बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
समाज

गाउँमा मोबाइल र बच्चा अनि बा र बोतलबीचको दूषित सम्बन्ध

शनिबार, २० साउन २०८०, १२ : ३१
शनिबार, २० साउन २०८०

यो सत्तरीको दशक सकिनै लाग्दा गाउँ रित्ता मात्र भएका छैनन्, खण्डहर भएका छन्, उजाड भएका छन् । बुवा, हजुरबुवाका समयका जीर्ण घरका पाखो चुहिने भएका छन् । गाउँमा निराशा व्याप्त छ, गरिबी छ । त्यही गरिबीबीच जन्मिएको शून्यता छ ।

गाउँबाट रित्ता सपना बोकेर दिनहुँ युवाहरू कि कुनै सहर–बजार कि राजधानी, कि विदेशी मरुभूमितिर पलायन भएका छन् । सबैभन्दा बढी ज्याला–मजदुरीका लागि धार्चुला या झुलाघाटको पैदल बाटो हुँदै खाली खुट्टा छिमेकी मुलुक भारततिर हिँडेका छन्, सुस्तरी,सुस्तरी । 

गाउँमा हाम्रो स्कुले जीवनजस्तो परिवेश छैन, त्यो अर्गानिक गाउँलेपन छैन । अरम–परम देखिँदैन, एैँचो–पैँचो चल्ने त्यो आत्मीयता भेटिँदैन । चाडपर्वहरू आउनु र नआउनु उस्तैजस्तो देखिन्छ । चाडपर्वहरूको उमङ्गयुक्त रौनक छैन । बस्ती पातलिएको छ, जीर्ण घरहरूका ढोकामा नाम मात्रको ताल्चा झुन्डिएको छ । उहिले हामी साना छँदा गाउँभरिबाट दगुर्दै, खेल्दै, कोलाहल मच्चाउँदै, कहिलेकाहीँ झगडा गर्दै स्कुल जान्थ्यौँ, हुलका हुल केटाकेटीहरू एक–डेढ घन्टाको बाटो पार गरेर । अहिले मुस्किलले दुई–चारजना बच्चा भेट्टिन्छन् । 

पछिल्लो समय समूहमा खेलिने खेलभन्दा पनि एन्ड्रोइड मोबाइलको गेमले बच्चालाई एक्लो बनाएको छ, घरभित्र सीमित गराएको छ । कबड्डी, डन्डिबियो, गट्टा, पन्जा खेल त्यही मोबाइलको प्रयोगले विस्थापित भएका छन् । मोजाको बल (भकुन्डो) त एकादेशको कथा बनिसकेको छ । पछिल्लो समय गाउँ (बैतडीको डिलासैनी गाउँपालिका, मेरो माइती) बसाइका क्रममा मैले नजिकबाट नियालेका दृश्य हुन् यी ।

गाउँमा हुनेखाने र मध्यम वर्गीय परिवारका सन्तानसँग स्कुल समयबाहेक हरबखत एन्ड्रोइड मोबाइल भेटिन्छन् । पँधेरामा पानी लिन जाँदा होस् कि गाईबाख्रा चराउन जाँदा होस् । खेतबारीमा काम गर्दा होस् या भान्छामा खाना खाँदा — सबैभन्दा नजिकको साथी मोबाइल बनेको पाइन्छ । युट्युब र टिकटक आदिले निद्रा, भोक सब हराइदिएका छन् ।

गाउँको मात्रै के कुरा गर्नु एक आमा हुनुको हैसियतले मोबाइल र बच्चाको सम्बन्धको विषयमा म जानकार छु । धेरै समय चपेटामा पर्छु म आफैँ पनि । चारवर्षे बच्चाको अगाडि सहज तरिकाले मैले अनलाइन कक्षा लिन पाउदिनँ, सामग्रीहरू मेल गर्न पाउदिनँ । यस्तै, गुगलमा मात्रै पाइने अति आवश्यक सामग्री खोज्न, हेर्न, डाउनलोड गर्न सक्दिनँ । मोबाइल, ल्यापटप खोल्न नपाउँदै बच्चाको जिद्धी र मागको अघि म हारिदिन्छु, उसको हातमा मोबाइल थमाएर उसलाई जितको आभास गराइदिन्छु एकछिनका लागि ।

बच्चाको मोबाइल मोहकै कारण श्रीमान् घरमा नहुँदा अधिकांश समय मेरो घरको वाईफाई बन्द रहन्छ तर बच्चाले मोबाइल छाड्न मान्दैनन् अनि बिजुलीको मेनस्विच अफ गरिदिनैप¥यो । बच्चालाई वाईफाई गयो, बत्ती गयो भन्ने भ्रम देखाएर मोबाइलबाट छुट्कारा दिलाउनु पछिल्लो भरपर्दो उपाय खोजेकी छु, मेनस्विच अफको । मेरो घरमा मोबाइल र बच्चाको सम्बन्धले पढाइ र अन्य कार्यमा परेकोजस्तो असर अन्य अभिभावकले पनि पक्कै भोगेका होलान् । मोबाइल चलाउने बच्चाको विषयमा यहाँ योभन्दा बढी लेखिनँ ।

मोबाइलकै विषयमा अर्को प्रसङ्ग जोडौँ, अब यहाँनेर विकट गाउँका निम्नवर्गीय परिवारका बच्चाहरूको मोबाइलको माग र त्यसले अभिभावकमा परेको मानसिक तनावको । जुन परिवारमा साँझ र बिहानको दुई छाक टार्न मुस्किल पर्छ । जिउमा न्यानो लुगा छैन, हिउँदको चिसोमा जुत्ताविहीन खुट्टाहरू पटपटी फुटेका छन् । ती अभिभावकमा बच्चाको मोबाइलको रहर पूरा गर्नु भनेको आकाशको जून टिप्नु जत्तिकै कठिन छ । बच्चामा पनि देखासिकी छ, जिद्धीपन छ, अबोधपन छ । आमाबुवाको आर्थिक अवस्था बुझ्न सक्ने परिपक्व मानसिक अवस्था छैन । दोष कसलाई दिने — गरिबीलाई, बच्चाको रहरलाई या त अभावको खाल्डो पुर्न नसक्ने पुर्पुरोलाई ! 

भलाकुसारीकै क्रममा यसपटकको गाउँ बसाइमा एकजना आयस्रोतविहीन भाउजूले मोबाइलकै विषयलाई लिएर दुखेसो पोखिन् मसँग । जसले ज्याला मजदुरीकै भरमा पाँच छोराछोरी एक्लैले हुर्काउनुपरेको छ । 

‘गोसी ! मोबाइल किन्दे भुणन्छ, मेरो चेलो मुई काबठे दिउँ, भोल पर्भात भात खानाकी चाङल त नाइथिन् मेरा घर । तै का बा भया भ्या त सोर झाइबरी लै किनि दी हालन्थे । दुखारीको भाग्य इसोइ हो धेक्या,’ अर्को प्रसङ्मा उनले भनिन्, ‘हेर गोसी ! नान कमाइ हुन्यानका चेलाचेली मदेशैनी पड्डु गए, कसैका ङेलै बोर्डिङैनी पड्डान । केइ कमाइ नहुन्याका गेदान् हुन्, यमुणा स्कुल झाने ।’

झट्ट सुन्दा सामान्यजस्ता लाग्ने उनका कुरामा एकल महिला भएर बच्चा हुर्काउनुको अत्यधिक पीडा थियो । एक आमाले छोराछोरीलाई अरुसरह उपभोग्य वस्तु किन्न नसकेकामा ग्लानिबोध थियो, गाउँघरको शैक्षिक वातावरणप्रति वितृष्णा थियो र उनी सन्तानको सुन्दर भविष्यप्रति चिन्तित थिइन् । ‘केइ कमाई नहुन्या चेलाचेली हुन् यमुणा स्कुल झाने’ भन्ने वाक्यले म निकैबेर टोलाएँ, विगत सम्झिएँ, आफ्नो बाल्यकालतिर फर्किएँ । जुन स्कुलमा उनले छोराछोरी भर्ना गरेकी छिन्, त्यही स्कुलबाट अक्षरारम्भ गरेर म आफैँले पनि स्नातकोत्तर प्रथम श्रेणी उत्तीर्ण गरेकी छु, तर अहिले बोर्डिङ पढेर वा सहरतिर पढेर मात्रै जागिर पाइन्छ भन्ने आशा ती निरक्षर आमामा देखिन्छ र सुखद पक्ष त के भने आफूले जति सङ्घर्ष गर्नुपरे पनि सन्तानलाई उच्च शिक्षा हासिल गराउनुपर्छ भन्ने बोध भएको पाइन्छ ।

गाउँ अहिले गाउँजस्तै छैन । वर्षभरि खान पुग्ने खेतीयोग्य उर्वर जमिन बाँझो भएको छ । वनमारा झार र रूखको आक्रमणले खेतबारी जङ्गलमा परिणत भएको छ । दुःख गरेर लगाएका बालीनाली वन्यजन्तुले सोत्तर पारेका छन् । मान्छेभन्दा जीर्ण हुन लागेका घरहरूको सङ्ख्या बढी छ । ६, ७, ८, ९ दशक पार गरेका वा जीवनको उत्तराद्र्ध अवस्थामा पुगेका वृद्धवृद्धाले गाउँ रुँघेका छन् । 

वृद्धभत्ता उनीहरूको जीविकोपार्जनको गतिलो स्रोत बनेको छ । वृद्धवृद्धाका आँखाहरू दिनहुँजसो कि त सन्तान आउने मूलबाटोतिर तेर्सिएका हुन्छन् कि त रिङटोन सुन्न कानहरू मोबाइलको घन्टीतिर एकोहोरिएका हुन्छन् । घरमा बिजुली, भकारीभरि वर्ष दिनभरि पुग्ने अन्न, फेर्ने नयाँ लुगा, उहिलेको जस्तो प्रत्येक घरमा दुहुनो भैँसी नभए पनि हरेकको हातमा एउटा एन्ड्रोइड मोबाइल फोन अनिवार्य देखिन्छ । जुन आवश्यक पनि हो, जसले भर्चुअल माध्यमबाटै भए पनि सन्तानबीचको दूरीलाई घटाइदिएको छ, नियास्रो मेटाइदिएको छ । 

कठिन दैनिकी, एक्लोपन, कमजोर स्वास्थ्य अवस्थाका बीच पनि ती बा–आमाहरू कहिल्यै आफ्ना सन्तानसँग गुनासो गर्दैनन्, पीडा पोख्दैनन् कसैसँग । बस हामी ठीक छौँको स्वर मात्र गुन्जिन्छ हरेकपटक । धुलो, धुँवा, ढुङ्गा, माटो र कमजोर आर्थिक स्थितिसँग सङ्घर्ष गर्दागर्दै यति विशाल हृदय बोकेर बाँचेका छन् कि जस्तोसुकै पीडा र अभावमा पनि मुस्कुराइदिन्छन्, सन्तानका खुसीका लागि र कहिल्यै विमुख हँुदैनन् आफ्नो कर्तव्य र दायित्वबाट ।

माथिका समस्या त गरिबी, पछौटेपन, विकट भौगोलिक अवस्था आदिले निम्तिएका हुन् तर वर्तमान समयमा गाउँघरमा सबैभन्दा समस्या र तनावको कारण जाँड–रक्सी बन्दै आएको पाइन्छ । जाँडरक्सीकै कारण कतिका दाम्पत्य जीवन तहसनहस भएका छन्, कतिका घरको सुखशान्ति उडेको छ । 

साँझ–बिहान छाक टार्न सहयोग माग्दा सयकडा तीन ब्याजका दरले पैसा सापटी दिने साहुमहाजनहरू रक्सी भने नगद नभए पनि उधारोमा बेच्दा रहेछन्, केही मूल्य बढाएर । यो रक्सी नामक जिनिसले कमाएको पैसा मात्रै स्वाहा पारेको छैन, चौबिसेै घन्टे तलतलले आर्थिक हैसियत कोसौँ पछाडि धकेलिदिएको छ । आफ्नै इज्जत र सम्मानको धज्जी उडाइदिएको छ । 

सूर्यास्तसँगै परिवारमा कालो बादल मडारिएको हुन्छ, समाजको स्वच्छ वातावरण नै धमिलिएको पाइन्छ । दिनहुँ तथानाम गर्ने अपाच्य गाली र अपशब्दहरूले सीमा नाघेको देखिन्छ । यसको व्यापारले गाउँका दुई–चार व्यक्ति उँभो लागे पनि अधिकांश परिवार ओरालो गतिमा जीवन काटिरहेका छन् । यसबाट निम्तिने शारीरिक र मानसिक हिंसाले जीवनस्तर झनै जटिल बनिरहेको छ । परिवारका हरेक सदस्यहरू अधिकांश समय त्रासमा मात्रै बाँचेका छन् । यस्ता व्यक्तिहरूले जाँडरक्सी मात्रै खाएका छैनन्, सन्तानहरूको बचपन खाइदिएका छन्, बा–आमाको बुढ्यौलीको निद्रा खाइदिएका छन्, रक्सीको चुस्कीसँगै श्रीमतीका सुन्दर सपना निलिदिएका छन् । 

म तल्लो गाउँतिर निस्किँदा एकजना परिचित व्यक्ति अनियन्त्रित तरिकाले हिँड्दै गरेका भेटिए । मलाई चिन्न सक्ने परिस्थितिमा नभएकाले वर्षौंपछि अकस्मात् भेटिएका ती आफन्तसँग कुरा गर्न उचित ठानिनँ मैले । 

उनी आफ्नै धुनमा मग्न थिए, बेसुरिलो भाकामा नबुझिने तरिकाले देउडा गीत गुनगुनाउँदै थिए ः 

‘उन केरो केरो कति राम्रो पाटनको सेरो 

घर छैन घरबार छैन दुखारी करम मेरो ।’

महङ्गीले बजार भाउ अकासिएको छ, गाउँघरमा आयस्रोतको माध्यम शून्य छ । गीतको भावार्थजस्तै ज्याला मजदुरी गरेको पैसा रक्सीको बोतलसँग साटेपछि घर र घरबार रहने कुरै भएन । उहाँ त समाजको एउटा प्रतिनिधि पात्र मात्रै हो । कतिले घर बर्बाद पारेका छन्, कतिले परिवार बिथोलेका छन् र खासमा त जानिदो नजानिदो तरिकाले आफ्नै जिन्दगी दुःख र पीडातिर धकेलेका छन् । 

यस्ता मादक पदार्थका कारण दुःख, अभाव र पीडाका बीच पनि मुस्कुराउने प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँ समयक्रमसँगै कुरूप देखिन थालेको छ । पुर्खाको मान–मर्यादा र अस्तित्व धरापमा पर्न थालेको छ । यस्ता दृश्य देख्दा मनमनै सोच्छु — गाउँका बाहरूले रक्सी मात्रै खाएका छैनन्, रक्सीले बाहरूलाई पनि भित्रभित्रै खोक्रो बनाइसकेको छ, रक्सीले बाहरूलाई खाइसकेको छ । मोबाइल र बच्चाको सम्बन्धजस्तै बाहरू र बोतलहरूको पनि अदृश्य चुम्बकीय शक्ति छ, जसले एकअर्कालाई नजिक तानिरहन्छ, तानिरहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता जोशी
सरिता जोशी
लेखकबाट थप