मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
खडेरी

बोरिङ नहुनेहरुले बीउ राख्न सकेनन्, भएको बीउ जोगाउनै मुस्किल

सोमबार, २९ जेठ २०८०, १८ : १८
सोमबार, २९ जेठ २०८०

बारा । कलैया उपमहानगरपालिका–२ अयोधापुरका रामभजन प्रसाद यादव आइतबार मध्य गर्मीमा खेतमा धानको बीउ राख्न पम्पसेट चलाउने कोसिस गर्दै थिए । तर, दिनभर कोसिस गर्दा पनि विद्युत् भोल्टेज नपुगेपछि पम्पसेट चल्न सकेन । 

गतवर्ष यतिबेला खेतमा धानको बीउ लहलह भएर रोपाइँको तयारी सुरु भइसक्थ्यो तर यसपटक यादवले जेठ अन्तिम सातासम्म पनि बीउसम्म राख्न पाएका छैनन् । लगातारको खडेरीले पम्पसेट पनि नचलेपछि बीउ राख्न समस्या भएको हो ।  

किसान यादवले सरकारले किसानहरुका लागि विद्युत् भोल्टेजको व्यवस्था गर्न आग्रह गर्छन् । खडेरीका कारण पहिलो पटक राखेको बीउ किसानहरुले दोस्रो, तेस्रो पटकसम्म राखेका छन् ।

पछिल्लो समय पानीको सतह घटेपछि जिल्लामा भएका साना सिँचाइका पम्पसेटबाट पानी आउन छाडेको छ भने जिल्लाको दक्षिणतर्फ विद्युत् भोल्टेज कम भएका कारण पम्मसेट चलेका छैनन् । 

k111

जीतपुर सिमरा–१२ फत्तेपुरका कृषक ब्रह्मदेव चौधरी पनि अरूको १० कट्टा खेत बटैया गर्दछन् । बटैया बापत चौधरीले जग्गाधनीलाई पैसा या धान दिनुपर्छ । यसपटक बटैया कसरी तिर्ने भन्ने उनको चिन्ता छ । 

एकसाता अघि राखेको सोना सारा जातको धानको बीउ जोगाउन उनी दिनको २ पटक बोरिङ चलाएर बीउमा पानी लगाउँछन् । ‘यसपाली बीउजोगाउनै मुस्किल छ, खेती कसरी गर्ने?’ चौधरीले भने,‘बोरिङ नहुनेहरुले बीउ राखेका छैनन् ।’

बारा फत्तेपुरका अर्का किसान नागेन्द्र चौधरी भन्छन्, ‘११ दिनअघि पहिलो पटक राखेको बीउ नउम्रिएपछि  हिजो फेरि राखें । खडेरीका कारण धेरैको बीउ खेतमै मरेको छ ।’

बारा जिल्लामा उत्तरी भेगको तुलनामा दक्षिणतर्फ खडेरी समस्या अझ विकराल छ । दक्षिणतर्फ ५० औं वर्ष पुराना धारा, ईनार, पम्पसेट, बोरिङसुकेका छन् ।

प्रादेशिक अस्पताल कलैयामा करिब ३ सय फिट गहिराएका २ दशक पुराना आधा दर्जन खानेपानीका इनार पहिलो पटक सुकेको जिल्ला जनस्वास्थ्य प्रमुख रामनरेश यादवले जनाएका छन् । 

साथै, भारतसँग सीमा जोडिएका दक्षिणी भेगमा ७ सय फिटसम्म गहिराइमा रहेका पम्पसेट पहिलो पटक सुकेको स्थानीयको भनाई छ ।

उत्पादन लागत बढ्ने

कृषि ज्ञान केन्द्र कलैया बाराका प्रमुख जितेन्द्र यादवले लगातारको खडेरीले यो वर्ष धान उत्पादन घट्ने र किसानको लागत पनि बढ्ने बताउँछन् ।

उनका अनुसार सिँचाइ कार्यालयले आफ्नो तथ्याङ्कमा शतप्रतिशत सिँचाइको व्यवस्थाछ भन्छ । तर,कृषि ज्ञान केन्द्रको तथ्याङ्कले साना पम्पसेट, बोरिङकोे माध्यम लगायतबाट करिब ६० प्रतिशत कृषियोग्य भूभागमा मात्र सिँचाई भएको देखाउँछ ।

बारामा ६९ हजार हेक्टर खेतीयोग्य जमिन रहेको छ, जसमध्ये  ५८ हजार हेक्टरमा धान खेती हुने गर्दछ । जिल्ला कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार बारामा प्रतिहेक्टर सरदर ४ टनको दरले २ लाख ३२ हजार मेट्रिकटन वार्षिक धान उत्पादन हुने गर्दछ । 

k6

२५ प्रतिशत भूभागमा मात्रै सिँचाइको व्यवस्था

जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कलैयाका डिभिजन प्रमुख रामकुमार खंगले बारामा कुल भूभागको २५ प्रतिशतमा मात्रै सिँचाइको व्यवस्था रहेको रहेको बताए ।

जलश्रोत डिभिजन कार्यालयले ७ देखि ८ हजार हेक्टर भूभागमा मात्रै सिँचाइ व्यवस्था रहेको जनाएको छ । 

यता जेठको अन्तिम सातासम्म गण्डक नहरमा पानी छोडिएको छैन । ‘पर्याप्त मात्रामा पानी नभएकाले अहिले हाम्रो सिस्टमले पनि एक चौथाइ मात्रै सिँचाइ गरिरहेको छ,’ प्रमुख खंगले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप