बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन

मङ्गलबार, १६ असार २०८३, १७ : ०२
मङ्गलबार, १६ असार २०८३

सारांश

  • कपिलवस्तु कारागारका कैदीबन्दीले उठाएका मागबारे छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ।
  • कैदीबन्दीले ज्यादती, खानाको गुणस्तर र शोषणविरुद्ध १८ बुँदे मागपत्र पेश गरेका थिए।
  • समितिले छानबिन गरी प्रतिवेदन बुझाएपछि थप निर्णय हुने अपेक्षा गरिएको छ।

बुटवल । कपिलवस्तु कारागारका कैदीबन्दीले उठाएका विभिन्न मागको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ।

कारागारको ब्लक नम्बर २ का कैदीबन्दीले सोमबार नाइकेहरूले ज्यादती गरेको, खानाको गुणस्तर कमजोर रहेको तथा आर्थिक र शारीरिक शोषण भएको आरोप लगाउँदै १८ बुँदे मागपत्र पेश गरेका थिए।

उनीहरूले खानाको गुणस्तर सुधार, आर्थिक शोषण अन्त्य तथा विभिन्न सेवा–सुविधा सुनिश्चित गर्न माग गरेका छन्।

मंगलबार गठन गरिएको समितिमा संयोजक घिमिरेसहित जिल्ला प्रशासन कार्यालयका एक अधिकृत, सशस्त्र प्रहरी बलका एक प्रहरी नायव उपरीक्षक (डीएसपी) र नेपाल प्रहरीका एक प्रहरी निरीक्षक सदस्य रहेका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार समितिले कैदीबन्दीले उठाएका विषयमा सम्बन्धित सबै पक्षसँग सोधपुछ तथा आवश्यक अध्ययन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्नेछ। प्रतिवेदन बुझाउने निश्चित समयसीमा भने तोकिएको छैन।

कारागारका जेलर मानबहादुर शाहीका अनुसार समिति गठन भएसँगै ब्लक नम्बर २ का कैदीबन्दीले मुख्य ढोका खोलेर आन्दोलन स्थगित गरेका छन्। विवादमा जोडिएका मूल नाइके, नाइकेसहित पाँच जनालाई ब्लक नम्बर २ बाट अन्य ब्लकमा सारिएको उनले जानकारी दिए।

कपिलवस्तु कारागारको ब्लक नम्बर २ मा हाल १९१ जना कैदीबन्दी रहेका छन्। कारागारमा ब्लक नम्बर १ र २ गरी दुई आवासीय ब्लक छन्। समितिले छानबिन प्रतिवेदन बुझाएपछि थप निर्णय हुने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप