मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

'हल्लिएर हिँड्ने नेताहरूलाई कार्यकर्ताले ठेगान लगाउँछन्'

शुक्रबार, १९ साउन २०८०, ०९ : ५२
शुक्रबार, १९ साउन २०८०

नेकपा माओवादी केन्द्रको चौथो केन्द्रीय समिति बैठक राजधानीको प्रज्ञा भवन कमलादीमा जारी छ । चार दिनसम्म चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले गरमागरम बहस गरेका छन् ।

अध्यक्षले नै पार्टी ‘पार्टी जस्तो नभएको’ विषय उठान गरेपछि अधिकांश सदस्यले नेतृत्व रूपान्तरण भएमात्र पार्टी बन्ने धारणा राखेका छन् । कतिपयले प्रतिवेदनलाई समर्थन गर्दै नेतृत्वको आलोचना नभइ मिलेर पार्टी निर्माणमा अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै संघीय सांसद तथा केन्द्रीय सदस्य माधव सापकोटाले पनि आफ्नो मत जाहेर गरेका छन् । बैठकभित्र भइरहेको बहस, छलफल, पार्टी निर्माणलगायत विषयमा रातोपाटीका गणेश पाण्डेले सापकोटासँग संक्षिप्त  कुराकानी गरेका छन् । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले कस्ता धारणा राखेका छन् ? यसमा तपाईंको मत के हो ?

छलफलको ‘ट्रेन्ड’ हेर्दा मूलभूत रूपमा सही र सकारात्मक छ । निर्धक्कताका साथ नेतृत्वको कार्यशैलीको आलोचना पनि गर्ने र रूपान्तरणका लागि सबैजना त्याग गर्न पनि तयार भएका छन् । मेरो विचारमा सकारात्मक ढङ्गले नै बहस भएको छ ।

जहाँसम्म पार्टी निर्माणको प्रश्न छ– पहिलो कुरा, मेरो विचारमा पार्टी ‘नोमिनेटेड’  खालको  भयो । यसले मनोनित भएका पनि खुशी देखिँदैनन्, नपाउने त त्यसै असन्तुष्ट छन्, पाउने अझ असन्तुष्ट छन् ।

भोलि निर्वाचनमा जाने भनेपछि हामी सबै नेता कार्यकर्ता र जनतातर्फ फर्किनुपर्छ । त्यसो भएमा नेताहरु कार्यकर्ता तथा जनतातिर बढी जिम्मेवार हुनुपर्छ । काम नगर्ने, ठग्ने तथा  हल्लिएर हिँड्ने नेताहरूलाई कार्यकर्ताहरूले ठेगान लगाउँछन् । त्यसकारण विधिबाट पार्टी चलाउनुपर्छ, विवेकबाट पार्टी चलाएर हुँदैन । विधि र प्रक्रियामा गएपछि तल्लो तहमा सबै मिलेर चुनेमा त्यसमा कुनै आपत्ति जनाउनु पर्दैन । सहमति भएन भने नेताहरूले बल गरेर होइन कि विधिबाट हल गर्नुपर्छ ।

दोस्रो, हिजो योगदान गरेका, युद्ध लडेर आएका नेता तथा कार्यकर्ता जो छन्, तिनलाई सम्मान गरिनुपर्छ । त्यसको साथसाथै आजका नौजवान युवायुवतीलाई प्रविधि, नयाँ विचारको माध्यमबाट कसरी प्रशिक्षित गर्ने ? कसरी आकर्षित गर्ने भन्ने मूख्य चुनौती हो । मूलतः आजका नौजवान युवायुवतीलाई आन्दोलनका बारेमा जानकारी गराउनुपर्छ । शान्ति प्रक्रिया, दोस्रो जनआन्दोलनका समयमा जन्मिएकाहरु अहिले मतदाता बनिसकेका छन् । विस्तारै तिनीहरू नेतृत्वमा आउँदैछन् । उनीहरूलाई हामीले गरेका योगदानबारे जानकारी गराउन आवश्यक छ ।

अहिलेका पुस्तालाई जनयुद्ध, जनआन्दोलन, परिवर्तनका लागि भएका ७० वर्ष लामो संघर्षबारे जानकारी छैन । विद्यालयको पाठ्यपुस्तकमा राखेको पनि छैन, कुनै ‘आर्काइभ’ पनि छैन । परिवर्तनका विरोधीहरूले जनयुद्धलाई नकारात्मक रूपमा प्रचार गरेका छन् । यसले गर्दा नयाँ पुस्ता आकर्षित हुन सकेका छैनन् । विज्ञान, प्रविधि र विचारको संयोजन गरेर नयाँ पुस्तालाई आकर्षित गर्नुपर्छ । विधिले विकास गर्ने, नयाँ विचार दिने र नयाँ युवायुवतीलाई आकर्षित गर्ने नयाँ ढंगले परिचालित हुनुपर्छ ।

खासमा मंसिरमा हुने विधान सम्मेलनभन्दा पनि विशेष महाधिवेशनमा जानुपर्ने धेरैको मत रहेको भनिएको छ, के हो ?

हामीले विधानमा छलफल गर्नुपर्छ । किनभने अहिले लेखिएका कुरा पर्याप्त भए पनि मानसिक रूपमा सिङ्गो केन्द्रीय कमिटीलाई हामीले चुनावमा जान्छौँ भनेर ‘ओरिएन्टेड’ गर्नुपर्छ । चुनाव सबैले जित्दैन । थोरैले जित्छ, धेरैले हार्छन् । हारेको पंक्तिले पनि चुनावी परिणाम स्वीकार्नु सक्नुपर्छ । त्यसका लागि धेरै परामर्श, छलफल र बहस गर्नु आवश्यक छ । निर्वाचन जित्दा उत्साहित भएर पार्टीको काम गर्ने, हारे पनि पार्टीमै रहेर काम गर्ने हुनुपर्छ । हारजित दुवैपक्ष मिलेर माओवादी आन्दोलनलाई संरक्षण गर्न आवश्यक छ । त्यसैले अहिले विधान सम्मेलन आवश्यक छ ।

बैठकपछि माओवादी कसरी अगाडि बढ्छ ? तपाईंले भनेको जस्तै रूपान्तरित भएर जान्छ वा पुरानै ढर्राबाट चल्छ ?  

अहिले तेस्रो विकल्पै छैन । यस्तैयस्तै गरी विसर्जित हुने कि विकसित भएर नयाँ ढङ्गको मुलुकको प्रमुख राजनीतिक शक्ति बनाउने बनाउने भन्ने चुनौती छ । अहिले हामी कसैको वैसाखी टेकेर, यताउता खेलोमेलो गरेर सत्तामा पुगेका छौँ, गरिराखेका छौँ । अब सधैँभरि यस्तो खालको ‘प्याटर्न’ रहँदैन । 

कसरी बन्छ त्यस्तो पार्टी ?

अघि मैले भनिसकेँ, हामीले नौजवान युवायुवतीलाई ल्याउनुपर्छ । पुराना नेता तथा कार्यकर्ताहरूले भारी मात्रामा जीवनशैली बदल्नुपर्छ । यसो गर्दामात्र पार्टी पुनर्निर्माण सम्भव छ । पुराना नेताहरूलाई सम्मान गर्ने, विधि र प्रक्रियगत ढङ्गले पार्टीलाई सञ्चालन गर्नुपर्छ । आजको सन्दर्भमा सुशासन र समृद्धिको पक्षमा सरकारले जे–जसरी काम गरेको छ, यसलाई तीब्रता र निरन्तरता दिनुको विकल्प छैन । हिजोको विरासत हामीसँगै छ । सिङ्गो देश माओवादीले उठान गरेको मुद्दामा हिँडेको छ । नयाँ पुस्तालाई भित्र्याउनुको साथै पार्टीलाई जाज्वल्यमान बनाएर लान सकिहालिन्छ नि ।

केही नेताले संसदीय प्रणालीमा जाने हो भने कांग्रेस र एमाले छन्, माओवादी किन चाहियो भन्ने प्रश्न उठाएका छन् नि ?  

कांग्रेस, एमाले र माओवादीमा निकै फरक छ । कांग्रेसले भन्ने गरेको समाजवाद पुँजीवादी समाजवाद हो । हामीले भनेको सामाजिक न्यायलाई स्वीकार गरेको उन्नत प्रकृतिको समाजवाद हो । सरकारको माध्यमबाट सामाजिक न्यायसहितको उन्नत समाजवाद लागु ग¥यौँ भने स्वतः हामी र कांग्रेसबीच फरक हुन्छ । पुँजीवादी व्यवस्थालाई स्वीकार ग¥यौँ र  र सामाजिक न्यायसहितको समाजवादलाई छोड्यौं भने यो संसदवादी हुन्छ । आजको व्यवस्था विशुद्ध परम्परागत संसदीय व्यवस्था होइन । हामीले संघात्मक व्यवस्था ल्याएका छौँ । यो संघीय व्यवस्था हो, संघीय संसद हो, हिजोको जस्तो व्यवस्था र संसद होइन । विधि र संविधानमा पनि संघीय गणतन्त्रात्मक व्यवस्था भनेका छौँ । अहिले तीन तहको सरकारको व्यवस्था छ । यसो भन्दैमा हामीले सामाजिक न्यायको सिद्धान्त अँगालेर समाजवादको कार्यक्रम लागु गरेनौँ भने विस्तारै यो पनि परम्परागत संसदीय व्यवस्था हुन जान्छ । त्यसैले हामीले यही निर्वाचन प्रणाली स्वीकारेर आएका छौँ । यसमा हामी अब्बल साबित हुनुपर्छ । त्यसका लागि पहिला निर्वाचन जित्नुपर्छ । जितिसकेपछि समाजवादको कार्यक्रम लागु गर्नुपर्छ ।

अहिलेको संसदीय व्यवस्थामा तपाईं र एमाले सँगसँगै हिँड्न सक्नुहुन्छ ? दुईमध्ये एक पार्टी त विलय होला नि ?

आजको दिनमा हाम्रो र एमालेबीचमा आमने सामनेजस्तो देखिन्छ । एमालेभित्र एउटा ठूलो पंक्ति र शक्ति नेपालमा कम्युनिस्टहरूबीच धु्रवीकरण हुनुपर्छ र सामाजिक न्यायसहितको समाजवादमा जानुपर्छ भन्ने छ । एमालेको मूल नेतृत्वमा अहिलेको व्यवस्थाप्रति अरूची छ । एमाले, माओवादी जस्ता धेरै वामपन्थीहरूको नाङ्लो पसल खोलिएको छ । कालान्तरमा यसलाई अन्त्य गरिनुपर्छ । विगतको नेकपाबाट शिक्षा लिएर यी सबै नाङ्लाहरूलाई एकै ठाउँमा जोड्नुपर्छ । चाँडै नभत्किने गरी समाजवादको लक्ष्य तय गर्नुपर्छ । त्यसको सुरूवात हामीले समाजवादी मोर्चाबाट गरिसकेका छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप