सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
विकास निर्माण

हेटौँडा–कुलेखानी–मातातीर्थ–सतुङ्गल सडक : तीन पटक म्याद थप्दा समेत भएन पूरा

मङ्गलबार, ०९ साउन २०८०, ०७ : १०
मङ्गलबार, ०९ साउन २०८०

हेटौँडा । कुलेखानी हुँदै काठमाडौंको सतुङ्गल जोड्ने सडकको तीन पटक म्याद थप हुँदासमेत निर्माण कार्य पूरा हुन सकेको छैन । हेटौंडाबाट काठमाडौँ प्रवेश गर्ने सबैभन्दा छोटो दूरीको उक्त सडक मार्गको २ दशकअघि ट्र्याक खोलिएको थियो । 

आर्थिक वर्ष २०७५-०७६ बाट निर्माण कार्य भइरहेको हेटौंडालाई काठमाडौं जोड्ने सो सडकको कुल लम्बाई ६१ किलोमिटर छ । सो सडक २ खण्डमा विभाजन निर्माण कार्य भइरहेको छ । निर्माण कम्पनीको लार्पवाहीका कारण सडक निर्माण कार्यमा प्रयाप्त प्रगति हुन नसकेको भन्दै महालक्ष्मी दोभान–घट्टेखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक सरोकार समितिले असन्तुष्टि जनाउँदै आएको छ ।

सो सडक निर्माणको अवस्था र सुधार बारेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दुतराज तितुङले गत असारमा नै प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलाई ध्यानाकर्षणसमेत गराएका थिए । उक्त विषयमा हालसम्म पनि कुनै सुनुवाई हुन नसकेको अध्यक्ष तितुङ बताउँछन् ।

निर्माण कार्यको प्रगति न्यून
सो सडकको दुवै खण्ड निर्माण कार्य सम्झौता मितिले १८ महिनामा सम्पन्न गर्नुपर्ने थियो । मकवानपुरतर्फ महालक्ष्मी दोभान–मकैबारी खण्ड आर्थिक वर्ष २०७७-०७८ मा र मकैबारी–मातातीर्थ–सतुङ्गल खण्ड २०७५-०७६ मा ठेक्का सम्झौता भएको थियो । 

जसअनुसार मकवानपुर तर्फको निर्माण कार्य २०७९-०८० मा तथा काठमाडौं तर्फको निर्माण कार्य २०७७-०७८ मै सम्पन्न गरिसक्नुपर्ने थियो । तर, तीन पटक म्याद थप भए पनि निर्माणको काम पूरा भएको छैन ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ मा पर्ने महालक्ष्मी दोभानदेखि काठमाडौंको सतुङ्लसम्म ८.५ किलोमिटर सडक खण्डमा ६.५ मिटर चौडा गर्ने कार्यका लागि कुल २४ करोड ९४ लाख ८५ हजार रुपैयाँको लागतमा २०७६ जेठ १७ गते ठेकेदारसँग निर्माण सम्झौता भएको थियो । निर्माण कम्पनीले सो सडक स्तरोननतिसहित कालोपत्रे लगायतका काम पूरा गर्ने थियो ।

उक्त खण्डको सडक निर्माण कार्यका लागि पछिल्लो पटक निर्माण कम्पनी अमर कन्स्ट्रक्सनलाई जेठ मसान्तसम्मको समय सिमा तोकिएको थियो । पुनः म्याद थपको प्रयास भइरहेको छ । 

अनुगमन टोलीले सो खण्डको निर्माण कार्य मापदण्ड अनुसारको नभएको, फिल्डमा प्राविधिक नरहेको, सडकका अधिकांश भागमा सवबेस खनाइ अलपत्र अवस्थामा छाडेको, स्ल्याब ढलान तथा प्लम वालको काम प्राविधिक मापदण्ड विपरीत रहेको र आवत जावतमा समेत बाधा पुग्ने अवस्थामा रहेको फेला परेको थियो ।

हालसम्म सो खण्डको भौतिक प्रगति ५५ प्रतिशत मात्र रहेको पूर्वाधार विकास कार्यालय ललितपुरले जनाएको छ । कार्यालय प्रमुख पुष्कर प्रसाद पोखरेलका अनुसार सो खण्डमा निर्माण कम्पनीको काम सन्तोषजनक छैन । त्यसैले, कार्यालयले निर्माण कम्पनीलाई कारवाही गरी ठेक्का तोड्ने तयारी गरेको प्रमुख पोखरेलले बताए ।

यता मकवानपुर तर्फको सडक खण्डको पनि निर्माण कार्य पुरा हुन सकेको छैन । यद्यपि, काठमाडौं तर्फको तुलनामा मकवानपुरको प्रगति भने देखिएको पूर्वाधार विकास कार्यालय चितवनले जनाएको छ ।

मकवानपुर तर्फको महालक्ष्मी दोभान–मकैबारी खण्डको निर्माण कार्य अन्तिम चरणमा रहेको पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख वीरेन्द्र चौधरीले जानकारी दिए । आगामी साउन मसान्तभित्र सो सडकको कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम गरिरहेको उनले बताए ।

७ करोड ३ लाख ६६ हजार रुपैयाँ लागतमा कविन्द्र एटीसी जेभीले महालक्ष्मी दोभान–चखेल–मकैबारी खण्डमा सडक चौडा गरी २०७९ जेठ १६ गतेभित्र सम्पन्न गर्ने गरी २०७७ असार १७ गते सम्झौता भएको थियो । निर्माण कम्पनीले ग्राभेल गर्ने, टेवा पर्खाल, कल्भर्ट र पक्की ढल निर्माणको काम गर्ने गरी सम्झौता गरेको छ ।

६.५ किलोमिट लम्बाइको उक्त सडकको ३ स्थानमा ह्युम पाइप हाल्ने र ६० मिटर ढलान कार्य गर्न बाँकी रहेको प्रमुख चौधरीले बताए । ७ मिटर चौडा उक्त सडक चालु आर्थिक वर्षमा कालोपत्रे गर्ने तयारी रहेको र ढल निर्माणसहित सडक कालोपत्रे गर्न बोलपत्र आह्वान भइसकेको उनले बताए । प्रदेश सरकारले उक्त सडकका लागि चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप