शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
सरोकार

मुख्य सहरका बाल सुधार गृहमा किन बढ्यो सुरक्षा चुनौती ?

सोमबार, ०८ असोज २०८०, १० : २५
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । भक्तपुरको सानो थिमीस्थित बाल सुधार गृहमा भदौ ४ मा सुरु भएको झडपको शृङ्खला बाँकेको डुडुवासम्म पुगेको छ । असोज ४ मा बाँकेको डुडुवा गाउँपालिका–३, आसमानपुरस्थित जयेन्द्र बाल सुधार गृहमा झडप हुँदा सुधार गृहमा राखिएका २१ वर्षीय सुलभ केसीको मृत्यु भयो भने अन्य ११ जना घाइते भए ।

लागुऔषध प्रयोगकर्ता र अन्य नाबालक कैदीको बिचमा विवाद हुँदा झडपको अवस्था आएको बताइएको छ । तर, घटनाको यकिन कारण अझै खुलेको छैन । जयेन्द्र बाल सुधार गृहमा भएको झडपको कारण खोजिरहेको बताउँछन् बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य । ‘विभिन्न कारणले यस्ता झडप हुन्छन्, हामी कारण खोज्दै छौँ,’ उनले भने ।     

जयेन्द्र बाल सुधार गृहको व्यवस्थापन युसेफ नेपालले गर्दै आएको छ । राति भएको झडपमा गम्भीर घाइते भएपछि सुलभ केसीलाई नेपालगञ्ज मेडिकल कलेजमा लगिएको थियो । त्यहाँ उनको मृत्यु भयो ।

बाँकेको सुधार गृहमा २०७९ मा पनि दुई वटा घटना भएका थिए । २०७९ पुसमा नाबालक बन्दीहरू झ्यालको भेन्टिलेसन तोडेर भागेका थिए । माघ अन्तिम साता सुधार गृहमा आगजनी गरिएको थियो ।

भक्तपुरको सानो थिमीस्थित बाल सुधार गृहबाट भदौ ४ मा २ सय २१ नाबालक कैदी फरार भए । थुनामा रहेका साथीको मृत्युपछि सुधार गृहको पछाडिको ढोका तोडेर उनीहरू भागेको प्रशासनको प्रारम्भिक छानबिन निष्कर्ष छ ।

नाबालक बन्दीहरूले सुधार गृहका संरचना तोडफोड गरे । ‘नाबालक बन्दी’ कमल बस्नेतको मृत्यु भएपछि सानो थिमीमा नाबालक बन्दीहरू आक्रोशित भएर सुधार गृहबाट निस्किएका हुन् । भक्तपुरको प्रमुख जिल्ला अधिकारीबाट भर्खरै सरुवा भएका सह–सचिव खगेन्द्रप्रसाद रिजाल पूर्व आकलन नहुँदा बालसुधार गृहमा ‘अकल्पनीय’ घटना भएको बताउँछन् । उनी भन्छन्, ‘त्यसबेला नाबालक बन्दी भाग्छन् भन्ने कल्पना नै भएन ।’

नाबालक बन्दी कमल बस्नेतमाथि सुधार गृहभित्र कुटपिटबाट मृत्यु भएको पीडित परिवारको आरोप छ । त्यसबारे भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला नेतृत्वको समितिले छानबिन गरेर प्रतिवेदन बुझाएको छ ।

सुधार गृहभित्र कमल बस्नेतमाथि कुटपिट नभएको छानबिन समितिको निष्कर्ष छ । बस्नेतको मृत्युको कारण यकिन गर्न भिसेरा परीक्षण गर्न ल्याबमा पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले रातोपाटीलाई बताए ।

अहिले मुलुकभर ८ वटा बाल सुधार गृह छन् । तीमध्ये ४ वटा युसेफ नेपाल नामको गैरसरकारी संस्थाले व्यवस्थापन गर्दै आएको छ । बाल सुधार गृह सञ्चालनमा राज्यले उचित ध्यान नदिएको बताउँछन् बालकल्याण समितिका पूर्व अध्यक्ष तारक धिताल ।

रातोपाटीसँग धितालले भने, ‘बाल सुधार गृहमा राज्यको लगानी र सुविधा छैन, बालबालिकाको उमेर र स्वभाव अनुसार सुधार गर्ने काम नहुँदा यस्ता समस्या आइरहेका छन् ।’

पर्साको वीरगञ्जस्थित बाल सुधार गृहमा भदौ २६ मा झडपको कारण थियो सरुवा गरेर लगिएका र त्यहाँ पहिलेदेखि नै बसेका नाबालक कैदीहरूबिच बेमेल । भक्तपुरबाट पठाइएका १८ मध्ये १५ जनालाई फिर्ता पठाउने सहमतिसँगै अहिले स्थिति शान्त भएको छ । तर, फिर्ता पठाउने सहमति भए पनि उनीहरूलाई फिर्ता पठाइएको छैन । पर्सामा झडप हुँदा नाबालक बन्दी ११ जना र ३ प्रहरी घाइते भएका थिए ।

बाल सुधार गृहहरूमा सुरक्षा चुनौती बढेको छ । तर, त्यस्तो चुनौतीलाई सामना गर्ने दीर्घकालीन रणनीतिबारे सरकारका निकायले कुनै पहल गरेका छैनन् । बालकल्याण समितिका पूर्व अध्यक्ष धिताल भन्छन्, ‘सुधार गृहहरूमा सुरक्षा चुनौती स्वाभाविक रूपमा देखिएको छ ।’

१८ वर्षभन्दा कम उमेरमा अपराध गर्ने बालबालिकालाई सुधार गृहमा राख्नुपर्ने कानुनी व्यवस्था छ । तर, सजाय पूरा नहुन्जेल २५–३० वर्ष हुँदासमेत उनीहरूलाई सुधार गृहमै राख्नुपर्छ ।

नाबालक हुँदा सुधार गृहमा राखिएकाहरूलाई सजाय नकाटुन्जेल बालिग भइसक्दा पनि सुधार गृहमै राख्नुपर्ने कानुनी प्रावधानले समस्या सिर्जना हुन थालेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए ।

प्रजिअ आचार्य भन्छन्, ‘बालिग भएकाहरूलाई छुट्टै भवनमा राख्नुपर्ने कानुनी व्यवस्था छ तर, हामीले छुट्टै भवनमा राख्ने व्यवस्था गर्न सकेका छैनौँ ।’

नाबालिग र बालिगहरूलाई सँगै राख्दा पछिल्लो समस्या देखिएको जानकारहरू बताउँछन् ।

Balsudhar Kanun 6.7 (2080)

समस्या कहाँ छ ?

बाल सुधार गृहमा राज्यको लगानी र सुविधा छैन । नाबालक हुँदा गरेको कसुरमा सुधार गृहमा जाने बालबालिका बालिग भएपछि पनि त्यहीँ बस्नुपर्ने कानुनी व्यवस्था छ । तर, बालिग र नाबालिगलाई छुट्टै भवनमा राख्न राज्यका निकायले ध्यान दिएका छैनन् ।

सुधार गृहमा क्षमताभन्दा तेब्बर बालबालिकालाई राखिएको बताउँछन् बालकल्याण समितिका पूर्व अध्यक्ष धिताल । उनी भन्छन्, ‘क्षमताभन्दा तेब्बर बालबालिका छन्, लगानी छैन, अब सरकारले व्यवस्थापनमा ध्यान नदिने हो भने बालबालिकाहरू झन् विकृत हुने देखिन्छ ।’

पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी पनि बालिग भइसक्दा पनि सुधार गृहमै राख्नुपर्ने कानुनी व्यवस्थाको कारण समस्या भएको बताउँछन् । प्रजिअ रेग्मी भन्छन्, ‘अदालतको आदेश हुँदा नाबालक रहेको कैदीहरू २५ वर्ष भइसकेका छन्, तर, सजाय पूरा नहुन्जेल उनीहरूलाई अन्यत्र सार्न नमिल्ने कानुनी व्यवस्था छ ।’

बालबालिका सम्बन्धी ऐन अनुसार १४ वर्षभन्दा माथि र सोह्र वर्षभन्दा कम उमेरका बालबालिकाले अपराध गरेमा निजलाई उमेर पुगेको व्यक्तिलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ । सोह्र वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेरका बालबालिकाले कसुरजन्य काम गरेमा उमेर पुगेको व्यक्तिलाई हुने सजायको दुई तिहाइ सजाय हुन्छ ।

नाबालक हुँदा गरेको अपराधको सजाय बाल सुधार गृहमै पूरा गर्नुपर्ने कानुनी व्यवस्थाका कारण समस्या देखिएको बताउँछन् जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठक । उनले भने, ‘३२ वर्षसम्मका कैदीहरू बाल सुधार गृहमा छन्, त्यसो हुँदा झडपका घटना बढ्न थालेका छन् ।’

बाल सुधार गृह हतियार निषेधित क्षेत्र हो । त्यहाँ खटिने प्रहरीले हतियार बोक्न पाउँदैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप