बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

पशुपति दर्शन गर्न आउने दर्शनार्थी र यात्रु लुट्ने दुई जना भारतीय नागरिक पक्राउ

मङ्गलबार, १६ असार २०८३, २१ : २०
मङ्गलबार, १६ असार २०८३

काठमाडौँ । काठमाडौँको सार्वजनिक यातायात र पशुपतिनाथ मन्दिर क्षेत्रमा यात्रु तथा दर्शनार्थीहरूलाई लुटपाट गर्ने कार्यमा संलग्न दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। 

सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरू र पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरूको सुनचाँदीका गरगहना लुट्ने कार्यमा संलग्न उनीहरूलाई प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा भारतको गोरखपुर घर भई हाल जिल्ला भक्तपुर बस्ने ३४ वर्षको रन्जीत चौधरी र भारतकै सिसवा घर भई हाल जिल्ला भक्तपुर बस्ने ४५ वर्षकी शान्ति चमार रहेका छन्। प्रहरीले उनीहरूको साथबाट चोरी गरिएका सुनचाँदीका गरगहना, नगद र मोबाइल फोनहरू बरामद गरेको छ।

प्रहरीका अनुसार उनीहरूको साथबाट सुनको सिक्री लकेट १ थान, सुनको झुम्का ४ थान, सुनको मुन्द्रा ६ थान र पोतेसहितको सुनको मङ्गलसूत्र १ थान बरामद भएको छ। यसैगरी चाँदीका गहनाहरूमा औँठी १ थान, सिक्का १ थान, पाउजु ४ थान, सिक्री १ थान, खुट्टामा लगाउने बिच्छी २ थान, ब्रासलेट १ थान र लकेट १ थान बरामद गरिएको छ।

गहनाका अलावा प्रहरीले उनीहरूबाट नेपाली नगद १ लाख १५ हजार ५ सय रुपैयाँ, भारतीय रुपैयाँ ८० हजार र विभिन्न कम्पनीका ६ थान मोबाइलहरू समेत फेला पारेको छ। पक्राउ परेका व्यक्तिहरूको साथबाट भारतीय प्यान कार्ड २ थान, आधार कार्ड १ थान, जैविक कृषि विस्तार योजनाको कार्ड १ थान र खोप कार्ड १ थान समेत बरामद भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार नियन्त्रणमा लिइएका दुवै जनामाथि चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप