आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

शिक्षामा बिदेसिने पैसा लगानी गरे नेपालमै विश्वस्तरीय शैक्षिक संस्था बन्छन् : उपकुलपति सिंह

आइतबार, २१ साउन २०८०, ११ : २२
आइतबार, २१ साउन २०८०

काठमाडौँ । हरेक वर्ष हजारौँको सङ्ख्यामा विद्यार्थी बिदेसिने क्रम रोक्न नेपालकै शैक्षिक संस्थाहरूलाई अब्बल बनाउनुपर्ने मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. नन्दबहादुर सिंहले बताएका छन् ।

मोर्गन इन्टरनेट कलेजमा कक्षा–११ मा भर्ना भएका विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नै राम्रा शैक्षिक संस्थाहरूलाई विशेष सहयोग उपलब्ध गराएर नेपाली विद्यार्थी बिदेसिन रोक्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

मोर्गन इन्टरनेट कलेजले शुक्रवार नवआगन्तुक विद्यार्थीहरूको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो । मोर्गन इन्टरनेट कलेजमा कक्षा ११ मा विज्ञान, व्यवस्थापन र कानुन अध्ययनका लागि करिब एक हजार विद्यार्थी भर्ना भएको कलेज प्रशासनले बताएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति सिंहले भने, ‘अस्ट्रेलिया र जापानमा तेस्रो ठुलो सङ्ख्या नेपाली विद्यार्थीको छ । विदेशमा अध्ययनको नाममा खर्बौँ रुपैयाँ विदेश पठाइरहेका छौँ । त्यो लगानी नेपालको शैक्षिक क्षेत्रमा हुने हो भने विश्वस्तरीय शैक्षिक संस्था नेपाल मै बन्न सक्छ ।’

तर, पछिल्ला दिनहरूका निजी क्षेत्रको प्रयासमा नेपालमा क्रमशः लोभ लाग्दा शैक्षिक संस्थाहरू बन्न थालेको उनले बताए ।

नेपालको शिक्षा क्षेत्रले उल्लेख्य प्रगति गर्न नसक्नुको दोष प्राध्याकपहरुले पनि लिनुपर्ने सिंहले बताए । ‘नेपालका प्राध्यापक मध्ये ५ प्रतिशत भन्दा कम मात्रै सृजनशील छन् । नेपालका १४ वटा विश्वविद्यालयमध्ये कुनैले पनि पेटेन्ट दर्ता गराउन सकेको छैन । विकसित देशका लाखौँ लाख पेटेन्ट दर्ता छन्’, सिंहले भने ।

नेपालका लागि योग्य विद्यार्थी तयार गर्न यहीँका शिक्षण संस्था बलियो बनाउनुपर्ने उनले बताए ।

उनले मध्यपश्चिम विश्वविद्यालय गर्व गर्न लायक विश्वविद्यालयको रूपमा स्थापित भइरहेको सिंहले बताए । विश्वविद्यालयमा अहिले ४७ वटा प्रोजेक्ट सञ्चालनमा रहेको र ती सबै सम्पन्न हुने क्रममा रहेको उनले बताए ।

‘नेपालका विश्वविद्यालय मध्ये सबैभन्दा बढी पुँजीगत खर्च गर्नेमा मध्यपश्चिम विश्वविद्यालय पहिलो हो । त्यसबाहेक, हामीले अनुसन्धान र विकासमा कुल बजेटको १० प्रतिशत छुट्ट्याउने गरेका छौँ’, उनले भने ।

मोर्गन इन्टरनेट कलेजले नेपालको शिक्षा क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान गरेको भन्दै उपकुलपति सिंहले कलेजको प्रशंसा गरेका छन् ।

मोर्गन इन्टरनेशनल कलेजका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारीले मोर्गनका दर्जनौँ विद्यार्थीले हरेक वर्ष मेडिकल र इन्जिनियरिङ अध्ययनको प्रवेश परीक्षामा नाम निकाल्नुले नै यसको गुणस्तर प्रमाणित गरेको बताए ।

कलेजले सबै खालका विद्यार्थीलाई भर्ना लिएर उच्च माध्यमिक शिक्षा परिषद्को परीक्षामा सबैलाई उत्कृष्ट नतिजा दिलाउँदै आएको डा. भण्डारीले बताए ।

कलेजले अभिमुखीकरण कार्यक्रम मार्फत कक्षा ११ र १२ मा अध्ययन गर्दा विद्यार्थीले ध्यान दिनुपर्ने विषय र दुई वर्ष राम्ररी अध्ययन गर्दा प्राप्त हुन सक्ने अवसरहरूका बारेमा विद्यार्थीलाई जानकारी गराएको थियो ।

मोर्गन इन्टरनेट कलेजले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । स्नातक तहमा ब्याचलर इन कम्प्युटर एप्लिकेशन (बीसीए), ब्याचलर इन्फरमेशन म्यानेजमेण्ट (बीआइएम), ब्याचलर अफ विजेनेश म्यानेजमेन्ट (बीबीएम), ब्याचलर अफ विजनेश स्टडिज (बीबीएस), ब्याचलर अफ आर्टस् अन्तर्गत सोसल वर्क लगायतका विषय अध्यापन भइरहेको छ । स्नातकोत्तर तहमा कलेजले मास्टर्स अफ बिजनेस स्टडिजको सम्बन्धन लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप