शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
खडेरी

खडेरीको उत्पात : सुत्ला च्यापेको मकै बोटमै सुक्यो, धानको बिउ ब्याडमै डढ्यो

सोमबार, २९ जेठ २०८०, १२ : २८
सोमबार, २९ जेठ २०८०

मकवानपुर । केही दिन यता लगातार बढेको तापक्रमका कारण देशभरको जनजीवन प्रभावित भएको छ । त्यसमा पनि किसानहरु खडेरीका कारण चिन्तित भएका छन् । मकवानपुरमा पनि खडेरीका कारण बाली सुक्न थालेपछि किसान चिन्तामा परेका छन् । खेतमा लगाएको मकै र बर्खे धानका साथै असारे धानका लागि राखिएको बिउ खडेरीले डढ्न थालेको छ ।

सुत्ला च्याप्दै गरेको मकै खेती र धान सुक्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । मकवानपुरको बागमती, बकैया, हटिया, मनहरीको हाँडीखोला, पदमपोखरी लगायतका क्षेत्रमा किसानले लगाएको मकै तथा धान खेती सुक्न थालेका छन् ।

कुलो तथा नहर नभएका र आकाशे पानीको भर पर्नुपर्ने स्थानका बाली खडेरीको मारमा परेका हुन् । मकवानपुरको मनहरी गाउँपालिकाको हाँडीखोला क्षेत्र बेमौसमी तरकारी खेतीका लागि राम्रो क्षेत्र मानिन्छ । तर यसपटक लामो समयदेखि पानी नपर्दा यहाँका किसानले लगाएको तरकारी बाली बारीमै सुक्न थालेका छन् ।

हाँडीखोला निवासी तरकारी किसान राधिका बर्तौलाले पानी नपर्दा बारीको तरकारी सुक्ने अवस्थामा पुगेको बताइन् । धाराको पानी र बोकेर हालेको पानीले कहिलेसम्म तरकारी जोगाउने भन्ने समस्या रहेको उनको गुनासो छ ।

‘केही उपाय नलागेपछि धारामा आउने पानी पनि तरकारी बारीमा लगाउने गरोका छौं । तर यसैगरी केही दिन पानी नपर्ने र घाम चर्किरह्यो भने तरकारी जोगाउन सकिँदैन,’ उनले भनिन् ।

हाडीखोला क्षेत्रमा लगाइएको मकै र धान समेत बारीमै सुकेको छ ।  ‘आकाशे पानीको भरमा हुने खेती र पाखो बारीमा लगाइएको मकै, धानजस्ता बाली चर्को घामका कारण सुक्न थालेको छ । कतैबाट पानीको जोहो गर्न सक्ने अवस्था पनि छैन,’ हाँडीखोलाका प्रदिप अधिकारीले सुनाए ।

यता मकवानपुरको हटियाका त्रिविक्रम रुपाखेतीले पनि पानी नपर्दा खेतमा लगाएको तरकारी बाली र धानको ब्याड सुकेको बताए । ‘पानी नपर्दा समस्या भएको छ । खेतमा लगाएको तरकारी बाली र धानको ब्याड सुक्न थालेको छ । इनारको पानी मोटरले तानेर सिँचाइ गरिहेका छौं । त्यो पर्याप्त होइन,’ उनले भने ।

मनहरी गाउँपालिका १ का गणेश बर्तौलाको बारीमा लगाइएको तरकारी सुकेर नोक्सान भएको छ भने खेतमा लगाएको धान पनि सुकेर करिब करिब नष्ट भएको छ । खडेरीका कारण तरकारी र धान खेती सुकेपछि उनी निकै तनावमा छन् । ‘अझै केही दिन पानी परेन भने धेरै किसानको बिचल्ली हुने निश्चित छ,’ बर्तौलाले भने ।

बागमती प्रदेशको कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेलले लगातार बढेको तापक्रमले प्रदेशका विभिन्न जिल्लामा किसानले लगाएको बाली सुक्न थालेको भन्ने सुनेको बताए । उनले यस विषयमा सम्बन्धित जिल्लाहरुबाट रिपोर्टिङ भएपछि मात्रै आधिकारिक धारणा भन्न सकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप