बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सानेपामा बाबुरामको जिकिर : बीपी कम्युनिस्ट विचारधाराबाट प्रभावित हुनुहुन्थ्यो

सोमबार, २५ भदौ २०८०, १८ : १०
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइराला जीवनको अन्तिम अवस्थासम्म पनि कम्युनिस्ट विचारधाराबाट प्रभावित भएको जिकिर गरेका छन् । बीपीको ११० औँ जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेसले बिपी नगर सानेपामा गरेको अन्तरक्रियामा उनले उक्त जिकिर गरेका हुन् । 

आफ्नो भनाइलाई पुष्टि गर्न त्यतिबेला भारतीय पत्रकार तिर्थाङर मुखर्जीले बीपीसँग लिएको अन्तर्वार्ता पढ्न भट्टराईले कांग्रेसका नेता, कार्यकर्ता र पारिवारिक सदस्यहरूलाई आग्रह गरे । 

बीपी नेपाली राजनीतिको बहुआयमिक, श्रब्यद्रष्ट, निरन्तर गतिशील र आफूलाई निरन्तर नवीकरण गरिराख्ने व्यक्तित्व भएको उनले स्मरण गरे ।   

‘कांग्रेस र परिवारका साथीहरूलाई आग्रह गर्न चाहन्छु । बीपीमाथि अन्याय नगरौँ । उहाँ बहुआयमिक र श्रब्यद्रष्ट निरन्तर गतिशील व्यक्ति हुनुहुन्थ्यो । आफूलाई निरन्तर नवीकरण गरिराख्नु हुन्थ्यो । पछिल्लो समय उहाँले तिर्थाङर मुखर्जीलाई अन्तर्वार्ता दिनुभएको थियो । त्यो अन्तर्वार्ता सबैले हेर्नुहोला । आफ्नो जीवन के हो भन्ने कुरा उहाँले प्रष्टसँग राख्नुभएको छ’, भट्टराईले जिकिर गरे, ‘अन्तर्वार्ताकारले तपाईँ माक्र्स कि ईश्वरप्रति भनिरहनुभएको थियो । जवाफमा म त मार्क्सप्रति भन्नुभएको थियो । त्यतिबेलासम्म उहाँ धर्म र ईश्वरलाई मान्नुहुन्थेन । फरक अर्थमा आध्यात्ममा उहाँले धर्मको कुरा गर्नुभएको छ । माक्र्स र लेनिनप्रति उहाँ आकर्षित हुनुहुन्थ्यो ।’ 

अन्तिममा बीपीले कम्युनिस्ट किन छोडे भन्ने विषयमा पनि भट्टराई तथ्यसहित प्रष्ट्याउने प्रयास गरे । तत्कालीन सोभियत संघ रुसमा लेनिनवादमाथि स्टालिनवाद हाबी भएपछि बीपीले कम्युनिस्ट आन्दोलनबाट पलायन भएको उनको तर्क छ । 

‘उहाँ कम्युनिस्टमा लाग्दा लाग्दै पनि अन्तिममा कम्युनिस्ट छोड्नुभयो । त्यतिबेला सोभियत रुसमा लेनिनवादमाथि स्टालिन जसरी  हाबी भए,  उनले आफ्नै साथीहरू १४४ जना केन्द्रीय सदस्यमध्ये ९८ जनाको हत्या गरे । त्यसबाट असन्तुष्ट भएर उहाँले कम्युनिस्ट छोड्नु भएको थियो’, उनले भने ।

बीपी सुरुमा मूलतः लेनिनको समाजवादी अवधारणा, मार्क्सको दास क्यापिटलाबाट प्रभावित भएको दृष्टान्त दिँदै पछिल्लो चरण उनी गान्धीबाट पनि प्रभावित भएको  बताए ।  गान्धी र माक्र्सबीच सन्तुलन देखाउने क्रममा बीपी अस्थिर देखिएको उनले जिकिर गरे । 

भट्टराईले उनको प्रधानमन्त्री कालमा लिएको परराष्ट्रसम्बन्धी नीति असाध्यै दूरगामी भएको स्मरण गरे । 

‘उहाँ प्रधानमन्त्री भएपछि भारत, चीनसँग लगायत छिमेकी राष्ट्र र शत्तिराष्ट्रसँग जुन सम्बन्ध राख्नुभयो त्यो असाध्यै दूरगामी महत्वको छ । सीमा समस्या उहाँकै पालामा हल भयो । सगरमाथाको विवाद उहाँले नै हल गर्नुभयो । त्यतिबेला सबैभन्दा ठूलो शीतयुद्ध मडारिँदै थियो । त्यस्तै इजराइलसँग सम्बन्ध राख्ने कसैले पनि आँट गर्न नसक्ने अवस्थामा उहाँले सम्बन्ध विस्तार गर्नुभयो, त्यसकारण बिपीको अन्तर्राष्ट्रिय नीति सही थियो’, उनले भने ।  

बीपीको प्रधानमन्त्री काल र जेल जीवन, निर्वासन कालसम्म आफू प्रभावित भएपनि ०३३ पछि राजासँग मिल्नेगरी राष्ट्रिय मेलमिलापको नीति लिएपछि उनको विचारसँग सहमत हुन नसकेको भट्टराईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप