शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
चे ग्वेभाराको ९५औँ जन्मजयन्ती

चे ग्वेभारा : फिडेलका ‘कमरेड इन् आर्म्स’

बुधबार, ३१ जेठ २०८०, ११ : ३४
बुधबार, ३१ जेठ २०८०

तिनताक नेपालको साथै विश्व राजनीति तातेको थियो । मुलुकका मूल राजनीतिक दलहरू आमचुनावविरुद्ध राजा महेन्द्रका अनवरत चलखेललाई भद्र अवज्ञा आन्दोलनद्वारा माथ दिँदै पहिलो आम चुनावको साक्षात्कार गर्दै थिए ।  

अर्काेतिर, एकअर्काविरुद्ध घनघोर चुनाव प्रचारमा पनि डुबेका थिए । तिनैताका तिब्बती धर्मगुरु दलाई लामा ठूलो दलबलसहित हिमालय पार गरेर नेपाल र भारतीय भूमिमा निर्वासनका लागि पसिरहेका थिए । उता दक्षिण अफ्रिकाको अमानवीय गोरा नस्लवादी शासनविरुद्ध उत्तिकै आइकनिक योद्धा अधिवक्ता नेल्सन मन्डेलाको नेतृत्वमा शान्तिपूर्ण संग्र्राम चलिरहेको थियो । 

त्यसैबीच सोभियत रुसका मतान्तरवादी साहित्यकार बोरिस पास्टरनाकलाई उनको ‘डक्टर जिभागो’ नामक कृतिबापत साहित्य कामदारका लागि ‘नोबेल प्राइज’ दिइँदाको समर्थन र विरोधका शब्द अखबारका पानामा छाइरहन्थे, तर प्रधानता क्यारिबियन क्षेत्रको क्युबा नामको देशमा अमेरिकी साम्राज्यवादको पिट्ठु शासकका विरुद्ध युवा अधिवक्ता फिडेल क्यास्ट्रोको नेतृत्वमा सशस्त्र सङ्घर्षले व्यापक रूप लिइरहेको समाचारले स्थान पाइरहेको थियो । 

पछिका सुप्रसिद्ध पत्रकार ह्यारिसन सेलिसबरी (मलाई सम्झना भए अनुसार)ले ती घटनाको प्रत्येक विवरण, जोसेफ स्टालिनले कुनै एक प्रकरणमा आफ्ना कार्यकर्तालाई भनेको भनी आफूले पढेको आधारमा, अमेरिकी कुशलताअनुसार तर रोमाञ्चक तरिकाले न्युयोर्क टाइम्समा दिन्थे । यिनी तिनताक न्युयोर्क टाइम्सका विशेष संवाददाता थिए ।

दलाई लामा र पास्तरनाक प्रसङ्ग कम्युनिस्ट शासनमा ‘धर्म, जातीय विशिष्टता तथा लेखन स्वतन्त्रता’को ‘दमनका ज्वलन्त उदाहरण’ भनेर नेपाली काङ्ग्रेस नेतृत्व र त्यसको सनसनिदार प्रवक्ता ‘कल्पना’ दैनिक नेपाल कम्युनिस्ट पार्टीमाथि निन्दा–लाञ्छना बर्साउँथ्यो, आफ्नो तर्फबाट नेकपा मुखपत्र ‘नवयुग’ सक्दो प्रतिवाद गर्न चुक्दैनथ्यो । संक्षेपमा भन्दा, यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा घनघोर शीतयुद्धको कालखण्ड थियो, कदाचित शीतले रापतापकै रूप लिनेजस्तो । 

फिडेलका ‘कमरेड इन् आर्म्स’ 

चुनावको तयारी र प्रचार, प्याफलस्थित पार्टी हेडक्वाटर्समा पार्टी तथा ‘नवयुग’ सञ्चालनकार्यबीच म प्रत्येक दिन नयाँ सडकको झन्डै आमनेसामने रहेका अमेरिकन लाइबे्ररी अथवा बिट्रिस लाइब्रेरीमा विश्व घटनाक्रमसित परिचित हुन पुग्थेँ, अनि त्यहाँ पढिने अखबारमा फिडेल सँगसँगै चे ग्वेभाराको चर्चा पाइन्थ्यो । फिडेलका ‘सेकेन्ड फिडेल’ भनेर यी क्युबाली होइनन्, अर्जेटाइनी जातिका कम्युनिस्ट डाक्टर हुन् भन्ने जनाउँदै चेको परिचय दिइन्थो । अर्थात्, यो सङ्घर्ष मस्कोको उक्साईमा क्युबा बाहिरका कम्युनिस्टले चलाएका हुन् भन्ने देखाउन हुनुपर्छ ।

हो, चे पक्का अर्जेन्टाइनी कम्युनिस्ट थिए । भारतीय कम्युनिस्ट पार्टी प्रकाशन र तिनताका ‘कमिनफर्म’को मुखपत्र ‘फर अ लास्टिङ पिस, फर अ पिपल्स डेमोक्रेसी’मा त्यस सङ्घर्षबारेका टीका–टिप्पणीमा क्युबाली कम्युनिस्ट पार्टीले मौखिक समर्थन मात्र दिएर सङ्घर्षबाट आफू अलग्गै रहेको बुझिन्थ्यो । 

क्रान्तिका नेता फिडेल क्यास्ट्रोले क्युबाली कम्युनिस्ट पार्टीसँग सहायताको आह्वान गर्दा पनि त्यसले सशस्त्र सङ्घर्षको समय ‘परिपक्व नभएको’ ठानेर त्यसलाई ‘निम्न पुँजीवादी युवकोचित उत्साह’ मात्र ठह¥याएको थियो । 

पछिको घटनाक्रमले चे त प्रधान सेनापति एवं नेता फिडेलकै आत्मस्वरूप ‘कमरेड इन् आम्र्स’ (सङ्घर्षमा दौँतरी) परम मित्र एवं सल्लाहकार भएको पुष्टि ग¥यो । यता क्युबाली कम्युनिस्ट पार्टीले आफैँलाई आफ्नो जडसूत्रवादबाट मुक्त गरी क्रान्तिको निःसर्त समर्थन, अनुमोदन गर्दै फिडेललाई पार्टी नेतृत्व हस्तान्तरण ग¥यो । उदारमना क्रान्तिकारी फिडेलले मित्रशक्तिलाई कमरेड बनाउन कुनै कसर बाँकी राखेनन् । यी सबै उदात्ततामा चेको असाधारण योगदान अवर्णनीय नै भएको स्वतः सिद्ध छ ।

क्युबाली क्रान्तिले क्युबाका जनतालाई आधुनिक दासत्वबाट मुक्ति, राजनीतिक स्वतन्त्रता प्रदान गरी राष्ट्रिय स्वाभिमानको पुनर्स्थापन विजयमाला पहिराइदियो । क्रान्तिकारी नयाँ व्यवस्थाले आफ्नो आभारस्वरूप चेलाई फिडेल सँगसँगैको मान–सम्मान दियो, साथै राष्ट्रिय अर्थतन्त्रको जीर्णाेद्धार गर्न–गराउन उद्योगमन्त्री एवं राष्ट्र बैंकका गभर्नरको गहन जिम्मेदारी पनि सुम्प्यो ।

चिकित्सा विज्ञानका डाक्टर राष्ट्रिय आर्थिक दुरवस्थाको शल्यक्रिया तथा त्यसपछिको अत्यावश्यक उपचारमा जुटिहाले । जनतालाई शब्दको सही अर्थमा सुसूचित गर्ने ध्येयबाट राजधानी नगर हभानाको सुविख्यात क्रान्तिकारी चोकबाट र देशका कुनाकाप्चाबाट फिडेल र चेका गगनभेदी आवाज गुञ्जिन थाले — अमेरिकी साम्राज्यवादका नयाँ अनिष्टकारी चलखेल र हस्तक्षेपका विरुद्ध । किनभने ‘उदारवादी’ भनिने राष्ट्रपति जोन केनेडी आफ्नै पूर्ववर्ती सैन्यवादी जर्नेल आईजनहावरले नै नामकरण गरेका युनाइटेड स्टेटस् मिलिटरी इन्डस्ट्रियल कम्प्लेक्सको तिकडमा परेर ‘बाय’ या ‘पिग्स’को दुस्साहसिक आक्रमणको तयारीमा लागिसकेका थिए । 

यहाँ के पनि स्मरणीय छ भने, त्यही कम्प्लेक्स अमेरिकाको अदृश्य परन्तु वास्तविक सरकार हो । त्यसकै योजनामा बैङ्किङ सम्राट रोथ्सचाइल्डको मिलेमतोमा भएको केनेडीको हत्याको रहस्य धेरैअघि उदांग भएको छ, अमेरिकामै ।

क्युबाली क्रान्तिले क्युबाका जनतालाई आधुनिक दासत्वबाट मुक्ति, राजनीतिक स्वतन्त्रता प्रदान गरी राष्ट्रिय स्वाभिमानको पुनर्स्थापनाको विजयमाला पहिराइदियो । क्रान्तिकारी नयाँ व्यवस्थाले आफ्नो आभारस्वरूप चेलाई फिडेल सँगसँगैको मान–सम्मान दियो ।

चेको कार्यकालमा पार्टी कार्यकर्ताको कतै कुनै हालिमुहाली भएन । तानाशाह बाटिस्टाले आफ्नो शासनकालमा लुटेको धनसम्पत्ति हामीले त्यति महिनामै लुटेर ऐश्वर्यभोग गर्नुपर्छ भन्ने संस्कार क्युबामा न जन्मियो न त पलायो नै, जुन अपराध हामीकहाँ पुनस्र्थापित प्रजातन्त्रवादी वा वामपन्थी ऐश्वर्य भोगको प्रवृत्तिले ल्यायो र जसलाई चरम विकृत रूपमा वर्तमान ‘लोकतन्त्रवाद’ तथा ‘गणतन्त्रवाद’ले पु¥याइरहेको छ — नयाँ ताबेदार मठाधिशीय नयाँ वर्गको स्वरूप ।

सच्चा अन्तर्राष्ट्रियतावादी चेले एकाएक एक दिन आफ्नो क्युबाली दायित्व फिडेलको शोकसन्तप्त मञ्जुरी त भए, तर उनलाई र समस्त क्युबाली जनतालाई रुवाएर कुनै अज्ञात देशमा अमेरिकाली साम्राज्यवादका विरुद्ध आफ्नो अन्तर्राष्ट्रियतावादी दायित्व निर्वाह गर्न जाने समाचार आयो । संसारभरि अड्कल–अनुमानको बजार तात्यो । युएसएमआइसी यस खबरबाट अचम्भित तर चनाखो भएको पुष्टि हुन धेरै समय लागेन । चे बोलेभियाको जङ्गल पसेको खबर पनि प्रकाशमा आउन बेर लागेन । 

सबभन्दा अचम्म त चेको व्यक्तित्व र राजनीतिक दिशालाई लिएर चीनको तत्कालीन पार्टी नेतृत्व र उसको ‘सोभियत संशोधनवादविरोधी’ विश्व शिविरमा आबद्ध अति ‘वामपन्थी’ समूहले बहस चलायो । अमेरिकी साम्राज्यवाद आफ्नो नृशंस अभियानमा चुपचाप जुटिहाल्यो । ऊ चेविरुद्ध विभिन्न ल्याटिन अमेरिकी देशहरूमा खोटो राष्ट्रिय मुक्ति मोर्चा गठन गर्दै गयो, जुन कुराको पुष्टि अमेरिकाको दानवी गुप्तचर संस्था सिआइए आफैँले केही वर्षअघि गरेको खुलासा सिएनएन टिभीले गरेको स्मरणीय छ ।

सबभन्दा पहिला त चेलाई एन्टी सोभियत भनेर बदनाम गर्न थालियो, अर्थात् आफ्ना जनताको सौर्यमा विश्वस्त हुँदै विविध क्षेत्रमा सोभियत संघको अमूल्य सहयोग प्राप्त गर्दै आइरहेकोे फिडेल नेतृत्वप्रति अविश्वासको बिउ रोपियो । यसको लाभ पूरै साम्राज्यवादी सत्ता र तिनका भरौटेले उठाए ।

यथार्थमा चे न फिडेलको नीति वा नेतृत्वप्रति विमति राख्थे, न उनी सोभियतविरोधी थिए । उनी त सोभियत संघको मित्रताको अर्थ एवं महत्त्व फिडेल जति नै जान्दथे, जुन कुरा उनले आफ्नो सोभियत संघ भ्रमणकालमा मस्को विश्वविद्यालयमा आयोजित दीक्षान्त समारोहमा दिएको भाषणबाटै स्पष्ट हुन्थ्यो, जुन मैले तिनताकाको मस्को न्युज पत्रिकामा पढेको थिएँ  । 

मलाई अहिले चेको जीवनी लेख्ने एकजना सोभियत पत्रकारको सम्झना भइरहेछ, जसले यथार्थमा चेको सही जीवन वृत्तान्त लिपिबद्ध गरेका थिए । त्यो बेजोड रचनाका सर्जकको नाम मलाई सम्झना छैन, त्यो पुस्तक मैले कसलाई पढ्न दिएँ, त्यो पनि बिर्सें ।

मलाई सन् २००४ को सेप्टेम्बरमा बेलायतको कोभेन्ट्री विश्वविद्यालय हेर्न जाँदाको घटनाको सम्झना भइरहेछ, जसलाई हेर्न त्यहीँ पढ्ने मेरो नाति सौरभले मलाई एक दिनभरि लगेको थियो ।

विश्वविद्यालय घुमेर बाहिर निस्कँदा एउटा दुईतले घरको बाहिरी भागभरि चेको विशाल चित्र मैले देखेँ ! पत्याइनसक्नुजस्तो त्यो दृश्य देख्दा म निस्तब्ध भएर टक्क उभिएँ ।

ओहो, को होला त्यो बहादुर बेलायती नागरिक भनेर म मनमनै गमिरहेकै बेला सौरभले भन्योः ‘ऊ त्यो मानिस तपाईंको रिभोलुसनरी हिरो होइन ?’ 

‘कसरी चिनिस्, बाबु तैँले ?’  मैले प्रतिप्रश्न गरेँ । उसले थप्यो, ‘तपाईंको पोलिटिकल ब्याकराउन्ड थाहा पाएर, क्या ! अनि मैले लन्डनको पिकाडिली स्ट्रिटमा उसको तस्बिर बोकेर मानिसले मार्च गरेको देखेको छु । ऊ मलाई  एक्स्ट्रा अर्डिनरी पर्सोनालिटी लाग्यो ।’ यो मेरो नातिको पोलिटिकल बुझाइ थियो । जेहोस्, यतिबाट पनि हाम्रो तेस्रो पुस्तासम्मको आदरसम्मान सूचक थियो, त्यो उद्गार ।

‘रिमेम्बर यु आर किलिङ अ म्यान’ चेले आफूलाई गोली हानेर मार्न लागेको जल्लादलाई चेतावनी दिँदै इतिहासलाई नै चेत दिएका थिए । वास्तवमा त्यो म्यान साधारण नभएर म्याक्सिम गोर्कीका शब्दलाई उद्धृत गर्दाका म्यान थिए ।

साम्राज्यवादको मानवसित कुनै सम्बन्ध वा साइनो के हुनसक्छ र ! त्यसले चेको शारीरिक हत्या गर्न–गराउन नपुगेर उनको यशस्वी जीवन र कर्मलाई एकातिर तथ्य–विकृति (गलत सूचना वा दुष्प्रचार) आदि माध्यमको सहाराले अनगिन्ती प्रकाशनद्वारा उनको बौद्धिक हत्या गरिरह्यो । अर्काेतिर त्यसले राजनीतिक बदला लिन भाडाका वा खोटा ‘मुक्ति मोर्चाहरू’ खडा गरेर जनतालाई दिग्भ्रमित गर्ने चेष्टा पनि छाडेको छैन । किन होला ? किनभने साम्राज्यवाद सत्यसित थर्कमान हुन्छ र चे एक शाश्वत राजनीतिक निष्ठाका सत्यस्वरूप हुन्, जुन तथ्य कदाचित कतिपय मित्र शक्तिहरू पनि बुझ्दैनन् । त्यसैले तिनीहरू अन्तर्वस्तुलाई पन्छाएर सतही कुरालाई प्राथमिकता दिन्छन् । 

यहाँ मलाई मेरा सद्गुरुदेव स्वामी सत्यदेवका ‘गुरु’ शब्दको सम्झना भइरहेछ — चे शब्दले ठूलो यश एवं अपयश पाएको छ । जति विकृति यस नामबाट गरिए र गरिन्छन् ती पनि सर्वविदित छन् । तथापि यो शब्द त्यति नै पावन एवं उज्ज्वल छ, जति कि बिहानीपखको सूर्य ।

अन्त्यमा, १९औँ शताब्दीले वैज्ञानिक समाजवादी चिन्तक दार्शनिक कार्ल माक्र्स र फेडरिक एङ्गेल्स जस्ता विशेषणातीत गुरुरूपी आइकन पाएको थियो । अनि २०औँ शताब्दीले समग्रमा विश्व कम्युनिस्ट आन्दोलन एवं साम्राज्यवादविरोधी राष्ट्रिय मुक्ति आन्दोलनको परिवेशमा भ्लादिमिर इलिच लेनिन, रोजा लक्जेम्बर्ग, हो ची मिन्ह, फिडेल क्यास्ट्रो, अर्नेस्ट चे ग्वेभारा, प्याट्रिक लुमुम्बा, सल्भाडोर अलेन्डे, नेल्सन मन्डेला र विशुद्ध रुपमा नागरिक मानव अधिकार आन्दोलनको हकमा मार्टिन लुथर किङजस्ता विशिष्ट आइकनहरूका जीवन तथा कर्मको दर्शन गरायो । 

यस बीचमा अरु कतिपय त्यस्ता प्रतिभा देखा नपरेका होइनन्, तर तिनीहरू आ–आफ्नो पछिल्लो कर्महरूका कारण ओइलाएको पनि सर्वविदितै छ । तथापि यहाँ अमेरिकी सिआइए सञ्चालित राज्यीय आङ्कवादका तारो भई हत्या गरिएका र सल्भाडोर अलेन्डे जस्ता आइकनहरू बाहेक एकजना बेग्लै खालका आइकनको उल्लेख हुन छुटेमा यो प्रस्तुति सङ्कीर्ण वा जडसूत्रवादी ठहर्न सक्नेछ । 

फासिस्ट भारतीय हिन्दू फन्डामेन्टाालिस्ट संगठन आरएसएसको एक आततायीबाट नृशंसतापूर्वक हत्या गरिएका अहिंसा आचार संहिताका मूर्धन्य अभियन्ता महात्मा गान्धीको पनि उल्लेख हुनु सर्वथा उचित ठहर्नेछ, जो प्रार्थना सभामा जाँदाजाँदै  ‘हिन्दु’ आतंककारीको गोलीबाट मारिएका थिए ।

आजलाई यिनै शब्द सुमनद्वारा चे ग्वेभाराको जन्मजयन्तीको उपलक्ष्यमा क्रान्तिकारी अभिवादन ! 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अरविन्द रिमाल
अरविन्द रिमाल
लेखकबाट थप