आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
बिपी साहित्यिक महोत्सव

‘आक्रोश र आवेगको राजनीतिका बेला बीपीका साहित्यिक कृति महत्त्वपूर्ण हुन्छन्’

आइतबार, २४ भदौ २०८०, १४ : ४९
आइतबार, २४ भदौ २०८०

विश्वेश्वरप्रसाद कोइराला (१९७१ भदौ २४) नेपाली साहित्यिक क्षेत्रमा सार्वाधिक चर्चित व्यक्तित्व हुन् । नेपाली साहित्य अध्ययन गर्ने हरेक व्यक्ति बीपीको साहित्य सिर्जनाबारे राम्रो परिचित छन् । नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका बीपीलाई उनको ११०औँ जन्म जयन्तीका दिन (भदौ २४) गतेलाई स्मरण गर्दै आजदेखि सो पार्टीले तीन दिने साहित्यिक महोत्सव मनाउँदै छ । देहान्त (२०३९ साउन ६) भएको ४१ वर्षपछि मात्र कांग्रसले किन बीपीका साहित्यलाई सम्झिन बाध्य भयो लगायत विषयमा बीपी साहित्य महोत्सवका आयोजक मीन विश्वकर्मासँग रातोपाटीका लागि शिखर मोहनले गरेको कुराकानीको सम्पादित अंशः 

–बीपी साहित्यिक महोत्सवका बारेमा अलिकति बताइदिनोस् न ? 

हामीले यो महोत्सवलाई बीपीको ११०औँ जन्म जयन्तीका उपलक्ष्यमा पहिलो पटक बीपी साहित्यिक महोत्सव गर्दैछौँ । बीपी राजनीतिक मात्र होइन, साहित्यिक व्यक्तित्व पनि हुनुहुन्थ्यो । उहाँले साहित्य क्षेत्रमा पुर्‍याउनुभएको योगदानलाई चर्चा गर्न अहिले पनि उत्तिकै आवश्यक छ भन्नका लागि र आउने पुस्ताका लागि पनि उहाँका राजनीतिक दर्शन, साहित्यिक रचना र उहाँका आदर्शहरूलाई सम्प्रेषण गर्ने उद्देश्यले भदौ २४, २५ र २६ गते हामीले महोत्सव आयोजना गरेका हौँ । 

–के के कार्यक्रम हुँदै छन् ?

यसमा २४ गते बिहान ९ देखि ९ः३० बजेसम्म ‘अयोजकिङ फर डिमोक्रेसी’ भन्ने वृत्तचित्र प्रदर्शन गरिएको छ । बीपीले लेखेका, देशका बारेमा लेखेका पुस्तकहरू बिक्री वितरण हुँदै छन् । तीन दिनमा १२ वटा विषयगत छलफल हुँदै छन् । तीन जना महत्त्वपूर्ण वक्ताहरूले  विचार व्यक्त गर्नुहुने छ । फाइन आर्ट संस्थाले चित्रहरूलाई लाइभ आर्ट गरेर प्रदर्शन गर्दै छ । त्यसैगरी आज उद्घाटनमा पार्टी सभापतिले बेलुन उडाएर कार्यक्रम उद्घाटन गर्नु भएको छ ।

–व्यक्तिगत रूपमा भन्नुपर्दा बीपीका कुन कुन पुस्तक तपाईंलाई धेरै मन पर्छन् ?

बीपीका सबै कृतिहरू महत्त्वपूर्ण र रोचक छन् । मैले पढेका पुस्तकमध्ये बीपीको आत्मवृत्तान्तले मेरो जीवनमा धेरै प्रभावित गरेको छ । त्यसैले यो पुस्तक मलाई सबैभन्दा बढी मन पर्छ ।  

–केके कुराले तपाईंलाई प्रभाव पारेको छ ?

उहाँको जेल जर्नल धेरै मार्मिक छ । आत्मवृत्तान्तले राजनीतिक नेतृत्व कसरी तयार हुन्छ भन्ने कुरा, साथीहरूसँग गर्नुपर्ने व्यवहार, सङ्गठन निर्माणका चुनौतीहरू, देशी–विदेशी शक्तिहरूको दबाब जस्ता विषय उहाँका पुस्तकमा समेटिएको हुनाले अहिलेको राजनीतिक सन्दर्भमा पनि यी कुराहरू उत्तिकै महत्त्वपूर्ण देखिएका छन् ।  

–बीपीका कति पुस्तक अध्ययन गर्नु भयो ?

मैले ३५ वटा जति पुस्तक अध्ययन गरेको छु । 

–साहित्यिक कार्यक्रम अन्य स्थानबाट नगरी किन पार्टी कार्यालयमै गर्नुभयो ?

यो प्रथम साहित्यिक महोत्सव भएको हुनाले, बीपी नेपाली कांग्रेसको संस्थापक नेता भएको हुनाले हामीले पहिलो महोत्सव चाहिँ पार्टी कार्यालयमा नै आयोजना गरेका हौँ । अब केही समय पछि हुने अरू आयोजनाहरू पार्टी कार्यालय बाहिर र जिल्ला बाहिर पनि गर्छौँ । 

–पार्टीगत तहबाट बीपीका साहित्यबारेमा सम्झन किन यतिको वर्ष लाग्यो ? 

हामीले सदैव बीपीका साहित्यका बारेमा चर्चा र स्मरण गरिराखेका छौँ । तर यतिबेला नेपाली राजनीतिमा विचारको खडेरी परेको, घटनाक्रमबाट र आक्रोश र आवेगबाट राजनीति अगाडि बढिरहेको बेला बीपीको आदर्श, सिद्धान्त र साहित्यिक कृतिहरू महत्त्वपूर्ण हुन्छन् भनेर नै महोत्सवका रूपमा आयोजना गरेका हौँ ।   

–पार्टी कार्यालयमा कार्यक्रम गर्दा अन्य आस्थाका साहित्यकारहरू आउन अप्ठ्यारो मान्छन् भन्ने लाग्दैन ? 

हामीले सबैलाई आमन्त्रण गरेका छौँ । ४८ जना वक्तामध्येमा ३० भन्दा बढी व्यक्ति भिन्न विचारका, भिन्न पार्टीका र भिन्न भिन्न क्षेत्रमा रूपमा हुनुहुन्छ । 

–तीन जना मुख्य वक्ता चाहिँ को को हुनुहुन्छ ? 

तीन जना मुख्य वक्तामध्ये पहिलो दिन ‘बीपीको साहित्य र मनोविश्लेषण’ शीर्षकमा प्राडा अभि सुवेदी वक्ता हुनुहुन्छ । दोस्रो दिन जवाहरलाल नेहरु विश्वविद्यालयका प्राडा आनन्द कुमार मुख्य वक्तामा हुनुहुन्छ । तेस्रो दिनको मुख्य वक्तामा केदारभक्त माथेमा हुनुहुन्छ । उहाँले ‘बीपीको प्रजातान्त्रिक समाजवादमा शिक्षा कस्तो हुन्थ्यो होला’ भन्ने शीर्षकमा आफ्नो मन्तव्य दिनु हुन्छ । 

–बीपीका कृतिका आम पाठकलाई के भन्न चाहनु हुन्छ ? 

बीपी राजनीतिक व्यक्ति मात्र होइन, उहाँका विचारले एउटा दल विशेषलाई मात्र सम्बोधन गर्दैन । समग्र राजनीतिमा कार्ल मार्क्स, गान्धी र बीपी उत्तिकै उचाइका व्यक्तित्वहरू हुनुहुन्छ । 

त्यसैले उहाँको दर्शन जसरी धर्मावलम्बीहरूलाई आफ्नो धर्मग्रन्थ महत्त्वपूर्ण हुन्छ, त्यसैगरी राजनीतिक गर्ने व्यक्तिका लागि बीपी विचार त्यत्तिकै महत्त्वपूर्ण साबित हुने भएको हुनाले जुनसुकै राजनीतिक आस्थाका व्यक्तिले, जुनसुकै पहिचानका व्यक्तिले, जुनसुकै भूगोलका व्यक्तिले, जुनसुकै उमेरका व्यक्तिले पनि बीपीका साहित्य अध्ययन गर्‍यो भने राजनीति र साहित्यलाई सँगसँगै बुझ्ने अवसर मिल्छ । त्यसो भएको हुनाले यस सञ्चार माध्यममार्फत सम्पूर्ण विविध आस्था र विचारका मानिसलाई पनि यो महोत्सव भ्रमण गर्नका लागि अनुरोध गर्दछु ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप