आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रोटिन सप्लिमेन्टले लियो १६ वर्षे किशोर ज्यान : शरीरका लागि यो कति फाइदाजनक कति हानिकारक

सोमबार, २५ असार २०८०, १२ : ०५
सोमबार, २५ असार २०८०

प्रोटिन शेक पिएका कारण बेलायतमा एक भारतीय मूलका किशोरको मृत्यु भएको छ । उनको मृत्युको कारणलाई लिएर नयाँ बहस निम्त्याएको छ ।

धेरैले प्रोटिन सप्लिमेन्ट लेबलमा यस्ता खालका चेतावनी लेखिनु पर्छ कि पर्दैन भनेर प्रश्न पनि उठाइरहेका छन् ।  

वास्तवमा लन्डनमा बस्ने १६ वर्षका रोहनको स्वास्थ्य सन् २०२० अगस्ट १५ मा अचानक बिग्रियो र त्यसको तीन दिन पछि उनको अस्पतालमा मृत्यु भयो ।

करिब पौने तीन वर्षसम्म चलेको गहन अनुसन्धानपछि अनुसन्धानकर्ताले रोहनको मृत्यु उनको बुवाले तौल बढाउनका लागि दिएको प्रोटिन शेकका कारण भएको भनेर निष्कर्ष निकाले ।

अनुसन्धानकर्ताका अनुसार रोहनलाई अर्निथिन ट्रान्सकार्बामिलेज (ओटीसी) डिफिसियन्सी नामको एक आनुवंशिक समस्या थियो जसका कारण प्रोटिन शेक लिएपछि उनको शरीरमा एमोनिया घातक स्तरमा पुगेको थियो ।

अनुसन्धानकर्ताले प्रोटिन सप्लिमेन्टको लेबलमा यस्तो चेतावनी छाप्नुपर्ने धारणा अदालतसमक्ष राखे ।

‘ओसीटी डिफिसियन्सी साधारण समस्या होइन तर यो समस्या हुनेहरूका लागि अतिरिक्त प्रोटिन लिनु खतरनाक हुनसक्छ,’ अनुसन्धानकर्ताले भने ।

यो खबरपछि बेलायतमा मात्रै होइन, विश्व भरी प्रोटिन सप्लिमेन्ट्सका लागि चिन्ता व्यक्त गरिएको छ र प्रोटिन सप्लिमेन्टको लेबलमा यस्तो खालको चेतावनी हुनुपर्ने माग गरिएको छ । युवा, विशेषगरी जिम जानेहरूमा प्रोटिन शेक निकै लोकप्रिय छ ।

protein supplementप्रोटिन किन चाहिन्छ ?

प्रोटिन शरीरका लागि आवश्यक तत्त्व हो । मांसपेशी बनाउन र यसको मर्मतमा यसको महत्त्वपूर्ण भूमिका हुन्छ ।

प्रोटिनले हड्डी र रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ र मुटु, मस्तिष्क र छालालाई स्वस्थ राख्छ । 

मानिसका लागि तौलको हिसाबले दैनिक ०.८ देखि १ ग्राम प्रति किलो प्रोटिन आवश्यकता छ र खानाको एक चौथाइ हिस्सा प्रोटिन हुनुपर्छ ।

यो शरीरका लागि आवश्यक प्रोटिनको मानक हो । उमेर, स्वास्थ्य शारीरिक श्रम र व्यायामको स्तरको आधारमा हरेकको प्रोटिनको आवश्यकता भिन्न हुन्छ तर धेरैलाई सही मात्राबारे थाहा नै हुँदैन ।

अण्डा, दूध, दही, माछा, दाल, मासु, सोया इत्यादि प्रोटिनले भरपुर हुन्छन् र सम्पन्न देशका धेरैजसो युवाले आवश्यक मात्रा आफ्नो खानाबाट नै पाउँछन् । 

डाइटबाट नपाइने प्रोटिनको कमी पूरा गर्नका लागि प्रोटिन सप्लिमेन्ट्स प्रयोग गरिन्छ ।

धेरैजसो प्रोटिन सप्लिमेन्ट्स पाउडरको रूपमा उपलब्ध हुन्छन् जसलाई मुख्यतः शेक बनाएर खाइन्छ ।

प्रोटिन पाउडर विभिन्न स्रोतबाट लिएको प्रोटिन पाउडर हो । यो प्रोटिन पाउडर, आलु, सोयाबिन, चामल र मटरजस्ता बोटबिरुवाबाट लिइन्छ । 

प्रोटिन सप्लिमेन्ट लिनु कत्तिको खतरनाक ?

भारतको हिमाचल प्रदेशको कांगडास्थित डाक्टर राजेन्द्र प्रसाद मेडिकल कलेजमा कार्यरत डाक्टर समीर जम्वाल जीव रसायन विभागमा एमडी हुन् । उनी भन्छन्, ‘यदि तपाईं ५० किलोको हुनुहुन्छ भने दैनिक ५० ग्राम प्रोटिन लिनु कुनै समस्या छैन ।’

उनका अनुसार शरीरले प्रोटिन पचाएर उत्पादन हुने अतिरिक्त अमोनियालाई युरियामा परिणत गर्छ, जुन पिसाबबाट निस्कन्छ ।

तर धेरै मानिससँग एमोनियालाई युरियामा रूपान्तरण गर्ने इन्जाइमहरू हुँदैनन्, अर्थात् उनीहरूमा युरिया साइकल डिसअर्डर हुन्छ ।

यसको बेफाइदा भनेको शरीरमा एमोनियाको मात्रा बढ्छ । यो मस्तिष्कका लागि निकै हानिकारक हुने डा। समीर बताउँछन् ।

युरिया डिसअर्डर विभिन्न प्रकारका हुने र यस प्रकारको समस्या भएका मानिसहरूका लागि अधिक प्रोटिन लिनु खतरनाक हुन सक्ने उनले जानकारी दिए ।

युवामा प्रोटिन सप्लिमेन्ट चलन

खास गरी बडी बिल्डिङ र खेलकुदमा लाग्ने युवाहरूमा सप्लिमेन्ट लिने प्रवृत्ति निकै बढेको देखिएको छ ।

डाक्टर मनिषका अनुसार मानिसहरू नाफा–नोक्सान थाहा नपाईकनै सप्लिमेन्ट लिन सुरु गर्छन् जबकि कतिको शरीरलाई यो चाहिएकै हुँदैन ।

उनी भन्छन्, ‘बडी बिल्डिङको के फायदा जब तपाईं स्वस्थ नै हुनु हुन्नँ । तपाईंले देख्नुभएकै होला, जिम जाने धेरै मानिसलाई कार्डियाक अरेस्ट भएको छ । सबैभन्दा महत्त्वपूर्ण भएको सन्तुलित आहार नै हो ।’

यस्तै, डाक्टर समीर जम्वाल प्रोटिन सप्लिमेन्टसँग सम्बन्धित एक ठुलो खतराबाट चेतावनी दिन्छ । यो खतरा हो प्रोटिन सप्लिमेन्टमा हेभी मेटल्सका अशुद्धि ।

डाक्टर जम्वाल भन्छन्, ‘जिम जानेहरू दूधबाट बन्ने ह्वे प्रोटिन प्रयोग गर्छन् । यदि कारखानामा सावधानी नअपनाउने हो भने स्रोतबाट प्रोटिनलाई छुट्टाउने प्रक्रियामा लेड, आर्सेनिक र मर्करीजस्ता हेभी मेटल्स मिसाउने खतरा हुन्छ । यी हेभी मेटल्स शरीरबाट बाहिर निस्कन सक्दैन र मिर्गौला र कलेजोजस्ता अङ्गलाई क्षति पुर्‍याउँछ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप