आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

मानव अधिकार अयोगद्वारा देशभरका बालसुधार गृहको अनुगमन शुरु

मङ्गलबार, ०९ असोज २०८०, १७ : ०२
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । बालसुधार गृहहरूमा समस्या देखिएपछि राष्ट्रिय मानव अधिकार आयोगले देशभरका बालसुधार गृहको अनुगमन सुरु गरेको छ । आयोगले मोरङ्ग, पर्सा, मकवानपुर, भक्तपुर, कास्की, रुपन्देही, बाँके र डोटी जिल्लाका आठवटै बालसुधार गृहहरूको अवस्था अनुगमन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्नका लागि आयोगका सबै प्रदेश तथा प्रदेश शाखा कार्यालयहरूलाई पत्राचार गरेको हो ।

हालै भक्तपुर, बाँके, पर्सा लगायतका जिल्लास्थित बालसुधार गृहहरूमा विभिन्न विषयलाई लिएर भएका तोडफोड, झडप र उक्त घटनाबाट बालसुधार गृहमा राखिएका बालकहरूको मृत्यु भएको एवम् केही बालक घाइते भएको घटनाप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भक्तपुरको मध्यपुरस्थित बाल सुधारमा भएको घटनाका सम्बन्धमा स्थलगत अनुसन्धान गर्न केन्द्रीय कार्यालयको टोली आजै खटिइसकेको छ । त्यस्तै, लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगञ्जको टोलीले बाँकेको डुडुवा गाउँपालिकास्थित बालसुधार गृहमा भएको घटनाको निरन्तर अनुगमन गरिरहेको छ । 

भक्तपुरको मध्यपुरस्थित बालसुधार गृहभित्र सामान्य बिरामी परेका कमल बस्नेतको उपचार अभावमा मृत्यु भएको र उक्त विषयलाई लिएर बालसुधार गृहका बालकहरूको समूहले ढुङ्गामुढा तथा तोडफोड गरी सुधार गृहबाट भागेका थिए । 

बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा केही दिन अघि दुई समूहबिच झडप हुँदा गम्भीर घाइते भएका रुपन्देहीका सुलभ केसीको उपचारका क्रममा मृत्यु भएको र अन्य १० जना घाइते भएको विभिन्न माध्यमबाट आयोगलाई जानकारी प्राप्त भएको छ । त्यसैगरी, पर्सा र कास्कीस्थित बालसुधार गृहहरूमा समेत समस्या देखिएका समाचारहरू सार्वजनिक भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप