सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

साउन १ गतेदेखि वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा

शनिबार, २३ असार २०८०, २३ : ०७
शनिबार, २३ असार २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको सबैभन्दा ठूलो सरकारी वीर अस्पतालमा आगामी साउन १ गतेदेखि ओपिडी सेवा बिहान ८  बजेदेखि उपलब्ध हुने बताएका छन् । सेवामूलक गैरसरकारी संस्था विजेन नेपाल नवौँ वर्षमा प्रवेश गरेको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले आगामी दुई साताभित्र मुलुकका सबै सङ्घीय अस्पतालका सबै शय्या पनि निःशुल्क बनाइने जानकारी दिए ।

मन्त्री बस्नेतले भने, “आगामी साउन १ गतेबाट वीर अस्पतालबाट यो सेवा लागू गर्छौ । अस्पताल समयमा पनि चिकित्सक नभेटिने समस्यालाई यसले केही हदसम्म निरुत्साहन गर्नेछ । चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि काम गर्ने वातावरण बनाउन पनि मन्त्रालय दृढ छ ।”

मेडिकल कलेज सञ्चालनको स्वीकृति लिने बेलामा १० प्रतिशत शय्या निःशुल्क हुनुपर्छ भन्ने सम्झौता हुने गरेको र त्यसको कार्यान्वयनमा कडाइ गरिएको बताउँदै उनले यसबाट हजारौं सङ्ख्यामा लक्षित समुदायलाई उपचारमा लाभ मिलेको उनले बताए । 

जनतालाई निःशुल्क र प्रभावकारी उपचार गराउन र त्यससम्बन्धी अनुभूति दिलाउन आफू लागिपरेको बताउँदै मन्त्री बस्नेतले उपचार सेवालाई सहज, सरल र सुलभ तुल्याउन अनलाइनका माध्यमबाट टिकट लिने व्यवस्था गर्न लागिएको उल्लेख गरे ।

उनले भने, “संविधानमा स्वास्थ्योपचारलाई मौलिक हकका रूपमा उल्लेख गरेको छ । व्यवहारमा त्यो छैन, अहिले पनि धेरै मानिसलाई अस्पताल पुग्न चुनौती छ, उपचार महँगो छ, औषधि पाइन्न । पाए पनि किन्न सकिन्न । पैसा नभएर उपचार नगरी घर फर्कनुपर्ने बाध्यता पनि छ ।”

नशा र जोर्नीसम्बन्धी उपचारमा थेरापी पद्धतिलाई गाउँ–गाउँमा पुर्याए औषधि नै प्रयोग गर्नपर्ने अवस्था भए विजेन नेपाल धेरैको भाग्यविधाता बन्न सक्ने बताउँदै उनले प्रत्येक व्यक्तिलाई स्वस्थ्य हुन एकघन्टा शारीरिक व्यायाम गर्न सुझाव दिए ।

संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठले करिब तीन सय कर्मचारीको सहायतामा संस्कार र मुस्कानसहित दैनिक १२ हजारभन्दा बढी बिरामीलाई थेरापीका माध्यमबाट उपचार प्रदान गरिरहेको जानकारी दिए । ‘पैसा होइन, मानवता प्राथमिकता’ भन्ने नाराका साथ संस्थाले काम गरिरहेको बताउँदै उनले यो पद्धतिले समाजलाई अनुशासन, सभ्यता र संस्कार पनि सिकाइरहेको उल्लेख गरे ।

संस्थाका कार्यकारी निर्देशक ज्ञानु लामिछानेले कोरियाबाट सुरु भई अमेरिका, चीन र भियतनाममा समेत ख्याति कमाएको वैकल्पिक उपचार पद्धतिका रूपमा रहेको निःशुल्क कोरियन थर्मल थेरापी पद्धतिले स्वास्थ्य क्षेत्रमा जनचेतना अभिवृद्धिका हिसाबले अब्बल सावित भएको बताए ।

मुलुकमा स्वास्थ्योपचार महँगो भइरहेका बेला बहुउपयोगी पद्धति र उपकरणमार्फत मुलुकका ५८ केन्द्रबाट सेवा प्रवाह भइरहेको सो अवसरमा जानकारी दिइयो । उक्त थर्मल थेरापी पद्धति खासगरी नशा र हाडजोर्नीका बिरामीलाई निकै लाभदायी ठहरिएको संस्थाको दाबी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप