शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भदौ १५ गते नारायण रायमाझीको एकल साँझ हुने

सोमबार, ०४ भदौ २०८०, २१ : ३३
सोमबार, ०४ भदौ २०८०

काठमाडौंँ । विशिष्ट लोकदोहोरी गायक तथा संगीतकार नारायण रायमाझी एकल साँझमा गुन्जने भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले यहि भदौ १५ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा रायमाझीको एकल साँझ आयोजना गर्ने भएको हो ।

नेपाल टेलिकम मुख्य प्रायोजक रहेको एकल साँझको ‘नारायण रायमाझी साङ्गीतिक साँझ–२०८०’ नाम दिइएको छ । कार्यक्रममा गायक रायमाझीले आफ्ना लोकप्रिय पुरानादेखि नयाँ दर्जन बढी गीत प्रस्तुत गर्नेछन् । प्रतिष्ठानले पहिलो पटक श्रष्ठाको एकल साँझ आयोजना गर्न लागेको हो ।

आइतबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै प्रतिष्ठानले एकल साँझको बिभिन्न पक्षबारे जानकारी गराएको छ । कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले अग्रज कलाकारको सम्मान, लोककला र संस्कृितको संरक्षण गर्ने उद्देश्यका साथ यो वर्षबाट एकल साँझ आयोजना थालेको जानकारी दिइन् ।

‘हामीले अबदेखि हरेक वर्ष एक अग्रज कलाकारको एकल साँझ आयोजना गर्ने उद्देश्य राखेका छौ । त्यसै अनुरुप यो वर्ष नारायण रायमाझी एकल साँझ हुन लागेको हो’, थापाले भनिन् ।

कार्यक्रममा गायक तथा संगीतकार रायमाझीले प्रतिष्ठान जस्तो गरिमामय संस्थाले गर्न लागेको पहिलो एकल साँझमा आफू छनोटमा पर्नु भनेको आफ्नो अहोभाग्य भएको बताए । उनले आयोजना हुन लागेको एकल साँझ आफ्नो जीवनकै पहिलो एकल साँझ भएकोले आफ्ना लागि चुनौती र अवसर दुबै रहेको धारणा राखे ।

‘जीवनमा एकल साँझ गरिन्थ्यो, गरिँदैन थियो । प्रतिष्ठानले एक अवसर दिएको छ’, रायमाझीले भने ‘कताकता डर, कताकता उत्साह लागि रहेछ । म पनि एउटा नयाँ अनुभव गर्दैछु ।’ जीवनका सुख, दुःखका नयाँ तथा पुराना गीत संगीत दर्शकसमक्ष पोख्ने सुवर्ण अवसरको रुपमा एकल साँझलाई आफूले लिएको उनले सुनाए ।

‘जीवनमा धेरै गीत गाइयो । कार्यक्रममा सबै गीत प्रस्तुत गर्न सकिदैन होला । सकेसम्म सबै खालका रंगले भरिएका गीतहरु राख्नेछु’, उनले अगाडि थपे, ‘अलिकति भावना, अलिकति संस्कृति बोकेका, सबैको मन छोएका, जीवनमा आफुलाई सन्टुष्टि मिलेका जतिसक्दो धेरै गीत राख्ने कोसिस गर्नेछु ।’

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्धक हरि ढकालले लोक गीत संगीत राष्ट्रको पहिचान भएको बताउँदै लोक गीत संगीतको अग्रज श्रष्ठाको कार्यक्रममा जोडिन पाउँदा खुसी लागेको बताए । दिनको १ देखि ७ बजेसम्म ६ घन्टा चल्ने एकल साँझमा हजाराै दर्शक हुने अपेक्षा आयोजकको छ ।

प्रज्ञा प्रतिष्ठानको हलभित्र भिआइपीहरुका लागि प्रत्यक्ष हेर्न र सुन्ने ब्यवस्था गरिने र बाहिर चौरमा स्क्रिनमार्फत सर्वसाधारणका लागि हेर्ने र सुन्ने ब्यवस्था हुनेछ । कार्यक्रमको खर्च तीस लाख हुने आयोजकले अनुमान गरेको छ । क्लालिटी साउन्ड सिस्टमसहित उत्कृष्ट तरिकाले आयोजना हुने कार्यक्रमका लागि टिकटको समेत ब्यवस्था गरिनेछ ।

एकल साँझको प्रोमो समेत सार्वजनिक गरिएको कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष तथा संरक्षक दुर्गा रायमाझी, चन्द्र शर्मा, बद्री पंगेनी, राजन लम्साल, उज्ज्वलजंग ठकुरी, रामचन्द्र कोइराला, आरसी कोइराला, प्रेमराजा महत लगायत थुप्रै ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

पाल्पा जिल्ला साबिकको झडेवा वडा नं. ५ र हाल माथागढी गाउँपालिका वडा नं. ४ देउवीर, गोठादीमा वि.सं. २०२० सालमा जन्मिएका गायक रायमाझी लोक गीत सङ्गीतमै जीवन समर्पण गर्ने ब्यक्ति हुन् ।

२०४२ सालमा कारगिल (रेलिमै) बाट आफ्नो साङ्गीतिक यात्राको  थालनी गरेका रायमाझीका भुईंफुलबुट्टे चोलीमा, राम्दीपूल तरने बित्तिकै, राम्दी पूल तर्ने, गेटमा बेलीजाई, कालो केशमा रातो रिबन, शिरमा रिबन, तिनाउ खोलामा, पसिनाले पैसा साटेर, माया पैंचो नदेउ साईंली, लाइछौ बेशन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ माया, सान्नानीले झुक्कायो मलाई लगायतका सयौँ लोकप्रिय गीतहरू छन् ।

रायमाझीले ‘गोर्खा पल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ लगायतका फिल्म निर्माण र निर्देशन गरेका छन् । फिल्म ‘परदेशी २’ प्रदर्शनमा आउन बाँकी रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप