शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्च शिखर सगरमाथाको सफल आरोही नेपाल प्रहरीका कर्मचारी सम्मानित

शुक्रबार, १९ जेठ २०८०, १९ : ५०
शुक्रबार, १९ जेठ २०८०

काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी राष्ट्रिय झण्डा, नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा सगरमाथाको चुचुरोमा फहराउन सफल आरोही प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली, सहयोगी व्यक्त र सम्बद्ध संस्थालाई सम्मान गरिएको छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली, आरोहणमा सहयोगी भूमिका निर्वाह गर्ने विवश शेर्पा र एलिट हिमालयन एडभेन्चरका डाईरेक्टर मिङ्मा् डेविड शेर्पालाई दोसल्ला ओढाई सम्मानपत्र सहित सम्मान गरेका हुन् । साथै आरोही नेपालीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठलाई झण्डा तथा आरोहणका सामग्री हस्तान्तरण गरे । उक्त झण्डा प्रहरी महानिरीक्षकमार्फत इन्टरपोल हेड अफ एनसिबिको आगामी बैठकमा इन्टरपोल प्रमुखलाई हस्तान्तरण गरिने छ भने अन्य सामग्री नेपाल प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय प्रहरी संग्राहलयमा राखिने छ । 

समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकोमा हार्दिक बधाई दिँदै आगामी दिनमा पनि प्रहरी सेवामा रहेर यसै प्रकारले राष्ट्र र संगठनको गौरव स्थापना गर्ने कार्यमा सफलता प्राप्तिको लागि शुभकामना व्यक्त गरे । 

सो अवसरमा आभार सहितको मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले यस आरोहणमार्फत इन्टरपोलका सदस्य राष्ट्रहरू आपराधिक क्रियाकलापहरू विरुद्ध ऐक्यबद्ध रहेको सकारात्मक सन्देश दिन सफल भएको चर्चा गरे । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य तथा इन्टरपोल र सम्मान कार्यक्रमका बारेमा जानकारी दिएको उक्त समारोहमा वि.सं. २०३३ सालमा नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै टुकुचे हिमाल सफलतापूर्वक आरोहण गर्ने ९ सदस्यीय टोलीमध्येका अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक कमल भण्डारी र सर्वोच्च शिखर सगरमाथा आरोही प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले आरोहण गर्दाको आ-आफ्नो अनुभवसहितको मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा आरोहण सम्बन्धी वृत्तचित्र प्रस्तुत गरिएको थियो । 

सम्मान समारोहमा प्रधान सेनापति महारथी प्रभुराम शर्मा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिवहरू, पर्यटन विभागका महानिर्देशक, विभिन्न मन्त्रालय एवम् पर्यटन तथा आरोहणसँग सम्बन्धित संघ संस्थाका आमन्त्रित अतिथिहरू लगायत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप