सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
कार्यक्षेत्र विवाद

पर्यटन मन्त्रालयमा किरातीको एकल शासन

७ महिनामा एउटा पनि नीतिगत निर्णयमा राज्यमन्त्रीलाई सहभागी गराइएन
बुधबार, २० भदौ २०८०, २३ : ०१
बुधबार, २० भदौ २०८०

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको व्यवहारबाट आजित हुँदै केही दिन अघि मात्रै राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पुगिन् । 

आफ्नै पार्टीबाट मन्त्री बनेका किरातीको व्यवहारले आजित बनेकी ठकुरी ‘कि राज्यमन्त्रीबाट हटाईदिनुस् कि जिम्मेवारी दिनुस्,’ भन्दै प्रधानमन्त्री प्रचण्डलाई विन्ति विसाइन् । 
प्रचण्डले ‘किरातीलाई म सम्झाउँला,’ भनेर फर्काए । किरातीले अधिकार प्रत्यायोजन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत बोधार्थ दिएको पत्रमा राज्यमन्त्रीलाई १६ वटा जिम्मेवारी दिएको देखिन्छ । 

तर, व्यवहारमा ‘वाईपास’ गर्दै किरातीले एकलौटी निर्णय गरेको राज्यमन्त्री ठकुरीको गुनासो छ । गत साता मात्रै पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह गृह खरिद गर्ने प्रस्ताव अगाडि बढाएको थियो । कोषमा श्री गोरखनाथ कन्ट्रक्सन एन्ड मन्र्चेन्डिसर प्रालि र म्याप ईन्टरप्रेनर्स प्रालि गरी दुई कम्पनीले मात्र टेन्डर हालेका थिए । 

राज्यमन्त्री ठकुरीले टेन्डरमै गोलमाल भएको सूचना पाएपछि तत्काललाई काम रोक्न कोषका पदाधिकारीलाई निर्देशन दिइन् । तर, मन्त्री किराती आफैंले मन्त्रीस्तरीय निर्णय गरेर काम अगाडि बढाउन निर्देशन दिए । 

मन्त्रीले नै अधिकार प्रत्यायोजन गरेको विषयमा काम गर्दा उल्टै हस्तक्षेप हुँदा आफू हेपिएको महसुस ठकुरीले गरेकी छिन् । अर्को विषयअन्तर्गत सहसचिव चक्रबहादुर बुढालाई पर्यटन विभागको महानिर्देशक बनाएर पठाउने भन्दै सचिवलाई बोलाएर राय लेख्न ठकुरीले निर्देशन दिएकी थिईन् । सचिवले हुन्छ भने । तर, यसबारे मन्त्री किरातीलाई जानकारी गराएपछि राज्यमन्त्री ठकुरीको योजना तुहियो । मन्त्री किरातीले बुढालाई पर्यटन महाशाखाको मात्र जिम्मेवारी दिए । 

केही दिन अघिमात्रै पुरातत्व विभागका तीनजना प्रमुखहरुको सरुवामा समेत मन्त्रीले हस्तक्षेप गरेर सरुवा गरिदिएको ठकुरीको सचिवालयले जनाएको छ । पुरातत्व विभाग, राष्ट्रिय अभिलेखालय र संस्कृति महाशाखाको सहसचिव सरुवा गर्दा ठकुरीले चाल नै पाइनन् । मन्त्री किरातीले आफैं निर्णय गरेर सरुवा गरिदिए । 

सचिवालयका एक कर्मचारीका अनुसार मन्त्री किरातीले राज्यमन्त्री ठकुरीलाई एउटा पनि नीतिगत निर्णयमा सहभागी गराएका छैनन् । हवाई प्लाईङका लागि दुईवटा कम्पनीलाई स्वीकृति दिएका किरातीले यस विषयमा पनि ठकुरीलाई कुनै जानकारी दिएनन् । 

किरातीले योजनाका फाईलहरु सिधै आफै तानेर हेर्ने र निर्णय गर्ने गरेपछि मन्त्रालयका कर्मचारीहरुसमेत आश्चर्यचकित छन् । पर्यटन विभागको बजेट बनाउने कार्यमा समेत राज्यमन्त्री ठकुरीलाई सहभागी गराइएन । 

