शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
नागरिकता नहुँदाको पीडा

जन्मदर्ता र नागरिकताविहीन सेर्वा कुमारको गुनासो– हामी त देशभित्रकै अनागरिक पो पर्‍यौँ

बुधबार, २४ जेठ २०८०, ११ : २३
बुधबार, २४ जेठ २०८०

सुर्खेत । ‘नागरिकता र जन्मदर्ता नहुँदा जिन्दगीमा कति हन्डर र ठक्कर खानुपरेको छ भनेर साध्य छैन, हामी त देशभित्रकै अनागरिक पो पर्‍यौँ, हाम्रा लागि राज्य पो कहाँ छ र ?’

यो भनाइ दैलेखको दुल्लू नगरपालिका–९ धामीगाउँका २९ वर्षीय सेर्वा कुमार योगीको हो । उनलाई हिजोआज आफ्नै भाग्यप्रति गुनासो गर्न मन लाग्छ । बुबाको कुनै ठेगान नहुँदा उनी अनागरिक बनेर आफ्नो जीवन गुजारिरहेका छन् ।

सेर्वाका बुबा उनी जन्मेको केही दिनमै भारत गएका हुन् रे । बुबाबारे अहिलेसम्म सेर्वालाई कुनै पत्तो छैन । उनकी आमा शान्तादेवी योगी (६३) मामाको घरमै बस्थिन् । आमाले बिहे गरेको र मामाको घर नजिकै भएकाले सेर्वा मामाकै घरका जन्मिएका रहेछन् ।

आफ्नो बाल्यकाल पनि मामाकै घरमा आमाको छहारीमा बिताएका रहेछन् सेर्वाले । तर, जन्मेको केही दिनमै बुबा भारत गएको भन्ने खबर उनले बुझ्ने भएपछि आमाको मुखबाट थाहा पाए । तर, बुबा फर्कने र जन्मदर्ता र नागरिकता पाउने आशामा रहेका सेर्वाका लागि त्यो दिन अहिलेसम्म आएको छैन ।

जन्मेपछि बालबालिकाले सरकारी निकायबाट पाउनुपर्ने पहिलो अधिकारका रुपमा लिइन्छ, जन्मदर्ता । तर, उनले जन्मदर्ता पाउन सकेनन् । जन्मदर्ता नै पाउन नसकेका उनका लागि नागरिकता पाउने कुरै भएन ।

नागरिकताका लागि उनले गरेको संघर्ष भनेर साध्य छैन । आर्थिक अवस्था कमजोर, त्यसमा पनि समाजले लाउने अनेक लाञ्छनाले उनी सानो छँदा चिन्तित हुन्थे रे ।

‘हेर हेर बाउ बिनाको छोरो भनेर कतिले गिज्याउँथे, होच्याउँथे सानोमा,’ उनी सम्झिन्छन्, ‘मनमा निकै पीडा हुन्थ्यो तर के गर्नु ? भाग्यले नै ठगेको र राज्यबाटै अनागरिक बनाइएका हाम्रा लागि बोलिदिने, सुनिदिने पो को छ र ?’

सेर्वाले आफ्नो बुबाबारे अहिलेसम्म कुनै जानकारी नभएको बताए । बुबाका दाइभाइलाई भन्दा पनि आफूहरुलाई केही थाहा नभएको र आफ्नो सन्तान मान्न नमिल्ने तर्क सुनाउने गरेको उनी बताउँछन् ।

‘हामीलाई केही थाहा छैन, आफ्नै भाइको त ठेगान छैन, तँलाई कसरी हाम्रो सन्तान हो भनेर मान्ने भन्दै होच्याउँछन्, त्यो बेला कम्ता पिर लाग्दैन,’ मंगलबार वीरेन्द्रनगरको एरिचोकमा भेटिएका उनले निराश हुँदै भने, ‘आखिर मान्छे न हो, बुबा नहुँदा राज्यबाट मात्र होइन, समाजबाट पनि धेरै तिरस्कार खेप्नुपरेको छ ।’

२९ वर्षसम्म जन्मदर्ता र नागरिकताको प्रमाणपत्र नपाएका उनी वडादेखि प्रशासनसम्म धाउँदा–धाउँदा अहिले वाक्क–दिक्क छन् । उनले हार–गुहार नगरेको कहाँ पो होला र ! धेरैबाट आश्वासन पनि पाए तर, उनले नागरिकताको प्रमाणपत्र अझै पाउन सकेनन् ।

serba (1)

कुनै समय उनी नागरिकताका लागि जिल्ला सदरमुकामका गल्लीगल्ली पनि धाए । सदरमुकाममा रहेका धेरै कानुन व्यवसायीसँग आफ्नो पीडा सुनाए । तर, आर्थिक अवस्था कमजोर भएकाले उनले कसैलाई पत्याएनन् । ‘हामीसँग पैसा थिएन, पैसा भए त कानुन पनि किनिँदो रहेछ, हामीजस्ता सर्वहारा, त्यसमा पनि अनागरिक बनाइएकाहरुलाई कसले पो पत्याउँथ्यो र,’ उनी भन्छन्, ‘केही गरौँ भन्ने उमेरमा नागरिकता नहुँदा भविष्य नै अन्धकार बनिरहेको भान भइरहेको छ, जहाँ पनि नागरिकता खोज्छ, एक संघर्षशील युवाका लागि योभन्दा दुर्गति अरु के हुन्छ ?’

जन्मदर्ताबिना नै उनले कक्षा १२ सम्मको अध्ययन भने गर्न पाए । गाउँकै प्रेमदेवी माध्यामिक विद्यालयमा कक्षा १–८ सम्म उनले अध्ययन गरे । त्यो बेला उनको जन्मदर्ताको खासै खोजी नै भएन । त्यसपछि दुल्लूकै विजया माध्यामिक विद्यलयबाट ०६८ सालमा एसएलसी पास गरे भने कक्षा १२ सम्म त्यही विद्यालयबाट पास गरे ।

त्यो बेलासम्म नागरिकता र जन्मदर्ताबारे खासै कुरा नै उठेन रे । ‘तर, ब्याचलर पढ्न खोज्दा भने नागरिकता खोज्यो, त्यसपछि अन्धकार भविष्यको ढोका खुलेको भान भयो,’ सेर्वा सम्झिन्छन्, ‘राम्रोसँग पढाई गरी भविष्यमा सरकारी जागिरे बन्ने सपना थियो तर, जिन्दगीको यही बिन्दुमा आएर पढाई रोक्नुप¥यो ।’

उनले १२ कक्षा पास गरेको अहिले ६ वर्ष बितिसक्यो । लगनशीलतालाई केन्द्रमा राख्ने सेर्वालाई लाग्थ्यो– पढेर भविष्यमा जसरी पनि सरकारी जागिर खानुपर्छ ।

उनी विद्यार्थी राजनीतिमा पनि सक्रिय हुन चाहन्थे । तर, यही नागरिकताका कारण उनका सबै सपना चकनाचुर भए । ‘अब कसलाई पो गुनासो गर्नु र, आफ्नै भाग्यले ठगेपछि,’ उनी भाग्यलाई बेलाबेला दोष दिइरहन्छन् ।

Capture

रातोपाटीसँगको कुराकानीमा उनले आफूले विवाह गरे पनि औपचारिक रुपमा विवाह दर्ता गर्न नपाएको गुनासो पनि सुनाए । ०७७ सालमा दैलेखको ठाटीकाँध गाउँपालिका–१ की शर्मिला बुढासँग उनको विवाह भएको रहेछ । नागरिकता नहुँदा उनको अहिलेसम्म विवाह दर्ता भएको छैन ।

उनले विवाह पनि मामाकै घरमा गरेका थिए । त्यसपछि उनलाई लाग्यो, सधैँ मामाको घरमा बसेर हुँदैन, आफ्नै भविष्य खोज्नुपर्छ । उनी ०७८ असारतिर प्रदेश राजधानी सुर्खेत हानिए । श्रीमती शर्मिलालाई सँगै ल्याएर भाडामा बस्न थाले । सुरुमा गिट्टी बालुवा चाल्ने काम पनि गरे । त्यसपछि चिनेकै मान्छे भएकाले पीएमसी सरफ कम्पनी (लुगा धुने पाउडर) मा उनले रोजगारी पाए ।

तर, उनको नागरिकता नहुँदा त्यहाँ पनि समस्या हुने भयो । तलब बैंक खातामा जम्मा हुने प्रावधानका कारण उनी अर्को संकटमा परे । किनकि बैंक खाता खोल्न नागरिकता नै चाहिन्छ ।

त्यसपछि सल्लाह अनुसार नै उनको श्रीमतीले पनि त्यहीँ रोजगारी पाइन् । मासिक १९ हजार उनको तलब छ भने श्रीमतीको १५ हजार । तर, सेर्वाले आफ्नो तलब आफूले पाउँदैनन्, उनको श्रीमतीकै खातामा जान्छ ।

उनी केवल एउटा कामदार मात्र कहलिएको बताउँछन् । त्यो पनि चिनेकै मान्छे भएर सहज भएको उनको भनाइ छ । ०७९ फागुनमा शर्मिलाले छोरी जन्माइन् । तर, छोरीको नागरिकता भने शर्मिलाको नामबाट बनाइएको उनले बताए ।

केही समयअघि गृह मन्त्रालयले आमाको नामबाट जन्मदर्ता बनाउन मिल्ने भनेपछि शर्मिलाकै नागरिकताबाट छोरीले जन्मदर्ता पाएको उनले बताए । तर, त्यसका लागि पनि धेरै संघर्ष गर्नुपरेको उनको भनाइ छ  ।

न सिमकार्ड किन्न सकिन्छ, न बैँक खाता नै

Capture

नागरिकता नहुँदा मरेतुल्य जीवन जिएको जस्तो लाग्ने गरेको सेर्वा बताउँछन् । नागरिकता नहुँदा एउटा सिमकार्ड समेत किन्न नपाएको उनको गुनासो छ । उनी भन्छन्, ‘न बैंक खाता खोल्न पाइएको छ ।’

उनले केही समयअघि दैलेखमै एउटा घडेरी किने तर, उनले घडेरी आफ्नो नाममा गर्न पाएनन् । आफ्नो नागरिकता नभएका कारण श्रीमतीकै नाममा सबै काम हुने गरेको उनको भनाइ छ ।

यद्यपि उनी राज्यले देशभित्रै नागरिकलाई अनागरिक बनाउन नपाइने तर्क गर्छन् । केही दिन अघि राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि उनी अब नागरिकता पाउनेमा विश्वस्त थिए । तर, अदालतले रोकिदिएपछि उनी फेरि निराश बने ।

सेर्वा भन्छन्, ‘अहिले आमाले स्वघोषणा गर्ने, आमाको नामबाट नागरिता लिन पाइने भएपछि मलाई निकै खुसी लागेको थियो, सर्वोच्चको आदेशले भने हामीलाई पीडा भएको छ ।’

संविधानले दिएको अधिकार सर्वोच्चले रोकेको उनको बुझाइ छ । उनले भने, ‘बुबाले छोडे पनि आमाले हुकाईन्, अहिले आमालाई कपडा किन्न पनि त जागिर चाहिन्छ, अहिले आमाबाट नागरिकता दिने भनेर कानुन बने पनि सर्वोच्चले रोकेकोप्रति मेरो गुनासो छ ।’

आमाको नाममा नागरिकता दिने व्यवस्था राज्यले मिलाउनुपर्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप