शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
१९औं एसियाली खेलकुदको तयारी

१० करोड खर्च नभएपछि अर्थले फिर्ता लग्यो, अहिले राखेपसँग प्रशिक्षणका लागि पैसा नभएर छटपटी

एसियाली खेलकुदमा नेपाल : ७२ वर्ष २ रजत २२ कांस्य
बिहीबार, ११ जेठ २०८०, १२ : ०२
बिहीबार, ११ जेठ २०८०

काठमाडौं । एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को १९औं संस्करण आगामी सेप्टेम्बरमा चीनको हाङ्झोउमा आयोजना हुँदैछ । प्रतियोगिता सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म आयोजना हुनेछ । एसियाली महादेशको सबैभन्दा वृहत खेल प्रतियोगिता पनि हो, एसियाड ।

प्रतियोगितामा एसियाका ४५ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एसियाडको १९औं संस्करणमा विभिन्न ४० खेल समावेश गरिएको छ । यस हिसाबले अब एसियाली महादेशको खेलकुद महाकुम्भ सुरु हुन ४ महिनामात्र बाँकी छ ।

एसियाली खेलकुदका लागि अधिकांश राष्ट्रले आफ्नो खेलाडीलाई निकै लामो समयदेखि तयारीमा राखेका छन् । पदकीय दृष्टिकोणले एसियाड सहभागितालाई अर्थपूर्ण बनाउने अभियानमा जुटेका राष्ट्रहरुको तयारी यतिबेला अन्तिम चरणमा पुगिसकेको छ ।

तर, आगामी एसियाडलाई लिएर नेपालको सन्दर्भ केही फरक छ । प्रतियोगिता सुरु हुन केवल चार महिना बाँकी रहँदासम्म पनि नेपालले एसियाडको कतिवटा खेलमा सहभागिता जनाउने भन्ने विषय अन्योलमै छ । नेपालले १९औं एसियाडमा २३ खेलमा भाग लिने कि २८ वटा खेलमा भन्ने विषय अझै टुंगो लाग्न सकेको छैन ।

20230523101927_IMG_9863_copy_1280x853 (1)

यसअघि नेपालले एसियाडको २३ वटा खेलमा सहभागिता जनाउने निर्णय गरेको थियो । तर, गत आइतबार सम्पन्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११६औं बोर्ड बैठकले एसियाडको २८ वटा खेलमा भाग लिने निर्णय गरेको छ ।

पछि थप गरिएका पाँच खेल रग्बी, स्क्वास, टेनिस, इ—स्पोर्टस र डान्स स्पोर्टस हुन् । यसअघि नेपालले तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल, फेन्सिङ, ह्याण्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र शुटिङ गरी २३ खेलमा सहभागिता जनाउने निर्णय गरेको थियो ।

यो त भयो, सहभागिता जनाउने खेलमा देखिएको अन्यौलता । अर्कोतिर, एसियाली खेलकुद सुरु हुन केवल चार महिना बाँकी रहँदासम्म पनि नेपालमा प्रतियोगिताको तयारी नै सुरु भएको छैन । न त नेपाली खेलकुदको नेतृत्वदायी निकाय राखेपसँग एसियाड तयारीका लागि बजेट नै उपलब्ध छ ।

गत आइतबार सम्पन्न राखेपको बोर्ड बैठकले बल्ल एसियाड तयारी र सहभागिताका लागि सरकारसँग २९ करोड रुपैयाँ बजेट माग्ने निर्णय गरेको छ । ‘राखेपले एसियाडका लागि माग गरेको त्यो रकम अब सरकारको आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनेछ । त्यसपछि मात्र एसियाडका लागि राखेपले बजेट पाउने छ,’ राखेपका एक अधिकारी भन्छन् ।

एसियाडका लागि अन्य राष्ट्रको तयारी अन्तिम चरणमा पुगिसक्दा पनि नेपालमा भने न खेल सँख्याको टुंगो लाग्न सकेको छ न त सरकारले बजेट नै उपलब्ध गराएको छ । एसियाडको तयारी र बजेटको विषयमा जोडिएको योभन्दा पनि रोचक पक्ष अर्को छ ।

सरकारले अघिल्लो वर्षको बजेटमा खेलाडीको प्रशिक्षणका लागि राखेपलाई ठूलो रकम उपलब्ध गराएको थियो । त्यो रकम खेलाडीको प्रशिक्षणमा खर्च हुनुपथ्र्यो । तर, एसियाडजस्तो ठूलो प्रतियोगिता संघारमै हुँदा पनि राखेपले खेलाडीको प्रशिक्षणमा कुनै वास्ता गरेन ।

राखेपले खेलाडीको प्रशिक्षण नै सुरु नगरेपछि अर्थ मन्त्रालयले खेलाडीको प्रशिक्षणका लागि छुट्याएको १० करोड बजेट फिर्ता लगेको छ । अर्थ मन्त्रालयले बजेट ‘फ्रिज’ गरेपछि एसियाडको तयारीमा रहेका खेलाडीको प्रशिक्षण पूर्णरुपमा प्रभावित भएको छ ।

20230523103423_IMG_9887_copy_1280x853 (1)

अर्थ मन्त्रालयले प्रशिक्षणको बजेट ‘फ्रिज’ गरेपछि राखेपका पदाधिकारी र खेलाडीहरुले सरकारसँग बजेटका लागि पटकपटक आग्रह गरेका थिए । त्यसपछि अर्थमन्त्रालयले राखेपबाटै फिर्ता लगेको १० करोडमध्येबाटै दुई करोड रुपैया खेलाडीको प्रशिक्षणमा खर्च गर्न अनुमति दिएको छ ।

तर, त्यो रकम पनि हालसम्म खेलाडीको प्रशिक्षणमा खर्च नभएको खेलाडीहरुको गुनासो छ । आगामी एसियाडका लागि अहिलेसम्म खेलाडीको अन्तिम चरणको छनोटसम्म सम्पन्न हुनसकेको छैन । कराँते, तेक्वान्दो, बक्सिङलगायतका केही खेलले आफ्नै पहलमा एसियाडको तयारी गरिरहेका छन् ।

‘अहिलेसम्म एसियाडका लागि खेलाडीको अन्तिम छनोट सम्पन्न भएको छैन । खेल संख्याको बारेमा पनि अझै अन्यौल छ । राखेपको बोर्ड बैठकले एसियाडका लागि सरकारसँग बजेट माग्ने निर्णय गरेको छ । सरकारले उपलब्ध गराउने बजेटका आधारमा मात्र खेल सँख्याको टुगो लाग्छ,’ राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका प्रमुख प्रचण्ड शर्मा भन्छन् ।

शर्माले कराँते, तेक्वान्दो, बक्सिङ र कुश्ती खेलको प्रशिक्षण भने सम्बन्धित संघहरुको पहलमा सुरु भएको जानकारी दिए । कराँतेका प्रशिक्षक दिपक श्रेष्ठले नेपाल कराँते महासंघको पहलमा खेलाडीको प्रशिक्षण भइरहेको बताए । हाल सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा कराँते खेलाडीको प्रशिक्षण भइरहेको छ ।

dipak shrestha

‘महासंघको पहलमा कराँते खेलाडीको नियमित प्रशिक्षण भइरहेको छ । अहिलेसम्म राखेपले प्रशिक्षणका लागि बजेट उपलब्ध गराएको छैन । महासंघले नै खेलाडीको प्रशिक्षण र प्रशिक्षणपछि खानाको ब्यवस्था मिलाएको छ । वैदेशीक प्रशिक्षणको विषय पनि अन्यौलमै छ,’ कराँते खेलाडीलाई प्रशिक्षण गराइरहेका अर्का प्रशिक्षक कुशल श्रेष्ठ भन्छन् ।

आगामी एसियाडलाई ध्यानमा राखी अहिले कराँतेमा २४ पुरुष र २४ जना महिला खेलाडी प्रशिक्षण गर्दैछन् । खेलाडीका लागि महासंघले खाना खर्च भनेर दैनिक दुई सय रुपैयाँ उपलब्ध गराएको छ । नियमित प्रशिक्षणपछि कराँते खेलाडीले पाउने गरेको ‘डाइट खर्च’ यहि हो । कराँतेको पनि अन्तिम छनोट भने हुन बाँकी छ ।

‘अन्य राष्ट्रहरुले एसियाडको तयारी अन्तिम चरणमा पु¥याएका छन् । हामी भने अझै खेल संख्या र आर्थिक अभावमै अल्झिएका छौं,’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका कराँते प्रशिक्षक दिपक श्रेष्ठ भन्छन्, ‘अन्य राष्ट्रका खेलाडीहरु लामो समयको प्रशिक्षणपछि अन्तिम तयारीका रुपमा आफूहरुलाई मानसिक रुपमा तयार पार्दैछन् । हामी भने अन्तिम समय तयारी सुरु गरेर खेलाडीलाई चोट बोकाउने तयारी गर्दैछौं,’ उनी गुनासो गर्छन् ।

दिपकका अनुसार, प्रतियोगिता सुरु हुनुभन्दा अगाडिको दुई महिना समय भनेको प्रशिक्षणका क्रममा घाइते भएका खेलाडीहरुले स्वास्थ्य लाभ गर्ने र आफूलाई प्रतियोगिताका लागि मानसिक रुपमा तयार पार्ने समय हो । तर, नेपाली खेलकुदमा भने अन्तिम समयमा आएरमात्र खेलाडी छनोटदेखि लिएर वैदेशिक प्रशिक्षणसम्मको कुरा हुने गरेको छ ।

kushal shrestha

‘हाम्रा खेल पदाधिकारीहरुसँग खेलकुद क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने लक्ष्य र उद्देश्य नै छैन । नेपाली खेलकुदमा यो विगतदेखि नै चल्दै आएको परम्परा हो,’ दिपक भन्छन्, ‘न खेलाडीहरुका लागि पर्याप्त सुविधा छ न त नियमित प्रतियोगिताहरु नै छन् । भएका सिमिति प्रतियोगिताहरु पनि असान्दर्भिक समयमा आयोजना गर्ने गरिन्छ, केवल झारो टार्ने तरिकाले । यस्तो तालले नेपाली खेलकुदको विकास सम्भव हुँदैन ।’

तालिम तथा प्रशिक्षण विभागका प्रमुख प्रचण्ड शर्मा पनि आगामी एसियाडको तयारीमा ढिलो भएको स्वीकार्छन् । ‘बजेटको अभावका कारण प्रतियोगिताको तयारीमा विलम्ब भएको हो । अब छिट्टै नै एसियाडका लागि खेलाडीको अन्तिम छनोट प्रशिक्षण सुरु हुन्छ,’ उनी भन्छन् । एसियाडमा पदक जित्ने सम्भावना बोकेका केही खेलका खेलाडीलाई बैदेशीक प्रशिक्षणमा पठाउने तयारी भइरहेको जानकारी पनि दिए ।

3_ahY0yvpcCm

राखेपका सदस्यसचिव टंकलाल घिसिङ एसियाडमा सहभागिताका लागि खेल संख्या र बजेटको विषयमा बोर्ड बैठकले निर्णय गरेर सरकारमा पठकएको बताउँछन् । उनले छिट्टै नै एसियाडका लागि खेलाडीको अन्तिम छनोट र तयारी सुरु हुने जानकारी दिए । उनले पदकको सम्भावना बोकेका खेलका खेलाडीलाई बैदेशीक प्रशिक्षणमा पठाइने पनि बताए ।

pachanda sharma

राखेपका एक खेल अधिकारी भने राखेपकै कमजोरीका कारण एसियाडको तयारीमा विलम्ब भएको दाबी गर्छन् । ‘गत असोजमा नवौं राष्ट्रिय खेलकुद सकिएको थियो । त्यसलगत्तै राखेपले कात्तिकदेखि एसियाडका लागि प्रशिक्षण सुरु गर्नुपर्ने थियो । हामीले नेतृत्वलाई सुझाव पनि दिएका थियौं,’ ती अधिकारी भन्छन्, ‘त्यतिबेलै एसियाडको प्रशिक्षण अगाडि बढाएको भए प्रशिक्षणका लागि आएको १० करोड रुपैयाँ पनि ‘फिज’ हुने थिएन ।’