‘तपाईले राज्यमन्त्री ठकुरीलाई वाईपास गरेर निर्णय गर्नुहुन्छ रे हो ?’ भन्ने प्रश्नमा किराती भन्छन्,‘खै मैले त्यस्तो गरेजस्तो लाग्दैन । म काममा विश्वास गर्ने मान्छे, कुरा मिलाउन जान्दिन । कुरो यत्ति हो ।’ 

राज्यमन्त्री ठकुरीले आफूलाई प्रत्यायोजित अधिकार मन्त्री आफैले प्रयोग गर्ने गरेको गुनासो पोखिन् । उनले रातोपाटीसँग भनिन्,‘यो हाम्रो आन्तरिक मामिला हो । तर, सोधिहाल्नु भयो । म भन्छु । मलाई मन्त्रीज्यूले जुन अधिकार प्रत्यायोजन गर्नुभएको थियो, त्यो आफै प्रयोग गर्नुहुन्छ । यति भनेपछि कुरा बुझ्नु भयो होला ।’  
 

राज्यमन्त्रीलाई कुन–कुन अधिकार प्रत्यायोजन गरिएको थियो ?

– राप्र प्रथम श्रेणीका अधिकृतहरुको पदस्थापना, राजीनामा, अवकाश, छात्रवृत्तिसम्बन्धी विषय ।

– मन्त्रालय अन्तर्गतका कोष, प्राधिकरण, निगम, विकास समिति, परिषद्, बोर्ड, प्रतिष्ठानहरु, तालिम केन्द्रका पदाधिकारीहरुको विदा र आन्तरिक भ्रमण काज स्वीकृत गर्ने ।

– पर्यटन उद्योग, पर्यटन क्षेत्र, धार्मिक एवं ऐतिहासिक क्षेत्र र पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण, प्रवद्र्धन र विकास गर्ने सम्बन्धी कार्यक्रमहरुको अनुगमन र मूल्याङ्कन गर्ने विषय ।

– मन्त्रालय र अन्तर्गतका राष्ट्रिय गौरवका परियोजना र निकायका कार्यसञ्चालन र कार्यसम्पादनको अनुगमन र निरीक्षण गरी कार्यान्वयनमा प्रभावकारीता बढाउन निर्देशन दिने ।

– मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकायका आर्थिक व्यवस्थापन तथा बेरुजु फछ्र्यौट सम्बन्धमा मार्गदर्शन गर्ने विषयहरु ।

– हवाई उडान प्रशिक्षण संस्थालाई ईजाजत दिने विषयमा रायसहित पेश गर्ने विषयहरु ।

– प्याराग्लाईडिङ, अल्ट्रालाईटको ईजाजत दिने विषयमा रायसहित पेश हुने विषय ।

– हवाई दुर्घटना जाँच, खोज तथा उद्धारसम्बन्धी विषय ।

– संग्राहलय र पुरातत्व विभागबाट सञ्चालन हुने योजना, कार्यक्रम, पुनर्निर्माण, स्वीकृतिलगायत सचिव स्तरबाट नटुंगिने विषयहरु ।

– व्यवस्थापिका संसद र संसदीय समितिका निर्देशन कार्यान्वयन गर्ने र गराउने विषय ।

– संस्कृति पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकाससँग सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थामा गर्नुपर्ने राय सुझाव पेश गर्ने ।

– संस्कृति पर्यटन तथा हवाई यातायातको विकाससम्बन्धी कार्यक्रमहरुको अनुगमन तथा मूल्याङ्कनसम्बन्धी विषयहरु ।

– नेपालमा रहेका विमानस्थलहरुको निरीक्षण, अनुगमन तथा सुधारका लागि राय सुझाव पेश गर्ने विषयहरु ।

पर्यटन विभागबाट सञ्चालन हुने निकायहरुको कार्यसम्पादनको प्रभावकारिता वृद्धि गर्ने अनुगमन र मूल्याङ्कन गर्ने विषयहरु ।

विषयवस्तुको गाम्भीर्यता हेरी तपाई (राज्यमनत्री) ले म (मन्त्री) समक्ष पेश गर्न उपयुक्त ठानेका विषयहरू । 

 

यति धेरै जिम्मेवारी दिइए पनि राज्यमन्त्री सिर्पाली ठकुरी आफूले केही जिम्मेवारी नपाएको भन्दै निरन्तर गुनासो गरिरहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप