मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
खोजीनिती

वैदेशिक रोजगारीमा गएका नेपालीहरू किन हराउँछन् ?

मङ्गलबार, २६ असार २०८०, ०६ : ५९
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । सुनसरीका दिपेन्द्र मण्डल (नाम परिवर्तन) सन् २०१२ मा वैदेशिक रोजगारीका लागि मलेसिया गए । लामो समय उनी उतै बसेर काम गरे । २०२२ को नोभेम्बरदेखि उनी घर परिवारको सम्पर्क बाहिर रहे । उनी अहिलेसम्म परिवारको सम्पर्कमा छैनन् । उनीसँगै काम गर्ने कम्पनीका साथीहरूले कोठा र कम्पनी छोडेर हिँडेको प्रतिक्रिया दिएका छन् ।

त्यस्तै धनुषा सिनरजोडका कुमार सेख (नाम परिवर्तन) २०१७ मा मलेसिया पुगे । मलेसिया पुगेको केही समयपछि उनी कम्पनी छोडेर अर्कै ठाउँमा पुगे । त्यहाँ उनी अवैध रूपमा बस्न थाले । यद्यपि घर परिवरको सम्पर्कमै थिए । तर, बिगत १ वर्षदेखि उनी घरपरिवारको सम्पर्क बाहिर रहे । खोजतलासी गर्ने क्रममा मलेसियामा रहेको नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गरेपछि उनी घर परिवारको सम्पर्कमा आए ।

कास्कीका विकास (सांकेतिक नाम) लामो समयदेखि कतारमा बस्दै आएका थिए । साथीभाइको लहैलहैमा लागेर उनी आफूले काम गर्दै आएको कम्पनीबाट भागे । नेपाली दलालको फन्दामा परेर उनी भागेका थिए । उनको पासपोर्ट र आईडी समेत त्यही दलालले लिएर गयो ।

उनलाई अर्को कम्पनी पठाइदिने भनेर पैसा पनि लियो । तर, लामो समयसम्म पनि उनले राम्रो कम्पनीमा जागिर पाउन सकेनन् । त्यसपछि उनी घर फर्किन खोजे । तर, जानीजानी भागेर अर्को ठाउँमा गएपछि उनी अवैधानिक भएकाले घर फर्किन सजिलो थिएन ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरू भाग्ने क्रम बढ्दो छ । काम गर्दै आएको कम्पनीमा काम सजिलो नभएपछि, भनेअनुसार सेवा सुविधा नपाएको जस्ता कारण देखाउँदै उनीहरू भाग्ने गरेको देखिन्छ ।

त्यसपछि कतारको अध्यागमनमा केस पर्यो । अध्यागमनले उनलाई डिपोर्ट गरेर नेपाल फर्काउने भन्यो । त्यो भन्दा अगाडि १२ हजार कतारी रियाल तिरेमा कतारमै बस्न पाइने भन्यो । उनले त्यत्रो पैसा तिर्न नसक्ने बताएपछि उनलाई डिपोर्ट गरियो । घर फर्किन पैसा नभएपछि विभिन्न संघ संस्थाको सहयोगमा उनी नेपाल फर्किन सफल भए ।

यसरी वैदेशिक रोजगारीमा गएका नेपालीहरू भाग्ने क्रम बढ्दो छ । काम गर्दै आएको कम्पनीमा काम सजिलो नभएपछि, भनेअनुसार सेवा सुविधा नपाएको जस्ता कारण देखाउँदै उनीहरू भाग्ने गरेको देखिन्छ ।

यसरी भाग्नेमा पनि खाडी मुलुक र युरोपको हकमा फरक फरक छ । खाडी मुलुकको तुलनामा युरोपमा भाग्ने क्रम व्यापक नै छ । काम गर्दै आएको देशभन्दा अर्को देशमा राम्रो कमाई गर्न सकिने, उतै सेटल हुन सकिने जस्ता कारणले युरोपमा नेपालीहरू भागिरहने गरेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले संस्थागत रूपमा भन्दा व्यक्तिगत रूपमा गएकाहरू त्यसरी बढी भाग्ने गरेको बताए । मेनपावर व्यवसायी मार्फत गएकाहरू भागेको खण्डमा सम्बन्धित देशमा रहेको मेनपावर एजेन्सीले नेपालमा सिधा सम्पर्क गर्ने गरेको उनको भनाइ छ ।

सम्बन्धित देशबारे बुझ्न नसक्दा त्यो भन्दा राम्रो अवसरको खोजी गर्दै नेपालीहरू भाग्ने गरेको उनी बताउँछन् । ‘नेपालीहरू त्यो देशको ऐन कानुन के हो ? म कुन कम्पनीमा आएको छु ? कम्पनीमा मेरो एग्रिमेन्ट के छ ? कति वर्षसम्म काम गरेपछि मात्रै अर्को कम्पनीमा जान पाउँछु ? यस्ता कुराबारे सोच्दैनन्,’ महासचिव भुर्तेलले भने, ‘त्यो भन्दा अलि राम्रो कतै दियो भने आफ्नो भिसा, पासपोर्ट सबै छोडेर अर्को कम्पनीमा हाम फालिहाल्छन् । त्यो देशको ऐन कानुन नबुझ्नु पनि कारण हो ।’

खाडी मुलुकमा भाग्नेहरू अवैध रूपमा बस्दै आएका हुन्छन् । उनीहरू केही समस्या परेको खण्डमा राज्यबाट पाउनुपर्ने सुविधाबाट समेत वञ्चित हुने गरेका छन् ।

यस्तो समस्या गल्फ कन्ट्रीको तुलनामा अन्य देशहरूमा निकै बढी रहेको उनको भनाइ छ । ‘गल्फ कन्ट्रीहरूमा नगन्य मात्रामा हुन्छन् । त्यो मुलुकको बारेमा जानेका, विगतमा पनि गएर बसेकाहरू भाग्छन्, अन्यत्र गएर काम गर्छन्,’ भुर्तेलले भने, ‘युरोपमा त प्रायः भाग्ने नै हुन् । ९९ प्रतिशत मानिसहरू भाग्ने नै हुन् । कुनै व्यक्ति रोमानिया जान्छ । त्यहाँबाट पोर्चुगल पुग्छ । पोर्चुगलबाट फ्रान्स लगायतका मुलुक पुग्छन् । जुन कम्पनीमा गएका छन्, जुन देशका लागि गएका छन्, राम्रो पाएपछि भागेर त्यो भन्दा राम्रो देशमा जान्छन् ।’

खाडी मुलुकमा भाग्नेहरू अवैध रूपमा बस्दै आएका हुन्छन् । उनीहरू केही समस्या परेको खण्डमा राज्यबाट पाउनुपर्ने सुविधाबाट समेत वञ्चित हुने गरेका छन् । राज्यबाट पाउनुपर्ने सेवा सुविधा पाउन श्रम स्वीकृति लिएर गएको हुनुपर्ने, करार अवधिभित्र काम गरेको हुनुपर्छ । त्यो बाहेक गएको व्यक्ति गैर कानुनी मानिन्छ । र सम्बन्धित देशले जुनसुकै बेला पनि गैर कानुनी भन्दै पक्राउ गरेर कारवाही गर्न सक्छ ।

खाडी मुलुकहरूमा भागेर बस्नेहरू निकै बिकट गाउँतिर जाने गरेका छन् । आफ्नो भिसाको अवधि सकिन लाग्दा समेत नेपालीहरू कम्पनी छोडेर अर्को ठाउँमा जाने गरेको पाइन्छ । गाउँ गाउँमा गएर उनीहरू फार्मिङ गरेर बस्ने, उँट, भेँडा चराएर बस्ने गरेका छन् । यसरी वर्षौंसम्म लुकेरै बस्नुपर्ने बाध्यतामा उनीहरु पर्ने गर्दछन् । कतिपय भने जान्दा जान्दै पनि भाग्ने गर्छन् ।

पछिल्लो समय रोमानिया, माल्टा, साइप्रस लगायतका देशमा जाने धेरै नेपालीको गन्तव्य भनेको पोल्याण्ड तथा पोर्चुगल हुन्छ । उनीहरू सिधै पोल्याण्ड अथवा पोर्चुगल जान नसकेपछि अन्य देशमा जाने र त्यहाँबाट भागेर जाने गरेको देखिन्छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले त्यसरी भाग्नेहरूको फरक फरक कारण हुने बताए । ‘कोही भिसा वा श्रम स्वीकृति सकिन लाग्यो र घर फर्किनुपर्ने अवस्था आयो भने भाग्छन् । कोही काम राम्रो पाएन भनेर भाग्छन् भने कोही त्यो भन्दा राम्रो कामको खोजीका लागि भाग्ने गरेका छन्,’ महानिर्देशक दाहालले भने ।  

त्यसरी हराउनेमा उतै विभिन्न खालका स्वास्थ्य समस्यामा परेका व्यक्तिहरू पनि रहेको पाइन्छ । मानसिक स्वास्थ्य अवस्था बिग्रिएर उनीहरू कम्पनी छोडेर हिँड्ने गरेको महानिर्देशक दाहालले बताए ।

युरोपको हकमा नेपालबाटै राम्रो देश जान नपाउने भएपछि सुरूमा सजिलो देश जाने गरेका छन् । त्यहीँबाट राम्रो देश जाने भन्दै उनीहरू भाग्ने गरेको देखिन्छ ।

वैदेशिक रोजगारीमा जानेहरूलाई जनचेतनाको अभाव पनि देखिन्छ । जसले गर्दा उनीहरू भाग्ने गरेका छन् । आफूले भनेको जस्तो काम पाएन भने उजुरी पनि गर्न सकिन्छ भन्ने जानकारी नभएर पनि कतिपयले भाग्ने विकल्प रोज्ने गरेका हुन्छन् ।

पछिल्लो समय रोमानिया, माल्टा, साइप्रस लगायतका देशमा जाने धेरै नेपालीको गन्तव्य भनेको पोल्याण्ड तथा पोर्चुगल हुन्छ । उनीहरू सिधै पोल्याण्ड अथवा पोर्चुगल जान नसकेपछि अन्य देशमा जाने र त्यहाँबाट भागेर जाने गरेको देखिन्छ ।

विभागले यो एक विकृतिको रूपमा लिएको छ । यसलाई रोक्नका लागि जनचेतना नै प्रमुख कुरा रहेको महासचिव भुर्तेलको भनाइ छ । त्यसरी भागेर अवैधानिक बसेकाहरू बेलाबेला सम्बन्धित देशले आम माफी दिने गरेको छ । नत्र कागजात नभएको खण्खडमा उनीहरूलाई पक्राउ गरेर जरिवाना तथा जेल सजाय गरेरमात्र नेपाल फर्काउने गरेका छन् ।  

वैदेशिक रोजगारीमा जानेहरूलाई जनचेतनाको अभाव पनि देखिन्छ । जसले गर्दा उनीहरू भाग्ने गरेका छन् । आफूले भनेको जस्तो काम पाएन भने उजुरी पनि गर्न सकिन्छ भन्ने जानकारी नभएर पनि कतिपयले भाग्ने विकल्प रोज्ने गरेका हुन्छन् ।

वैदेशिक रोजगारीमा रहेका धेरै नेपाली अनडकुमेन्टेड बस्दै आएपछि सरकारले उनीहरूलाई वैधानिक बनाउने रणनीति अघि सारेको छ । त्यसका लागि सम्बन्धित देशसँग कुटनीतिक पहल थालेर उनीहरूलाई आम माफी दिन आग्रह गर्ने तयारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको छ । त्यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप