सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
दसैँ

दसैँमा सागसब्जी कम, माछा बढी खपत

बिहीबार, ०९ कात्तिक २०८०, १६ : ५४
बिहीबार, ०९ कात्तिक २०८०

काठमाडौँ । दसैँमा सागसब्जीको खपत घटेको छ भने माछाको खपत बढेको पाइएको छ । काठमाडौँ उपत्यकामा पछिल्लो पटक तरकारी, फलफूल, मसला लगायतका वस्तुको खपत घटेको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्ला ९ दिनको अन्तरालमा करिब ७६ प्रतिशतले तरकारी, फलफूल लगायतको खपत घटेको हो । दसैँमा उपत्यकाबाट लाखौँको संख्यामा सर्वसाधारण बाहिरिएकाले तरकारी, फलफूल, मसलाजन्य वस्तु लगायतको खपत कम भएको समितिले जनाएको छ । यो अवधिमा हरियो तरकारीभन्दा माछा–मासुको खपत बढी पाइएको छ ।

कार्तिक १ गते ४ लाख ३१ हजार ६ सय ४१ किलो तरकारी, फलफूल, मसलाजन्य वस्तु  बजारमा आपूर्ति भएको थियो । नौ दिनको अन्तरालमा ३ लाख २९ हजार ९ सय ६८ किलोले घटेर १ लाख १ हजार ६ सय ७३ किलोमात्रै ती वस्तुको आपूर्ति भएको समितिको तथ्याङ्कमा उल्लेख छ ।

नौ दिनअघि ३ लाख ६५ हजार ९ सय ५४ किलो तरकारी कालीमाटीमा आपूर्ति भएकोमा बिहीबार ८३ हजार ८ सय ९८ किलोमात्रै आपूर्ति भएको छ । फलफूलको खपत पनि घटेको देखिएको छ । नौ दिन अघि ३७ हजार ९ सय ३९ किलो आपूर्ति भएको फलफूल बिहीबार कालीमाटी बजारमा १४ हजार ५ सय ६५ किलो भित्रिएको छ ।

नौ दिनअघि २५ हजार ७ सय ४८ किलो मसलाजन्य वस्तु आपूर्ति भएको थियो । बिहीबार ३ हजार २ सय किलोमात्रै ल्याइएको छ ।

माछाको खपत बढी

हरियो सागसब्जीको खपत घटे पनि माछाको खपत भने यो अवधिमा बढेको छ । कालीमाटी बजारले नौ दिन अघि ७ हजार १ सय ६० किलो माछा आपूर्ति गरेको थियो । तर बिहीबार ८ हजार ५ सय ५८ किलो माछा आपूर्ति गरेको तथ्याङ्कले देखाएको छ । उपत्यकामा नौ दिनमा १ लाख १ हजार ८ सय ७८ किलो माछा खपत भएको छ ।

कालीमाटीमा यो कार्तिकमा मात्रै हरियो तरकारी २८ लाख ५४ हजार ७ सय ८६ किलो आपूर्ति भएको छ । यस्तै, ३ लाख ३५ हजार ९ सय ८१ किलो फलफूल आपूर्ति भएको समितिले जनाएको छ । समितिका अनुसार १ लाख ९५ हजार ३ सय ४५ किलो मसलाजन्य वस्तु र ३ हजार ३ सय ५० किलो अन्य वस्तु आपूर्ति भएको छ । कालीमाटीमा नौ दिनमा ३५ लाख ३ सय ४० किलो तरकारी, फलफूल, माछा, मसलाजन्य वस्तु लगायत आपूर्ति भएको तथ्याङ्कमा उल्लेख छ । 

tarkari

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप