टोरन्टाबाट सकियो नेपथ्यको क्यानडाको श्रृंखलावद्ध यात्रा
टोरन्टा । ऐतिहासिक स्मारकका रुपमा श्रद्धा गरिने भव्य सभागृह ‘मेस्सी हल’मा गर्विलो उपस्थिति जनाउँदै नेपथ्यले क्यानाडाको श्रृंखलावद्ध यात्रा टुङ्ग्याएको छ । पहिलोपटक क्यानाडामा पाइला टेकेको ब्याण्डले सुरुमा क्यालगरी त्यसपछि भ्यानकुभर हुँदै अन्त्यमा टोरन्टोमा प्रस्तुत भइरहँदा त्यो क्षण स्थानीय नेपाली समुदायका लागि मानक बन्दै थियो ।
‘यति महत्त्वपूर्ण हलमा उस्तै महत्त्वपूर्ण तवरले नेपथ्य प्रस्तुत भइदियो,’ टोरन्टोका मिङमा नोर्गे शेर्पा भनिरहेका थिए, ‘दर्शकका रुपमा उपस्थित हुँदा पनि त्यो एउटा नेपालीले गर्व गर्ने क्षण बनिदियो ।’
कन्सर्टका लागि एक घण्टा अगावै हलको ढोका खुल्नासाथ दर्शकहरुको उपस्थिति सुरु भइसकेको थियो । स्थानीय समय अनुसार बेलुकीको ठिक सात बजे पहिलो प्रस्तुतिका रुपमा ‘सा कर्णाली’ म्यूजिक भिडियो बज्नासाथ तीनतल्ले हलको टनाटन दर्शक घेराले उत्तेजना र उत्साहको आवाज गुञ्जाएका थिए । त्यसपछि कन्सर्ट अवधिभर त्यो न्यानोपना जारी रह्यो । मञ्चमा ब्याण्डको उपस्थितिपछि भने ‘कोशीको पानी यो जिन्दगानी’बाट साँझको सुरुवात गरिएको थियो । त्यसपछि लगातार नयाँ र पुराना गीतहरु एकपछि अर्को प्रस्तुत हुँदै गए ।
आफ्नो सँधैको स्वभावजस्तै ब्याण्डका मुख्य गायक एवं अगुवा अमृतले पनि कन्सर्ट अवधिभर दर्शकहरुसँग गीतको साथसाथै संवादलाई जारी राखे । ‘नेपालीहरु जतासुकै फैलिए पनि हामी सबैको साझा घर नेपालै हो,’ अमृतको भनाइ थियो, ‘तपाईंहरुले यहाँ सिकेको सीप र आर्जन गरेको धन जोडेर स्वदेशको निर्माण गर्नुपर्छ ।’
उनले विदेशमा बसेका बेला नेपालीहरु एकजुट हुनुपर्ने आवश्यकता पनि औँल्याए । यतिबेला मुलुकभित्र विभाजन ल्याउन खोज्नेहरु विरुद्ध पनि अमृतले खबरदारी गरे ।
‘हामी बीच जात, धर्म र वर्गजस्ता कुराहरु अघि सारेर जो जसले विभाजन ल्याउन खोजे पनि त्यसको जवाफ हामीले एकजुट भएर दिनुपर्छ,’ उनले थपे, ‘त्यस्ता विभाजनकारीलाई हामीले उल्टो मानवता र भाइचाराको प्रवर्द्धन गरेर देखाइदिउँ ।’
अमृतका यी भनाइहरुलाई टोरन्टोका दर्शकहरुले चर्को तालीका साथ अनुमोदित गरिदिएका थिए ।
कन्सर्टमा ‘यो जिन्दगानी’ गीत प्रस्तुत गरिरहँदा गायक अमृतले पछिल्लो समय नेपथ्य ब्याण्ड मानव सेवा आश्रमसँग मिलेर मानवताको सेवामा समर्पित भइरहेको जानकारी पनि गराएका थिए । यसरी निर्वाह गर्दै आएको सामाजिक दायित्वलाई सन्देशका रुपमा सुनाउँदा सुनाउँदै पनि दर्शकका बीच सर्वकालीक हिट गीतहरु ब्याण्डले प्रस्तुत गरेको थियो ।
ब्याण्डको जोशिलो प्रस्तुतीले सम्पूर्ण दर्शकलाई उफ्रिएर नाच्न बाध्य बनाइदिएको थियो । नेपथ्यले तीब्र दर्शक उत्तेजनाकै बीच ‘रातो र चन्द्रसूर्जे’ गीतबाट आफ्नो प्रस्तुति अन्त्य गरेको थियो ।
कन्सर्टमा अमृतलाई सदैवझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।
टोरन्टो प्रस्तुतिसँगै क्यानाडाको श्रृंखलावद्ध यात्रा समाप्त भएपछि अब १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली अक्टोबर १२ तारिखका दिन स्वदेश फर्कँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण