सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कला

घण्टीको मौनता बोकेको ‘फ्रम मनडेन फ्रिक्सन टू सेल्फ फ्लो’

शनिबार, २७ असोज २०८०, १७ : ००
शनिबार, २७ असोज २०८०

घण्टीलाई प्रतीक र खास पात्र बनाएर कोरिएका कलाकार उमेश श्रेष्ठका चित्रहरू भर्खरै (८ देखि २९ सेप्टेम्बर) सिद्धार्थ कला दीर्घामा प्रदर्शन गरियो । ‘फ्रम मन्डेन फ्रिक्सन टु सेल्फ फ्लो’ नाम दिएर गरिएको यस एकल प्रदर्शनीमा राखिएका चित्रले उनकै चारित्रिक विशेषता झल्काउँथ्यो । 

आफ्ना कलाबारे उनले भने, ‘मेरा कला मैसँग नजिकबाट गाँसिएका छन्  । म आफू हुनु, आफैँ मात्र हुनुको बोध यी कलामा आएका छन् । नितान्त, शान्त, एकान्त, एकाग्रहको प्रत्याभूतिको स्वरूप नै मेरो परिचय हो । मसँगै हिँडेका मेरा भावना, अनुभव, विश्वास, दर्शनलाई कलामा ल्याउने कोसिस गरेको छु । म आफैँ शास्वत–सत्य हुने मेरो कोसिस पनि हो ।’ 

उनका चित्रहरुले उनकै अन्तर्मुखी स्वभावलाई प्रतिविम्बित गरेको आभास हुन्छ । थोरै अनौठो कलाको थिमसँग जोडिएर यसपालि उनले आफ्नो अढाइ दशकदेखिको अनवरत कला यात्रालाई डायरीका रुपमा पस्केजस्तो लाग्छ । यसपालि उनका शुभारम्भदेखि आजसम्मका कामलाई प्रदर्शन गरिएको थियो । 

प्रदर्शनीको एउटा वालमा एउटा उनैको कवितालाई टाँसिएको थियो — 

म पनि उही नेपाली 
हुँ बौद्धमार्गी चिन्दिनँ बुद्ध
म हेर्छु हिमाल बुझ्दिनँ हिउँ 
हेर्छु सुन्दर दृश्य छैन सौन्दर्य
छ मठ–मन्दिर, छैन भक्तजन 
छ घण्टी वरिपरि छैन शान्ति नाद ।  

घण्टी उनका लागि शान्तिको प्रतीक हो । जताततै शान्तिको अभाव भएपछि उनले घण्टीलाई केन्द्रमा राखेर अशान्तिका आलापहरुलाई पनि उनले शान्त आभास हुने गरी पस्केका छन् । घण्टी मात्र होइन, घण्टीसँगै अन्य पात्र (ध्वजा–पताका, सूर्य–चन्द्रसहितको हाम्रो झन्डा, कलात्मक काठका खम्बा, स–साना मन्दिर र घरहरू) सबैजसो एकै ठाउँमा संगठित हुँदा उनका चित्रले भावकलाई कुनै चकमन्न, सुनसान ठाउँतर्फ पुर्‍याउँछ । उनका कलामा चहलपहल छैन, हो हल्ला छैन । उनले आफ्ना कलामा गतिलाई प्रवेश गर्ने अनुमति दिएका छैनन्, दिँदैनन् । स्थिर, दृढ उनका प्रत्येक पात्रले उनकै अन्तर्मुखी स्वभावलाई पनि दर्शाउँछन् । यो एउटा अनौठो सम्बन्ध देखिनु उनको कलामाथिको आत्मीयता, प्रगाढ आस्था अनि आफैँ माथिको गहिरो चिन्तन पनि हो । धेरैजसो कलाकारमा यसरी सबैथोक मिलेर आएको देखिन्न । 

करिब ६ सय वर्षपूर्व भिन्चीले बनाएको मोनालिसाको चित्रलाई पुनः प्रयोग गरेर, पुनर्व्याख्या गरेर उनले कलामा नयाँ अवधारणा भित्र्याएका थिए । एलएचओओक्यू नामक यो चित्रलाई दादावादी वर्क पनि भन्ने गरिन्छ । त्यसै वेला कला जगत्मा यो कलागत प्रवृत्तिले राम्रैसँग मान्यता पाएको थियो ।

‘फ्रोजन साउन्ड’, ‘बेल एन्ड इट्स भाइबे्रसन’, ‘बिटविन टेक एन्ड पावर गेम’, ‘बिटविन डिभोसन एन्ड फुल मुन’, ‘बेल इन्साइड द चोली’ आदि शीर्षकको कलामा घण्टी नै मूल पात्रको रूपमा उभिएको देखिन्छ । यसअघि पनि नेपाली समसामयिक कलाको इतिहासमा धेरै कलाकारले घण्टीलाई बलियो पात्र बनाएका छन्, आ–आफ्नै अर्थका साथ । तथापि उमेशका चित्रमा घण्टी सर्वथा अलग्ग पाराले उदाएको देखिन्छ । घण्टीमा हुने चर्को ध्वनि पनि सुख–शान्तिका लागि देवीदेवताको छेउ पुग्ने बाटो हो सायद । तथापि उनका चित्रमा स्थापित घण्टीका छेउछाउ कतै पनि देवीदेवता दृष्टिगोचर भएका देखिन्नन् । प्रदर्शनीमा उनका देवी–देवताका चित्र छन् तर अलग्गै छन्, जसमा यस्ता भावनात्मक घण्टी देखापर्दैनन् । दुई अलग–अलग प्रकृतिका चित्र देखिनु नै उनको खास विशेषता हो, अनि उनको निजी कलागत–स्वभाव पनि हो । 

2

विश्वको इतिहासमा घण्टीको आफ्नै अलग्ग इतिहास छ । यसको प्राचीनता पहिल्याउँदै जाँदा इसापूर्व ३०००–२००२ देखि अनवरत रूपमा यसले आफ्नो एक अलग्ग अस्तित्व बनाएर बसेको अभिलेख पाइन्छन् । पहिले पहिले माटोबाट बन्थे यस्ता घण्टीहरू । माटोबाट बनेका यस्ता घण्टी नै विश्वको धेरै पुरातात्त्विक क्षेत्रमा प्रशस्त रूपमा पाइएका छन् । पछि यसैको विकसित रूपमा चाहिँ यो धातुको घण्टी बन्न गएको हो । दक्षिण एसियामा यो धातुको घण्टी इसापूर्व हजार वर्ष पहिला पाइएको विश्वास गरिन्छ ।  

द्वन्द्व गाँसिएको सन्दर्भ 

दैलेखको आफ्नो गाउँका घर, आँगन, प्राङ्गण, चौखटमा पोतिने रातो माटो, घरको भित्ताउँदी सफा चिटिक्क पार्न पोतिने हल्का खरानी रङको कमेरो माटो उनका चित्रमा कहीँ न कहीँ समायोजन हुने गर्छन् । परोक्ष रूपमा उनका चित्र स्थानीयताको प्रतिविम्ब पनि हुन् । ठाउँ विशेषको माया, पहिचानको पहल र वकालत गर्नु उनको अर्को प्रतीकात्मक कार्य हो । आफू जन्मेको ठाउँलाई सम्झनामा ल्याउन, देखे–भोगेको परम्परा उनका क्यानभासमा मूर्त–अमूर्त भएर पोखिनु उनी स्वयंको पहिचान हो ।  

उनका कलाले परम्परालाई मात्र सम्बोधन गर्दैनन् । समय क्रममा भएका युद्धलाई पनि आफ्ना कलामा जोडेका छन् । युद्ध सकिन्छ तर केही परिवर्तन हुँदैन — यस्ता पाटा पनि उनका कलामा उदाउने गर्छन् । यस्तायस्तै भावनामा बढी डुबेका चित्रका बीच प्रदर्शनीमा राखिएका दुई–चारवटा चित्र नितान्त अलग्ग थिए । 

‘ड्रिम रियालिटी सोलिलक्वी’ नामक एउटा चित्र, जहाँ उनले १९औँ शताब्दीको मध्यतिर भएको फ्रान्स रेभोलुसन (यसलाई जुली रेभोलुसन पनि भनिन्छ) र नेपालमा भएको माओवादी आन्दोलनलाई जोडेका छन् । चित्रपटको एउटा कुनातर्फ फ्रान्समा त्यतिवेलाका स्थापित कलाकार युजिन डेलाक्रोइक्सको विश्वमै चर्चित चित्र ‘लिबर्टी लिडिङ द पिपुल’को हुबहु कपी गरेका छन् भने अर्को कुनातिर सागर श्रेष्ठले खिचेको माओवादी महिला लडाकुको तस्बिरलाई कपी गरेर राखेका छन् । बीचको भागमा डढिसकेको सानो फ्रेम अनि यसभित्र बडेमानको घण्टीलाई स्थापित गरेका छन् । बीचको भागमा कालो सानो भाँडोमा नेपालको नक्सा कच्याककुचुक भएको अवस्था देखिन्छ भने शिलामा कुँदिएका मूर्तिहरू फालिएका अवस्थामा देखिन्छन् । माथितिर सेतो गोलाकार छ अनि त्यहाँ जानलाई भनेर भर्‍याङ राखिएको छ । माओवादीको आन्दोलनपछि ती लडाकुले के पाए त ? दुखेसो र अझ पीडाबाहेक उनको हातमा के रह्यो भन्ने गहकिलो सवाल बोकेको यो चित्र यो कला प्रदर्शनीको आकर्षकको केन्द्र पनि थियो । 

3

सेतो गोलाकारको अर्थ यहाँ ‘फुल मुन’ अर्थात् उच्चतम प्राप्तिको प्रतीक हो । यी लडाकु यो भर्‍याङबाट ‘फुल मुन’तिर जानलाई तर्खरमा छन् भन्ने सङ्केत पनि हो । दुई राष्ट्रको आन्दोलनलाई जोड्नु, यसको परिणतिलाई तुलनात्मक रूपमा प्रस्तुत गर्नु (कतेरोमा कच्याकुचुक भएको नेपालको नक्सा) सम्भवतः यो चित्रको सबैभन्दा सबल पक्ष हो । कथा र भावना धेरै कुरा एकैचोटि भन्ने उनको कलागत प्रवृत्ति देखिन्छ । यो चित्र रेडिमेन्ट एप्रोचमा बनेको छ । 

रेडिमेन्ट एप्रोच  

रेडिमेन्ट एप्रोचलाई कलाकार मार्सेल डुचेम्पले प्रयोगमा ल्याएका थिए । विश्वमा सन् १९१९ मा उनले पहिलोपल्ट यही एप्रोचको प्रयोग गर्दै मोनालिसा बनाएका थिए । करिब ६ सय वर्षपूर्व भिन्चीले बनाएको मोनालिसाको चित्रलाई पुनः प्रयोग गरेर, पुनव्र्याख्या गरेर उनले कलामा नयाँ अवधारणा भित्र्याएका थिए । एलएचओओक्यू नामक यो चित्रलाई दादावादी वर्क पनि भन्ने गरिन्छ । त्यसै वेला कला जगत्मा यो कलागत प्रवृत्तिले राम्रैसँग मान्यता पाएको थियो । यसर्थ रेडिमेन्ट एप्रोच भनिने यस्ता कलाका स्किम उमेशले पनि आफ्ना कलामा प्रयोगमा ल्याउनु अन्यथा होइन । यस्तो प्रयोग नेपालमै पनि सन् २००० को उत्तरकालमा प्रशस्तै रूपमा हुन थालेको थियो ।    

यसअघि पनि नेपाली समसामयिक कलाको इतिहासमा धेरै कलाकारले घण्टीलाई बलियो पात्र बनाएका छन्, आ–आफ्नै अर्थका साथ । तथापि उमेशका चित्रमा घण्टी सर्वथा अलग्ग पाराले उदाएको देखिन्छ ।

डेलाक्रोइक्सको प्रसङ्ग

सन् १८३० मा बनाएको यो डेलाक्रोइक्सको चित्र ‘लिबर्टी लिडिङ द पिपुल’ अहिले पेरिसको लुभ्र कला सङ्ग्रहालयमा छ । भावना र व्यक्तिवादी (इमोसन एन्ड इन्डिभिजुअलिजम्) चरित्र बोकेर हिँडेको रोमान्टिसिजम् युरोपमा डेलाक्रोइक्स सन् १८०० देखि १८५० सम्म सक्रिय थिए । यही स्वच्छन्दवाद (रोमान्टिसिजम्) का उनी (डेलाक्रोइक्स) अगुवा थिए । उनले यसैबेला आफ्ना भाइलाई चिठी लेख्दा यस चित्रबारे दुई हरफ लेखेका थिए — मेरा नराम्रा मुडहरू मेटिँदै गइरहेका छन् । मेरो कामलाई मै आफैँ धन्यवाद दिन चाहन्छु, मैले राष्ट्रका लागि त लड्न सकिनँ तर मैलै यसै विषयमा आधुनिक पारामा चित्र बनाएँ । 

सम्भवतः उनी त्यतिबेला भइरहेको फ्रेन्च रेभोलुसनमा स–शरीर लड्न सकेनन् र उनले यही आन्दोलनको एक भागको रूपमा यो चित्र बनाएका हुन् । जुन आज पनि अमर भएर रहेको छ । क्रान्ति र कलाको संयुक्त रूप यस कलामा देखिन्छ । आज पनि दर्शक त्यति बेलाको क्रान्ति र कला दुवैलाई समान रूपले सम्झिने गर्छन् । उनको यो चित्र सालोनमा सन् १८३१ मा प्रदर्शन भयो । राष्ट्रको आधिकारिक निकाय र विशाल रूपमा कलाको प्रदर्शन गर्ने निकाय हो सालोन, जहाँ प्रदर्शन हुन सक्यो भने कला र कलाकारले विश्वविख्यातको मान्यता पाउने प्रचलन त्यस बखत थियो । अहिले विश्वभर नै कलाको एउटा कालखण्डको मानकका रूपमा यो कलालाई हेर्ने गरिन्छ । 

कलाकार उमेशले ‘ड्रिम रियालिटी सोलिलक्वी’ नामक चित्रमा डेलाक्रोइक्सको चित्रलाई पुनव्र्याख्याको साथ राखेको मात्र देखिँदैन, तत्कालीन स्वच्छन्दवादमा विशेषताको रूपमा रहेको कलाकारको चरम उत्कर्षमा रहेको भावना, कल्पना अनि निजीपन, आफैँलाई हेर्ने निजत्व वा व्यक्तिवादी (सकारात्मक अर्थमा) स्वभाव पनि उनको चित्रमा समाहित भएको देखिन्छ । राष्ट्रका आन्दोलनका भाव र मर्मलाई उनका कलाले समातेको देखिन्छ । 

यो नेपाल र विश्वका उस्ताउस्तै घटनालाई जोडेर बनाइएको उमेशको यो कला विश्वको कुनै पनि ठाउँमा पुगोस्, बुझ्न सहज हुन्छ । यस्तो खालको मोटिफ र पात्रको चयन गर्नु पनि यो चित्रको सार्थक पक्ष देखिन्छ ।  

4 (1)

यस्तै अर्को चित्र छ, ‘बेल इन्साइड द चोली’ । नाम आफैँमा अद्भूत लाग्ने यो उनको चित्रमा महिलाको बडेमानको चोलीले अजङ्गको घण्टीलाई ढाक्न खोजेको परिदृश्य देखिन्छ । पछाडिको पूरै पृष्ठभूमि नेपाली झन्डाको छोपेको छ, फूल अक्षता अनि कतै टाढा गाउँको प्रत्याभूति दिने केही घर पनि देखिन्छन् । अधकल्चो भाँचिएको काठको फ्रेमले चित्रपटको तल्लो भाग छोएिको देखाइएको छ ।

राजनीति र राजनीतिज्ञले देश जम्मै सखाप पारेपछि आमा (नेपाली आमा) को चोलीले बाँकी बचेको सम्पदा, संस्कार वा मान्छेका रहरहरू बचाउँदै गरेको परिदृश्य यस चित्रमा आएको बुझिन्छ । कुखुराले आफ्ना चल्लालाई आफ्नो न्यानो पखेटाले छोपेझैँ नेपाली आमाले घण्टीलाई छोपेको यो दृश्य ज्यादै नै मार्मिक पाराले देखापरेको छ । घण्टीपछाडि देखिएको सानो झुपडीले समुदायको प्रतिविम्बित गर्छ । पृष्ठभूमिमा रहेको नेपालको झन्डा देशको प्रतीकका रुपमा र चोली नेपाली आमाको प्रतीकका रूपमा आएको स्पष्ट अनुभव गर्न सकिन्छ । 

यस्तायस्तै थुप्रै चित्र यो कला प्रदर्शनीमा प्रदर्शित छन् । यसैमा पनि ‘बिन्दी एन्ड फुल मुन’, ‘बिटविन टेक एन्ड पावर गेम’ आदि चाखलाग्दा चित्र यो प्रदर्शनीमा अवलोकन गर्न सकिन्छ । यी सबैका आ–आफ्नै कथा–व्याथा छन् । 

उमेश श्रेष्ठ पश्चिम नेपालको दैलेखमा सन् १९७५ मा जन्मेका हुन् । कला सिक्ने हुटहुटीले जिद्दी गरेर कलामै होमिएका उनलाई घर–परिवारले त्यति वास्ता गरेन तर उनले आफ्नो जीवनको लडाइँ आफैँ लड्दै कलाको यो शिखर चुम्न सफल भएका छन् । जीवनको शुभारम्भमै पाएको बाजेको असीम माया भने आज पनि उनको दिमागमा ताजा छ । बाजेले अध्ययन गर्ने गरेको धर्मग्रन्थमा रहेको सानो चित्र उनका लागि प्रेरणाको स्रोत बनेको थियो । 

उमेशबारे यस्ता भन्ने कुरा थुप्रै छन् । यहाँ सबै कुरा उल्लेख गर्न सम्भव छैन । आफ्नै पलपलका घटना, अनुभव, दुःखसुखलाई उनले आफ्नो चित्रपटमा उतार्ने गरेको देखिन्छ । यसपालि प्रदर्शित उनका चित्रमा समग्रमा उनको सोच, शिल्प दक्षता, दृष्टिकोण, कलामाथि लगनशीलता, इमानदारिता, मिहिनेत आदि  अवलोकन गर्न सकिन्थ्यो । सुपर रियालिस्टिक फर्ममा देखिने विस्तारमा अनुशासनबद्ध रूपमा बगेका रेखाहरू, रङ अनि आफ्ना संस्कार तथा परम्परा माथिको आस्था आदि यथेष्ट रूपमा उनका कलामा देखिनु पनि उनको खासमा कलागत पहिचान हो । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप