बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
दसैँ

दसैँमा सधैँ चिनीको कालोबजारी

उद्योग धमाधम बन्द हुने क्रम बढेपछि भारतमै आश्रित
आइतबार, १४ असोज २०८०, १९ : ५२
आइतबार, १४ असोज २०८०

काठमाडौँ । प्रत्येक वर्षको दसैँ, तिहार र छठमा जस्तै यो वर्षको चाडबाडमा समेत चिनीको मूल्य अचाक्ली बढेको छ । नेपालमा प्रत्येक वर्षको दसैँलगायत मुख्य चाडमा व्यापारीहरूले चिनीको मूल्यमा चलखेल गर्दै आएका छन् । 

यो वर्षको चाडबाड नजिकिएसँगै आयातकर्ता र बिक्रेताले चिनीको मूल्यमा प्रतिकिलो ३० रुपैयाँसम्म बढाइसकेका छन् । एक महिना अघिसम्म खुद्रा बजारमा प्रतिकिलो १०५ रुपैयाँ रहेको चिनीको मूल्य यति बेला बढेर १३० देखि १४० रुपैयाँसम्म पुगिसकेको छ । यो एक महिनाको अवधिमा भएको २५ देखि ३५ रुपैयाँ सम्मको मूल्यवृद्धि हो ।

यससँगै, अघिल्ला वर्षहरूको दसैँमा जस्तै यो दसैँमा समेत उपभोक्ताले बढेको मूल्यमा चिनी किन्नुपर्ने भएको छ । बजारको मूल्यवृद्धिलाई नियन्त्रण गर्ने लक्ष्यसहित सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसमेत कालोबजारीसामु निरीह बन्ने निश्चित भएको छ । 

नेपालका चिनी उत्पादक उद्योगहरू उखु उत्पादनमा आउने समस्या र किसानको रकम भुक्तानी नगरेर बदनामसँगै बन्द हुँदैछन् । यसले गर्दा पनि उपभोक्ता महँगोमा चिनी किन्न बाध्य छन् । 

देशका करिब दर्जन सङ्ख्यामा रहेका उद्योग धमाधम बन्द हुने क्रम बढेपछि चिनीका लागि भारतीय बजारमै पूर्ण रूपमा आश्रित हुनु परेको छ । 

नेपालमा चिनी उत्पादन गर्ने उद्योगको सङ्ख्या १३ छ । यी उद्योगबाट वार्षिक १ लाख ७६ हजार टन चिनी उत्पादन हुन्थ्यो । यति बेला चिनी उत्पादन घट्दै प्रतिवर्ष १ लाख २० हजार टनमा झरेको छ । जबकि, नेपालको वार्षिक चिनी माग र खपत नै २ लाख ८० हजार टनभन्दा बढी छ । 

यसअनुसार वार्षिक रूपमा करिब १ लाख ६० हजार टनभन्दा धेरै चिनी नेपाललाई अपुग छ र यो चिनी भारत र अन्य मुलुकबाट आयात गर्नुपर्छ ।

खुद्रा व्यापार संघका उपाध्यक्ष नरेशबाबु शाही होलसेलरबाट बढेको मूल्यमा चिनी आउने र खुद्रा व्यापारीले बढेको मूल्यअनुसारै बेच्ने गरेको बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘केही साता अघिसम्म थोक मूल्य नै १०४ रुपैयाँ थियो । अहिले मूल्य अत्यधिक बढेपछि हामीले चिनीको बिक्री नै रोकेका छौँ ।’ 

होलसेलबाट मूल्य बढेर आउने भएकाले चिनीको मूल्य बढ्नुको कारण खुद्रा व्यापारीलाई जानकारी नहुने बताउँदै शाहीले भने, ‘चिनीको मूल्य एकदमै अस्थिर भयो । दिनदिनै मूल्य बढिरहेको छ । यही विषयमा अर्को साता वाणिज्य विभागमा छलफल छ ।’

नेपालमा खपत हुने कूल चिनीमध्ये ६० देखि ७० प्रतिशत चिनी नै भारतीय बजारमार्फत आउँछ । तर, गत वर्षको खडेरीका कारण भारतमा चिनीको उत्पादन ह्वात्तै घटेको छ । जसकारण, भारतीय बजारमा चिनीको मूल्यवृद्धि अस्वाभाविक रूपमा भइरहेको छ । 

नेपालमा आयातकर्ता/होलसेल व्यापारीले भारतीय मूल्यवृद्धि देखाउँदै नेपालमा अचाक्ली मूल्य बढाइरहेका छन् । भारतीय बजारमा चिनीको मूल्य पछिल्लो ६ वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ ।

साल्ट ट्रेडिङमा ९७ रुपैयाँमै चिनी ?

यो वर्षको दसैँलक्षित सुपथ मूल्य पसलमा साल्ट ट्रेडिङले प्रतिकिलो ९७ रुपैयाँमै चिनी बिक्री गर्ने भएको छ । यही असोज २१ गतेदेखि मंसिर ३ गतेसम्म चल्ने सुपथ मूल्य पसलमा साल्ट ट्रेडिङ कर्पोरेसनले ९७ रुपैयाँमै चिनी बेच्ने भएको हो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले कर्पोरेसनले सुपथ मूल्य पसलमा १०० रुपैयाँभन्दा कम मूल्यमै चिनी बेच्ने जानकारी दिएका हुन् ।

तर, सुपथ मूल्य पसलमा सरकारकै व्यापारिक निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने चिनी राख्ने छैन । कम्पनीको गोदाममा चिनीको मौज्दात रित्तिँदा चिनीबिनै सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । 

खास गरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दसैँ, तिहारलक्षित गरेर चिनी आयातबारे अर्थ मन्त्रालय पठाएको फाइल अड्किदा व्यापार कम्पनीको मौज्दात रित्तिएको हो ।

अर्थ मन्त्रालयले ढिला गरी कर्पोरेसन र खाद्य कम्पनीलाई १०–१० हजार मेट्रिक टन चिनी आयातको अनुमति दिएको छ । तर, ढिला गरी दिइएको यो अनुमतिअनुसार दसैँ अगावै चिनी ल्याउन भने मुस्किल पर्ने देखिन्छ । फलस्वरूप दसैँअघि सरकारी कम्पनीले बजार हस्तक्षेप गर्ने योजना असफल हुने देखिन्छ ।

७० हजार किलो चिनी लुकाइएको गोदाम सिल

दसैँ र तिहार लक्षित गरी वाणिज्य उपभोक्ता तथा आपूर्ति संरक्षण विभागले बजार अनुगमन सुरु गरेको छ । तर, यो अनुगमनले समेत बजारमा पर्याप्त चिनीको आपूर्ति बढाउन सकेको छैन भने मूल्य नियन्त्रणमा उल्लेख्य भूमिका खेल्न सकेको छैन । 

विभागले गर्ने बजार अनुगमन चलिरहँदा व्यापारीको कालोबजारी र मूल्यवृद्धि समानान्तर रूपमा अघि बढिरहेको छ ।

बजार मूल्य फिर्ता ल्याउन नसके पनि विभागको अनुगमन टोलीले ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाममा भने सिल गरेको छ । 

काठमाडौँ जिल्ला प्रशासन, नापतौल तथा गुणस्तर विभाग र वाणिज्य विभागसहितको संयुक्त अनुगमन टोलीले कुलेश्वरस्थित गोदाम सिल गरेको हो । 

बजारको आपूर्ति शृङ्खला बिगार्ने गरी भण्डारण गरिएको चिनी गुहेश्वरी ट्रेडलिंकको गोदाममा सिल गरिएको हो । यसबाट काठमाडौँका ठूलो होलसेल व्यापारीले कृत्रिम अभाव सिर्जना गराउँदै गोदाममा ठूलो परिमाणमा चिनी लुकाइएको तथ्य पुष्टि हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप