शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

१६औँ योजनामा आन्तरिक उत्पादन र रोजगारीलाई प्राथमिकतामा राख्न परिसंघको सुझाव

आइतबार, २४ भदौ २०८०, १७ : ३२
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । नेपाल उद्योग परिसंघले १६औँ योजना तर्जुमा गर्दा आन्तरिक उत्पादन, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर योजना बनाउन सुझाव दिएको छ । परिसंघले १६औँ योजना तर्जुमा गर्दा प्राथमिकतामा राख्नुपर्ने विषयमा गरेको अध्ययनसहितको प्रतिवेदन पेश गर्दै यस्तो सुझाव दिएको हो ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई परिसंघको सुझाव हस्तान्तरण गरे । सो अवसरमा अध्यक्ष अग्रवालले १६औँ योजना औद्योगिक विकासमा केन्द्रित गर्नुपर्नेमा जोड दिए । औद्योगिक विकासमा केन्द्रित हुन एकीकृत औद्योगिक विकास रणनीति बनाउनुपर्ने, उद्योगहरूका लागि जग्गाको सिलिङ तोक्न नहुने, नीतिगत स्थायित्व र अनुमान गर्न सकिने तथा आन्तरिक उत्पादनलाई प्राथमिकता दिन मेक इन नेपाल स्वदेशी अभियानको प्रवर्द्धन गरिनुपर्ने उनको भनाइ छ । 

यसैगरी गुणस्तरिय पूर्वाधार विकासका लागि न्यून बोलकबोललाई आधार मानेर आयोजना दिन नहुने समेत अध्यक्ष अग्रवालको भनाइ छ । यसबाहेक, सीमा क्षेत्रमा हुने अवैध कारोबारलाई नियन्त्रण गरिनुपर्ने, नेपालको निर्यात प्रवर्द्धन गर्न विभिन्न मुलुकसँग दोहोरो कर मुक्ति सम्झौता गर्नुपर्ने लगायतका सुझाव समेत परिसंघले दिएको छ । 

परिसंघको सुझाव ग्रहण गर्दै योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले १६औँ योजना उत्पादन, उत्पादकत्व र रोजगारीमा केन्द्रित हुन खोजिएको बताए । उत्पादन बढेमात्रै आयात प्रतिस्थापन गर्न र निर्यात बढाउन सकिने भएकाले आगामी योजना यसमै केन्द्रित हुने उनको भनाई थियो । परिसंघले अध्ययन गरेरै योजना आयोगले माग गरेको ढाँचामा १४ वटा परिच्छेदमा ४९ पृष्ठको विस्तृत सुझाव आयोगसमक्ष पेश गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप