप तिखार्ने कार्य गरिन्छ । त्यसपछि ती खेलाडीलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइन्छ ।
 
एउटा वृहत् राष्ट्रिय प्रतियोगिता सकिएलगत्तै तल्लो तहका खेलाडी पुनः अर्को प्रतियोगिताको तयारीमा व्यस्त हुन्छन् । यसका लागि विभिन्न खेल संघले नियमित रूपमा जिल्ला, अञ्चल र क्षेत्रस्तरका प्रतियोगिताहरू आयोजना गरिरहेका हुन्छन् । त्यसैले दक्ष र प्रतिभाशाली खेलाडी खोजी र उत्पादन गर्न हरेक राष्ट्रमा राष्ट्रिय प्रतियोगिताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।
 
नेपालमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन थालेको ४२ वर्ष पुरा भइसके पनि हालसम्म केवल ९ वटा संस्करणमात्र हुन सकेको छ । नेपालमा २०३८ सालदेखि वृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन थालेको हो । प्रत्येक २/२ वर्षमा राष्ट्रिय खेलकुद आयोजना गर्ने भनिए पनि यसले निरन्तरता पाउन सकेको छैन ।
 
चरम आर्थिक समस्या, खेलकुद क्षेत्रमा राजनीतिको प्रत्यक्ष प्रभाव, खेल भावना भएका पदाधिकारीको अभाव, खेल निकायहरूमा राजनीतिक दलका कार्यकर्ताको नियुक्तिजस्ता कारणले पनि नेपाली खेलकुदमा यो समस्या देखिएको हो । राष्ट्रिय खेलकुद नियमित रूपमा आयोजना हुन नसकेका कारण नै देशभित्र प्रतिभावान् खेलाडीहरूको अभाव देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप