आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपथ्यको क्यानडा भ्रमणको पहिलो शो क्यालगरीमा सम्पन्न

बुधबार, १७ असोज २०८०, ११ : ३९
बुधबार, १७ असोज २०८०

क्यालगरी । सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका विभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बिच क्यानडाको पहिलो नेपथ्य कन्सर्ट सम्पन्न भएको छ । 

आइतबार बेलुकी शो सुरु हुनु भन्दा अगाडि त्यसैको निरन्तरतामा हल वरपर लामवद्ध दर्शक देखिएका थिए । ती दर्शकहरु क्यालगरी मात्र नभइ अल्बर्टा राज्यकै एडमण्टन, लेथब्रिज, मेडिसिन ह्याट, ओकोटोक्स, क्यानमोर र ग्रेटनभ्याली लगायतका सहर र बस्तीदेखि नेपथ्यलाई अनुभव गर्न जम्मा भएको यहाँस्थित नेपाली समाजका सक्रिय अग्रज ध्रुव राईले जानकारी दिए ।

निर्धारित समयअनुसार बेलुकीको ठीक सात बजे प्यालेस थिएटरमा नेपथ्यको पहिलो भेट स्वरुप ‘सा कर्णाली’ म्युजिक भिडियो गुञ्जिन सुरु भयो । दर्शकहरूबाट चर्को स्वागतकै बिच मञ्चमा नेपथ्य टोली देखापरेपछि भने त्यस साँझको पहिलो प्रस्तुति ‘कोशीको पानी यो जिन्दगानी’ सुनाइएको थियो । एक दसकअघि पूर्वी नेपालको पैदलयात्रा गर्दा गायक अमृत गुरुङले संखुवासभाको चैनपुरका डिल्ले दमाइबाट यो गीत संकलन गरेका थिए । त्यसपछि कार्यक्रमलाई नेपथ्यकै चर्चित गीतहरू क्रमशः ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’ र ‘खान्न म त लामपाते सुरती’ले निरन्तरता दिएको थियो ।

गायक अमृतले त्यसपछि पनि ‘चरि मर्‍यो’, ‘जोमसोमे बजार’, ‘शिरफूल’ र लाहुरेहरूले ल्याएको ‘नैनाताल’जस्ता गीतहरू सुनाउँदै गए । उनले क्यानडाको यो श्रृंखलावद्ध भ्रमण पनि सो उदेश्यमा समर्पित समभाव बोकेको मानवसेवा आश्रमको कामप्रति समर्पित रहेको जानकारी दिए ।

कन्सर्टको अन्त्यतिर भने सदाझैँ सर्वकालीक हिट ‘रेशम’, ‘तालको पानी’ र अन्त्यमा राष्ट्रिय झण्डाको महिमागान गर्दै ‘रातो र चन्द्रसूर्जे’ सुनाइएको थियो । कन्सर्टमा अमृतलाई सदैवझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

क्यालगरीको कन्सर्ट सम्पन्न भएपछि अब ब्याण्डले ४ तारिख अर्थात् बुधबार भ्यानकुभर सहरको ‘दी भोग थिएटर’मा आफुलाई उभ्याउँदैछ । त्यसपछि अन्तिम शो ८ तारिख आइतबारका दिन मुलुककै पूर्ववर्ती ब्यापारिक सहर टोरन्टोस्थित क्यानाडाकै बिख्यात सभागृह ‘म्यासी हल’मा हुनेछ ।

यी कन्सर्टहरूमा क्यानडामा रहेका विद्यार्थीहरूको निम्ति विशेष छुटको व्यवस्था गरिएको छ । अनलाइनबाटै टिकट लिन चाहनेका लागि नेपथ्यले आफ्नो वेबसाइट nepathya.com.np बाटै पनि उपलब्ध गराउने बन्दोबस्त मिलाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप