शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

फालेलुङमा प्रहरी चौकी स्थापना

शुक्रबार, १५ भदौ २०८०, ०८ : ५३
शुक्रबार, १५ भदौ २०८०

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकास्थित थकेपुङमा प्रहरी चौकी स्थापना गरिएको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १५ जनाको दरबन्दी रहने गरी चौकी स्थापना गरिएको हो । हाल छ प्रहरी मात्र कार्यरत छन् । 

मन्त्रिपरिषद्को २०७६ असोज ७ गतेको बैठकले उक्त स्थानमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको हो । सोही निर्णयबमोजिम बुधबार प्रहरी चौकी उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

फालेलुङ गाउँपालिकाको केन्द्र रहेको सो स्थानमा यसअघि प्रहरी चौकी थिएन । गाउँपालिकाको सेवा केन्द्रमा सुरक्षाको प्रबन्ध नहुँदा नजिकै रहेको इलाका प्रहरी कार्यालय मेमेङले यहाँ सुरक्षा प्रदान गर्दैआएको थियो ।

यहाँ घरभाडामा लिई प्रहरी चौकी स्थापना गरिएको हो । फालेलुङ गाउँपालिका स्थापना हुँदा यसको केन्द्र गाउँपालिकाको वडा नं ३ मच्छेबुङ तोकिएको थियो । यहाँ जनप्रतिनिधि निर्वाचित भएपछि गाउँपालिकाको केन्द्र सोही वडाको थोक्लिम्बामा सारिएको थियो । पछि गाउँपालिकाले गाउँपालिकाको केन्द्र रहेको स्थानको नाम थोक्लिम्बालाई थकेपुङ कायम गरेको छ ।
 
जिल्लाका आठ स्थानीय तहमध्ये फालेलुङ र हिलिहाङ गाउँपालिकाको सेवा केन्द्रमा प्रहरी चौकी थिएन । हिलिहाङको सेवा केन्द्र पञ्चमीमा इलाका प्रहरी कार्यालय अमरपुरले सुरक्षा प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप