आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश अधिवेशन

एमाले अधिवेशनको मध्यान्तर : नेतृत्वको चाहना विपरीत चुनावी प्रतिस्पर्धाको लहर !

सोमबार, १५ असोज २०८०, १५ : ०९
सोमबार, १५ असोज २०८०

काठमाडौँ । नेकपा एमाले यतिबेला धमाधम प्रदेश अधिवेशन गर्दैछ । अधिवेशनमार्फत नयाँ प्रदेश कमिटीको नेतृत्व चयनमा जुटेको एमालेमा मूल नेतृत्वको निर्देशन र चाहना विपरीत चुनावी प्रतिस्पर्धा भइरहेका छन् ।

भदौ तेस्रो साता लुम्बिनीबाट सुरु भएको एमाले प्रदेश अधिवेशन असोज २३ र २४ मा मधेस पुगेर सकिँदै छ । अहिलेसम्म लुम्बिनी र बागमती अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भइसकेका छन् । कर्णाली र कोशीमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ ।

सबैभन्दा पहिला लुम्बिनी प्रदेश अधिवेशन सम्पन्न गरेको एमालेले उपत्यकासहित बाँकी ७ वटा प्रदेशको अधिवेशन असोज महिनाभित्रै सम्पन्न गर्ने कार्यतालिका अनुसार त्यसको तयारी भइरहेको नेताहरुले बताएका छन् ।

दुई दिनको तालिकासहित सुरु भएको एमाले प्रदेश अधिवेशनहरु ५ दिनमा सम्पन्न गर्न पनि कठिन पर्न थालेको छ । उदाहरणकै लागि बागमती प्रदेशको अधिवेशनलाई लिन सकिन्छ । यो प्रदेशको अधिवेशन असोज ८ गते सुरु भएर १२ गते राति १२ बजेमात्र सम्पन्न भयो ।

यसरी अधिवेशन लम्बिनुमा सहमतिको प्रयास भनेर नेताहरुले अर्थ्याउने गरेका छन् । तर सहमतिका नाममा अधिवेशनको समय लम्ब्याएर मूल नेतृत्वले आफू निकटलाई पदमा पुर्याउने ‘जालसाजी’ गरेको कतिपय नेता कार्यकर्ताको बुझाइ छ । नेतृत्वले सहमतिको जतिसुकै प्रयत्न गरे पनि प्रतिस्पर्धाबाटै प्रदेश कमिटीको नेतृत्व चयन भइरहेका दृष्टान्तले एमालेमा सहमति भन्दा पनि प्रतिस्पर्धा नै रुचाइएको छ भन्ने सहजै बुझ्न सकिन्छ ।

प्रतिस्पर्धाबाट नेतृत्व चयन भएका प्रदेशहरुमा हारजितलाई स्वाभाविक मान्दै नेता कार्यकर्ताहरु लोकतान्त्रिक अभ्यासभित्र प्रणाली बसाउने प्रयत्नका रुपमा बुझ्नुपर्ने बताउँछन् ।

प्रतिस्पर्धाबाटै नेतृत्व चयन गर्ने तल्ला तहका नेता कार्यकर्ताको चाहनामा पार्टीको मूल नेतृत्व भने त्यति खुस हुन सकेको देखिँदैन । लुम्बिनीबाट सुरु भएको चुनावी प्रतिस्पर्धामा कर्णाली र कोशी प्रदेश पनि होमिइसकेका छन् ।

कर्णालीमा असोज १० गते बुधबार सुरु भएको अधिवेशन अन्तिम चरणमा पुगेको छ भने असोज १२ गते सुरु भएको कोशीमा पनि चुनावमार्फत नै नेतृत्व चयन हुँदैछ । असोज १५ र १६ गण्डकी प्रदेश र असोज १९ र २० गते उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन हुँदैछ । त्यस्तै सुदूरपश्चिम प्रदेशको असोज २१ र २२ गते तथा मधेस प्रदेशको सबैभन्दा अन्तिम अर्थात असोज २३ र २४ गते अधिवेशन हुनेछ ।

यी प्रदेशहरुमा पनि चुनावी प्रतिस्पर्धामार्फत नै नेतृत्व छनोट हुने संकेत प्रस्ट देखिएको छ । एमालेका एक पदाधिकारीका अनुसार मूल नेतृत्वले चुनावी प्रतिस्पर्धा भन्दा सहमतिका लागि जोड दिए पनि अन्य नेता कार्यकर्ताको भावना चुनावी प्रतिस्पर्धा नै भएकाले रोक्न नसकिएको हो ।

‘सहमति पनि उच्चतम् लोकतान्त्रिक अभ्यास हो । त्यसैले सहमति भनिएको हो । सहमति नभएपछि प्रतिस्पर्धा गर्ने अन्तिम विकल्प पनि खुलै राखिएको थियो र चुनाव भइरहेका छन्’, एमालेका एक पदाधिकारी भन्छन्, ‘अहिलेसम्मको अवस्था हेर्दा नेतृत्व चुनावी प्रतिस्पर्धा रोक्न असफल नै भयो भन्दा हुन्छ ।’

लुम्बिनी र बागमतीको संकेत

प्रदेश अधिवेशन सुरु भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकभर सहमतिमै नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । साथै उनले कसैलाई चुनाव लड्न नै मन भए लड्न पाउने तर प्यानल बनाएर चुनाव लडे उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएका थिए । तर अध्यक्ष ओलीले भनेजस्तो प्रदेश अधिवेशन हुन सकेन । सुरुमा अधिवेशन भएको लुम्बिनीमै अध्यक्षका प्रतिस्पर्धीहरुले प्यानल नै बनाएर भोट माग्नेदेखि गुटका भेला गर्ने गरे ।

लुम्बिनीमा अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले हरि रिजाललाई अघि सारे पनि अर्का प्रतिस्पर्धी राधाकृष्ण कँडेल निर्वाचित हुन पुगे । रिजाललाई दुई मतले पछि पार्दै कँडेल लुम्बिनीको अध्यक्ष पदमा निर्वाचित बनेका हुन् ।

कँडेल खासगरी एमाले उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् । यता बागमती प्रदेशमा भने अध्यक्ष ओली र महासचिव पोखरेल निकट रामेछापका कैलाश ढुंगेलले नै बाजी मारेका छन् । मकवानपुरका कृष्णप्रसाद दाहाललाई पराजित गर्दै ढुंगेल प्रदेशको नेतृत्व सम्हाल्न पुगेका हुन् । एमालेभित्र ढुंगेल र दाहाल दुवै ओली निकट भनेर चिनिए पनि चुनावका बेला दाहालभन्दा ढुंगेल नै पार्टीको मूल नेतृत्वको रोजाइमा परेका थिए । यतिसम्म कि दुई दिनका लागि बोलाइएको बागमती अधिवेशन सहमतिका नाममा ५ दिन लम्बिएको थियो । त्यस अवधिमा दाहाललाई उम्मेदवारी फिर्ता गर्न नेतृत्वले निकै ठुलो कसरत गरे पनि सफल हुन सकेन । ‘सर्वसम्मत नेतृत्व चयन गर्न दाहाललाई उम्मेदवारी फिर्ता गर्न दबाब दिनेदेखि दाहालका प्रस्तावक र समर्थकलाई समेत प्रस्ताव र समर्थन फिर्ता लिन निकै ठुलो दबाब आएको थियो’, दाहाल निकट स्रोतले भन्यो, ‘तर चुनावी प्रतिस्पर्धाबाट पछि नहट्ने अडानपछि नेतृत्व चुनाव गराउन बाध्य बन्यो ।’

त्यसो त सुरुमा दाहाललाई एमाले पोलिटव्युरो सदस्य गोकुल बाँस्कोटाले साथ दिए पनि अन्तिम समयमा हात झिक्दा दाहाल पराजित बन्न पुगेको दाहाल पक्षधर प्रतिनिधिहरुको विश्लेषण छ ।

कर्णाली र कोशीमा पनि रोकिएन प्रतिस्पर्धा

कर्णाली प्रदेशमा पनि नेतृत्वको चाहानाविपरीत प्रदेश कमिटीका लागि नेताहरु चुनावी प्रतिस्पर्धामा उत्रिए । कर्णालीमा गुलावजंग शाहको पक्षमा सहमति जुटाउने पार्टी नेतृत्वको प्रयास असफल भएपछि शाहसहित मीनबहादुर शाही र प्रकाश रोकायबिच चुनावी प्रतिस्पर्धा भयो । एमाले महासचिव शंकर पोखरेलले गुलावजंगको पक्षमा सहमति जुटाउन गरेको प्रयास असफल भएको थियो ।

कर्णालीमा शाहको पक्षमा पोलिटव्युरो सदस्य यमलाल कँडेल र शाहीको पक्षमा नेता गोरखबहादुर बोगटीले लबिङ गरेका थिए । यता कोशी प्रदेश कमिटीमा पनि एमाले सहमति जुटाउन गरेको प्रयास खेर गएको छ । कोशीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालले प्रतिस्पर्धा गरेका छन् । खतिवडा एमाले अध्यक्ष ओली र महासचिव शंकर पोखरेलका आधिकारिक उम्मेदवार भएको एमाले कोशीका नेता कार्यकर्तामा चर्चा छ ।

गण्डकीमा पनि दुई समूह

एमाले गण्डकीको नेतृत्व हत्याउन दुई समूह लागेका छन् । एमाले केन्द्रीय उपमहासचिव समेत रहेका पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीका छुट्टाछुट्टै समूह चुनावी प्रतिस्पर्धामा उत्रन लागेका छन् । गुरुङले हालका प्रदेश अध्यक्ष नवराज शर्मा र सचिवमा धनञ्जय दवाडीलाई नै अघि सार्ने तयारी गर्दा खगराज अधिकारी पक्षले भने केन्द्रीय सदस्य मायानाथ अधिकारीलाई प्रदेश अध्यक्ष र रश्मी आचार्यलाई सचिवमा उम्मेदवार बनाउने तयारी गरेको छ ।

uml-gandaki

अधिकारीले सर्वसम्मत अध्यक्ष चयन गर्नुपर्दा केन्द्रीय सदस्य कृष्ण थापालाई अघि सार्ने तयारी गरेका छन् । थापा गत स्थानीय तहको निर्वाचनमा पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यसँग पराजित भएका थिए । शर्मा, अधिकारी र थापाबाहेक पनि एमाले गण्डकीको अध्यक्षमा रामशरण बस्नेत, राजिव पहारी, हालका प्रदेश उपाध्यक्ष मोहन रेग्मी, हिराबहादुर केसी समेत समेत अध्यक्षका आकांक्षीका रुपमा देखिएका छन् । गण्डकीको अधिवेशन सोमबार सुरु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप