शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कविता : असल साथी

बुधबार, १० साउन २०८०, १७ : १२
बुधबार, १० साउन २०८०

एक असल साथी 
जीवनसँगको सम्बन्ध हो 
विगतसँग जोडिएको सुन्दर संसार हो
भविष्यका लागि बाटो हो
पूर्णतया यो भौतिक संसारमा गरिएको 
एक विवेकपूर्ण निर्णय हो
थोरै तर आफ्नै मनले चयन गरिएको
थुप्रै मन पर्ने किताबमध्ये एक
खास हुनु पर्छ असल साथी ।।१।।

एक असल साथी 
बगैँचाको एक  सुन्दर फूल जस्तो हो
जसको कुराकानीमा मिठास अनि
जसको सङ्गतले एक्लै ऊसँग हुँदा
सुरक्षित र आन्दित महसुस हुनु पर्छ
बाँच्नका लागि साथी होइन 
बाँच्ने आधार हो साथी त 
शब्दमा वर्णन गर्न नसकिने 
सम्बन्ध असल हुनुपर्छ साथीसँग
सदा प्रगतिमा साथ दिने
सच्चा साथी नै असल साथी हुन्छ ।।२।।

भन्छन् आफ्नो खुसीमा 
खुसी हुने साथी नै असल साथी हो
सँच्चा साथीहरू छन् भने 
तिमी कहिल्यै दुःखी हुनु पर्दैन
अनि दुःखी हुँदा तिमी एक्लो हुनु पर्दैन ।।३।।

साथीको शब्दकोशमा 
तिमी एक्लै हुने 
शब्द नै भेटिँदैन सायद 
दूरीले टाढा  हँुदैन साथी
साथीप्रतिको प्रेम त
केवल सम्झनाले पनि 
नजिकै ल्याइदिन्छ ।।४।।

मित्रता सधैँ मिठो जिम्मेवारी हो, 
कहिले पनि अवसर होइन ।
साँचो साथीहरू हीरा जस्तै हुन्–  
उज्यालो, सुन्दर र मूल्यवान्
संयोगले साथीहरू भेटिन्छन्
छनोटले असल  साथीहरू बन्छन्
असल व्यक्तित्व भएका साथीले
एक अर्काको असल सङ्गतले 
एकअर्काका परिपूरक भएर
दुवैलाई रूपान्तरण बनाउँछन्
सत्मार्गमा हिँड्ने प्रेरणा दिन्छन्
सुन्दर भविष्यप्रति अग्रसर बनाउँछन् ।।५।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विष्णु न्यौपाने
विष्णु न्यौपाने
लेखकबाट थप