ति अधिकारीका अनुसार, सरकारले पठाएको बजेट नै ‘फ्रिज’ हुने अवस्था आएपछि अब अर्को पटक त्यो शिर्षकमा घटाएर बजेट पठाउने सम्भावना बढी हुन्छ । सम्बन्धित शिर्षकमा खर्च हुन नसकेपछि अर्थ मन्त्रालयले खेलाडीको प्रशिक्षणका लागि आएको बजेट गत माघमा ‘फ्रिज’ गरेको थियो ।

एसियाली खेलकुदमा नेपाल : ७२ वर्ष २ रजत २३ कास्य

नेपालले पहिलो संस्करणदेखि नै एसियाली खेलकुदमा सहभागिता जनाउँदै आएको छ । एसियाली खेलकुदको पहिलो संस्करण सन् १९५१ मा भारतको राजधानी नयाँं दिल्लीमा आयोजना भएको थियो ।  पहिलो संस्करणमा नेपालले अफिसियलसहित ९ जनालाई सहभागी गरएको थियो । पहिलो संस्करणमा नेपालले एथलेटिक्स खेलमा मात्र खेलाडी सहभागी गराएको थियो ।

त्यसयता नेपालले एसियाली खेलकुदको हरेक सँस्करणमा सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करणमा सहभागिता जनाएको ३५ वर्षपछि आएरमात्र नेपालले एसियाली खेलकुदमा पदक जित्न सकेको थियो ।

नेपालले सन् १९८६ मा दक्षिण कोरियाको सोलमा आयोजित १०औं संस्करणमा पहिलो पटक पदक जितेको थियो । एसियाली खेलकुदको त्यो संस्करणमा नेपालले बक्सिङ र तेक्वान्दोमा गरी कुल ८ वटा कास्य पदक हात पारेको थियो ।

त्येतिबेला तेक्वान्दोमा विधान लामा, राजकुमार राई, राजकुमार वुचे र रामबहादुर घर्ती क्षेत्रीले कास्य पदक जितेका थिए । बक्सिङतर्फ भने दलबहादुर रानामगर, तुलबहादुर थापा, मनोजबहादुर श्रेष्ठ र सुशील पोखरेलले कास्य पदक जितेका थिए ।

एसियाली खेलकुदमा सहभागिताको ७२ वर्ष लामो इतिहासमा नेपाल पदक तालिकामा भने रजतभन्दा माथि उक्लन सकेको छैन । नेपालले एसियाली खेलकुदमा हालसम्म २ वटा रजत पदक जितेको छ । एसियाली खेलकुदको इतिहासमा नेपालको सबैभन्दा ठूलो उपलब्धि त्यही हो ।

सन् १९९८ मा थाइल्यान्डको बैंककमा सम्पन्न १३औं एसयाली खेलकुदमा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले पहिलो पटक नेपालका लागि रजत पदक जितेकी थिइन् । त्यसपछि सन् २०१८ मा इन्डोनेसियाको जकार्ता र पालेमबाङमा सम्पन्न १८औं एसियाली खेलकुदमा नेपालको प्याग्लाइडिङ टोलीले रजत पदक जितेको थियो । रजत पदक जित्ने नेपाली प्याराग्लाइडिङ टोलीमा विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा सहभागी थिए ।

समग्रमा नेपालले हालसम्म एसियाली खेलकुदमा २ रजत र २३ कास्य गरी २५ वटा पदकमात्र जित्न सकेको छ । नेपालले तेक्वान्दोमा १ रजत र १४ कास्य, प्याराग्लाइडिङमा १ रजत, बक्सिङमा ६ कास्य र कराँतेमा ३ कास्य पदक जितेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप