बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

तातोपानी नाका खुलेपछि व्यवसायी भन्छन्–सरकारले एलसी लागू नगर्दा मनपरी शुल्क लियो

शुक्रबार, १५ भदौ २०८०, २१ : ०८
शुक्रबार, १५ भदौ २०८०

काठमाडौँ । नेपाल–चीन उत्तरी सीमा तातोपानी नाका आजदेखि मानिसहरुका लागि आवतजावत खुला भएको छ । 

साढे आठ वर्षपछि मानिस आवतजावतका लागि सुरु भएको हो । यससँगै तातोपानी लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएकाहरु आज चीन प्रवेश गरेका छन् । 

आज बिहान ८ बजे सिन्धुपाल्चोक सीमा क्षेत्रका बासिन्दाहरुका १ सय २८ पास जारी भएको छ भने कतिपय नेपाली नागरिक  चिनियाँ भगको पुल बजारसम्म पुगेका छन् । चीन प्रवेश गरेका केही नेपालीहरुले भने फर्कँदा आवश्यक पर्ने घरायसी समान लिएर आएका छन् ।  

आज चीनतर्फ जान १ सय २८ जनाको  पास जारी भएको अध्ययन कार्यालयले जनाएको छ । सीमाक्षेत्रमा बस्ने नेपाली र चिनियाँ १ सय ८ जना नेपाल आएका छन् । त्यस्तै पासपोर्ट प्रयोग गरेर नेपालतर्फ दुई जना आएका छन् भने नेपालबाट तीन जना चीन गएका छन् । विसं २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको सो नाका पूर्णरुपमा बन्द थियो । 

नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो । भूकम्पबाट सृजित कठिनाइ पन्छाएर सिमितरुपमा मात्रै सञ्चालन भएको नाका वि.सं.२०७६ फागुनमा विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि पुनःबन्द भएको थियो । नाका खुलेसँगै सीमा क्षेत्रका स्थानीय र व्यवसायीमा खुसी छाएको छ । 

चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ (१ मे) बाट दोहोरो आयात निर्यात खुलाइएको थियो । आयात निर्यात खुलेलगत्तै नेपाल सरकारले नाका खोल्न कूटनैतिक पहल गर्दै आएको थियो । केही समयअघि चिनियाँ अधिकारीले आजैदेखि मानिस ओहोरदोहोरका लागि नाका सञ्चालन गर्ने तयार रहेको खबर पठाएका थिए । त्यसपछि चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । नाका खुलेसँगै सीमा क्षेत्रका स्थानीय र नाकाबाट व्यावसाय गर्नेहरु खुसी भएका छन् । चिनियाँ पक्षले आफ्नो भगको पुल बजारमा पसलहरु समेत सञ्चालन गरिसकेका छन् । 

नाका खुलेपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै तातोपानी नाकाका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले चिनियाँ पक्षले नेपाल जोड्नका लागि यो नाकालाई उच्च प्राथमिकता दिएकाले क्रमिक रुपमा पूर्ण रुपमा सञ्चालन हुने सन्देश दिएको बताए । उनले पर्यटक भिसामा आउनेलाई ल्हासासम्मै जान दिने र स्थानीयलाई बिस्तारै खासा बजारसम्म जान दिने बताए । उनले खासामा व्यवसायीहरुलाई गोदाम राख्न नदिने, कारणले व्यापारीलाई सामान लोड गर्न जान नदिएका कारण व्यापारमा खासै ठूलो असर नपर्ने बताए । 

प्रमुख भन्सार अधिकृत केसीले खासासम्म सामान लोड गर्न व्यवसायी र ट्रक कन्टेनरहरुलाई जान दिँदा धेरै नै सहज हुने बताए । तिब्बतमा नेपाली सामानको माग बढ्दै जाँदा निर्यात बढ्दै जाने उनले बताए । चिनियाँ पक्षको सकारात्मक पहल भइरहेकाले हल्लामा मात्रै नभई वास्तविक रुपमा नै नाका सुसञ्चालन हुने आशा गरेको उनले बताए ।

त्यस्तै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णुबहादुर खत्रीले व्यवसायीहरुले धेरै पहल गर्दापनि दुई देशबीचको छलफल राम्रो नहुँदा नाका खुल्न नसकेपनि अहिले पुनः सञ्चालन हुँदा खुसी लागेको बताए । उनले नाका सुसञ्चालन हुनेमा ढुक्क रहेको र यसले पर्यटकका लागि सहज भएको बताए । उनले सबैकुरा व्यवस्थित भएपछि स्थानीयले सामान ल्याएर व्यापार गर्ने स्थिति सिर्जना भएको बताए । 

खत्रीले व्यापारीहरु चीनबाट सामान ल्याउँदा व्यवसाय उक्सिने र व्यवसाय गरेरै जीवनयापन गर्नसक्ने स्थिति बन्ने बताए । उनले सरकारले मूल्यांकनको हिसाबमा आउनुपर्ने सामान (एलसी) बाटै सामान आउनुपर्ने बताए । नेपाल सरकारले मनपर्दी रुपमा मूल्यांकन राखेको बताए ।

त्यस्तै नेपाल ट्रक कन्टेनर ढुवानीका अध्यक्ष अर्जुनबहादुर सापकोटाले आठ वर्षपछि आफै चीनमा गएर सामान किनेर आएको र अब दैनिक रुपमा जान पाउने कुराले खुसी बनाएको बताए । उनले नेपाल र चीन सरकारले बिस्तारै नाका खुलाउँदै जाँदा व्यापार, व्यवसाय सहज बन्ने बताए । उनले कन्टेनर चीनको खासा बजारसम्मै पुग्न नपाउँदा केही कठिनाइ भएको बताए । उनले पहिलाकै अवस्थामा नाका सञ्चालन हुन नेपाल सरकारले आफ्नो भूमिका निभाउनुपर्ने र सरकारले यो बीचमा आवश्यक पहल नगरेको बताए ।

त्यस्तै व्यवसायी दोर्जे लामाले स्थानीयलाई नाका खुलेपछि धेरै सहज हुने बताए । उनले अबबाट स्थानीयहरु जो कोही पनि नाकापारी गएर सामान किन्न पाउनुपर्ने बताए । उनले स्थानीयहरुलाई विशेष सुविधा दिनुपर्ने बताए ।

लामाले तत्कालका लागि सामान किनेर ल्याउन पाउने र आफ्नो गुजारा चलाउन पाउनुपर्ने बताए । उनले नाका खुलेसँगै स्थानीयलाई धेरै सुविधा हुने विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप