बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

दक्षिण भारतीय चलचित्र अनि नेपाली समाज

मङ्गलबार, ०९ साउन २०८०, ११ : २९
मङ्गलबार, ०९ साउन २०८०

हरेक हप्ता नेपालको युट्युब ट्रेन्डिङमा कुनै न कुनै दक्षिण भारतीय चलचित्र परेकै हुन्छ । यसर्थ यो मान्न सकिन्छ कि नेपालमा सबैभन्दा कुनै चलचित्र उद्योग चर्चित छ भने त्यो दक्षिण भारतीय सिनेमा उद्योग नै हो ।

दक्षिण भारतीय चलचित्रको कथा लगभग एकै किसिमको नै हुने गर्छ । एक्सन, कमेडी, रोमान्स सबै मिक्स गरेर लार्जर देन लाइफ वाला सिनेमा नै साउथ फिल्मको ट्रेडमार्क हो भन्दा फरक पर्दैन ।

यस्ता सिनेमाको लगभग कमन कुरा के पनि हो भने हिरो (प्रोटागोनिस्ट) जसमा अद्भूत क्षमता हुन्छ, उ समाजको रक्षक वा हिरो हुन्छ भने उसमा सबै राम्रो राम्रो गुण मात्र देखाइएको हुन्छ । केही एकाध नराम्रो बानी भए पनि प्रोटागोनिस्टमा यसरी ‘इमोस्नल्ली टच’ हुन्छ कि नराम्रो बानीमा हाम्रो नजर नै जाँदैन भनौ वा उक्त कुरा छोपिएको हुन्छ ।

अनि भिलेन (एन्टागोनिस्ट) लाई भने समाजको एक खलपात्रको रूपमा स्थापित गराइन्छ । उसलाई यसरी देखाइन्छ कि उसमा सबै नराम्रो पक्ष मात्र छ । मानौँ उसमा दया, माया, करुणा वा कुनै पनि राम्रो बानी नै छैन ।

दक्षिण भारतीय सिनेमालाई औधी मन पराउने नेपालीले दक्षिण भारतीय सिनेमाबाट यो कुरा पनि सँगै सिकेको जस्तो लाग्छ । नेपाली समाज  अहिले एउटा रोगले ग्रसित नै छ भन्दा हुन्छ । यहाँ कि त कुनै पात्रलाई हिरो र भगवान् मानिन्छ भने कि त उसलाई भिलेनको जस्तो नजरले हेरिन्छ ।

अहिलेको स्थानीय र संघीय निर्वाचनमा एक किसिमको युथ मुभमेन्ट नै चल्यो । पुराना दलबाट वाक्क दिक्क भएका नेपाली जनताले विकल्प खोजेको स्पष्ट संकेत उक्त निर्वाचनले देखायो । काठमाडौँ महानगरमा मेयर बालेन शाह, धनगढीमा गोपाल हमाल र धरानमा हर्क साम्पाङ उदाए  । 

त्यस्तै, पहिलो प्रयासमै संघीय निर्वाचनमा होमिएका टेलिभिजनमा हिरो नै बनाइएका रविको राष्ट्रिय स्वतन्त्र पार्टीले अस्वाभाविक छलाङ नै मार्‍यो । उक्त चुनावपछि अधिकांशले सामाजिक सञ्जालमा यसरी खुसी साटे कि मानौँ अब नेपालमा केही समयमै कायापलट हुन्छ । र, यी पात्रले नै कायापलट गराउनेछन् । 

त्यो तप्का जसले रवि र बालेनलाई भगवान् मान्छ । यतिसम्म कि बालेनले लिएका हरेक विवादास्पद निर्णय वा रवि लामिछानेको दोहोरो नागरिकता र पासपोर्ट विवादले उनीहरुलाई कुनै फरक परेको छैन । उनीहरू यतिसम्म विश्वस्त छन् कि आफ्नो प्रिय पात्रले कुनै गल्ती गर्नै सक्दैन ।  

रवि र वालेनको काम हेर्दा केही आशा राख्न सकिने ठाउँ छ । तर, तिनलाई भगवान् मान्ने समर्थकहरूलाई हेर्दा सामाजिक सञ्जालमा यति उग्र छन् कि त्यो आशा निराशामा परिवर्तन हुन्छ ।

अनि अर्को तप्का छ, जसले रवि र बालेनले गरेका कयौ राम्रा काम पनि अनदेखा गरेका छन् । एकाध नराम्रो कुरालाई समातेर उनीहरुलाइ खलपात्र र भिलेन बनाउन तम्सेका छन । धेरै वर्ष अघिको कुनै सन्दर्भमा बोलेको कुरालाई अहिले राखेर होस् वा क्लिप काटेर नै किन नहोस्, विरोध गर्न जे पनि गर्न तयार छन् ।

अनि अर्को तेस्रो तप्का कति होलान्, जसले बीचमा बसेर दुबै पक्षका कुरा सुनोस् । उनीहरुको एक मुद्धालाई लिएर तारिफ गरोस् अनि सोही ब्यक्तिकै अर्को मुद्धालाई लिएर बिरोध पनि गर्न सकोस् ।

यो कुरा रवि, बालेन विरुद्ध मात्र लागू नभएर पुराना पार्टी र नेतामा पनि लागू हुन्छ । ओली, प्रचण्ड, देउवालगायत नेतामध्ये आफ्नो नेताले गरेको जस्तो काम पनि मन पराउने अनि विपक्षी दलको पार्टी र नेताले गरेको हरेक काममा नकारात्मक दृष्टिले मात्र देख्ने यो परिपाटी बढिरहेको छ ।

राजनैतिक नेता विरुद्धमात्र नभएर, यो कुरा समाजका हरेक व्यक्ति र विचार विरुद्ध पनि लागू हुन्छ । केही समय अघि कलाकार पल र गायिका समीक्षाको मुद्धा  पनि एक उदाहरण हो । एक पक्ष जसले समीक्षालाई गाली गर्नमा कुनै कसुर बाँकी राखेनन् भने अर्को समूह सानै भए पनि पललाई बलत्कारी करार गर्न आफ्नो सबै शक्ति लगाएर उत्रिए । यो शृङ्खला एक अर्थमा अझै पनि चलि नै रहेको छ । तीमध्ये कति होलान्, जसले सबै जिम्मा अदालतलाई छाडिदिएर स्वच्छ बहस गरेको होस्, सायद नगन्य नै ।

अझै पनि नेपाली समाजले यो कुरा स्वीकार्दैन कि कुनै ब्यक्तिमा सकारात्मक र नकारात्मक दुबै पक्ष हुन्छन् ।  कसमा कसको तौल बढी भन्ने मात्र न हो ।

व्यक्ति मात्र नभएर विचारमा पनि यही रोग कायम छ । अझ राजनैतिक विचारको कुरा गर्दा सबै विचार आफैमा राम्रा छन् भने सबैमा कमीकमजोरी पनि । अहिलेको आवश्यकताअनुसार कुन विचार उपयुक्त भन्नेमा जस्तो दृष्टि, उस्तै सृष्टि होला । 

एउटा उदाहरणको रूपमा एक थरिले पुँजीवाद राम्रो मान्छ, उसलाई पुँजीवाद नै सबैभन्दा राम्रो व्यवस्था लाग्छ भने अर्कोलाई समाजवाद राम्रो लाग्ला । दुबैले आआफ्नो तर्कले जित्न कोसिस गर्छन् । र, अर्को ब्यवस्थालाई नराम्रो पुष्टि गर्न कुनै कसुर बाँकी राख्दैनन् । 

तर यथार्थ के हो भने पुँजीवादका पनि सबल पक्षहरु छन् भने दुर्लभ पक्षहरु पनि । यही कुरा समाजवादमा पनि लागू हुन्छ । यो लगभग असम्भव जस्तै नै हो कि कुनै वादमा सबै सकारात्मक कुरा मात्र फेला पर्छ भन्ने । केही न केही नराम्रो त हरेक व्यवस्था र हरेक पात्रमा हुन्छ नै ।

समाचारको हेडलाइन मात्र पढेर अनि टिकटक, सर्ट र रिलका क्लिप मात्र हेरेर टिप्पणी गर्ने जनताले त क्षणभरमै भगवान् बनाउँछन् भने क्षणभरमै भिलेन । तर, राजनीतिक दलका नेता र अन्य सेलिब्रेटी पनि त्यही सामाजिक सञ्जालको लाइक र कमेन्टमै रुमलिएको पाइन्छ ।

राजनीतिमा एउटा भनाइ छ, नेता भनेको भीडको कुरा सुन्ने हैन कि भीडलाई डोर्याउने क्षमता हुनुपर्छ । तर, अहिले त्यस्तो अवस्था देखिदैन । जनताले के गर्दा राम्रो मान्छन् र वाहवाही गर्छन् भन्नेमा नै नेताको ध्यान गएको देखिन्छ । यो मामिलामा नयाँ भन्दा पुराना नेता केही हदसम्म ठिक भए पनि सामाजिक सञ्जालको प्रशंसामा फुरुङ्ग हुने नेताहरुको पनि कमी छैन ।

धेरै मानिसले नराम्रो मानेको विचार बोकेर, धेरैको विचार परिवर्तन गराउन जनयुद्धमा होमिएका प्रचण्डले तेस्रो कार्यकालमा पहिलो पटक दौरा सुरुवाल लगाएर उपस्थित भए । उक्त कुरा ठिक बेठिक आफ्नो ठाउँमा छ तर सो बारे टिप्पणी दिदै प्रचण्डले भनेका थिए, ‘फेसबुकमा सबैले राम्रो भने । यसमा नकारात्मक कमेन्ट एउटा पनि भेटिन । त्यही भएर दौरा सुरुवाल लगाउने निर्णय गरें ।’ यसमा केही नराम्रो जस्तो नदेखिए पनि जनताले जे भन्छन्, त्यही गर्ने हो भने त आखिर नेता नै किन चाहियो र ?

नयाँ भनिएका राजनैतिक दलमा भारत विरोधी अभिव्यक्तिहरू देखिन्छ । बालेनले विरोध गरेको फिल्म आदिपुरुषसंगै सबै भारतीय सिनेमा ब्यान्ड होस् वा रविले गृहमन्त्री पदबाट राजीनामा दिदा भारतलाई दिएको धम्की होस् । जनता यस्ता कुरामा चाँडै भावनामा बहकिहाल्छन् र पररर ताली पिट्छन् । तर, साँच्चै नै उनीहरू पावरमा भएर यस्तै अभिब्यक्ति दिदा त्यसले कस्तो दूरगामी असर पार्ला त ? यस्तोमा देश युक्रेन जस्तो अवस्थामा नपुग्ला भन्न सकिन्न  ।

हिटलर, मुसोलिनीलाई पनि कसैले भिलेन मान्छन् भने कसैले भगवान्को नजरले हेर्छन् । नेपालमा सधैँ बहस र डिबेटमा आउने पात्र हुन् पृथ्वीनारायण शाह । उनलाई एक थरीले नेपाल एकीकरणका नायक मान्छन् भने अर्को थरीले समाज खल्बलाएर र अरु जातिमाथि दमन गरी आफ्नो राज्य सत्ता बढाएको नजरले हेर्छ । 

एक थरिले माओवादीको युद्धलाई जनयुद्ध भन्छ भने अर्को थरिले आतङ्कवाद । कसैले राजा महेन्द्रलाई सच्चा देशभक्त राजा मान्छ भने अर्को थरीले अन्धराष्ट्रवादको बिल्ला भिराइदिन्छ ।  हो, कुनै पात्र र विषयलाई हेर्ने आआफ्नो नजर हुन्छ तर शतप्रतिशत आलोचना र शतप्रतिशत प्रशंसा भन्दा पनि समालोचात्मक तरिकाले हेर्ने कि ? दक्षिण भारतीय सिनेमा उद्योगको बढी प्रभावमा नपर्ने हो कि ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विष्णु पौडेल लम्साल
विष्णु पौडेल लम्साल
लेखकबाट थप