सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
निबन्ध

भाइटीका, सप्तरङ्गी र सयपत्री

शनिबार, २५ कात्तिक २०८०, १३ : १८
शनिबार, २५ कात्तिक २०८०

सप्तरङ्गी र सयपत्रीको महत्वले मान पाउने यो साता कति रङ, कति उमङ्ग र कति उल्लासले भरिन्छ । आफ्ना दाजुभाइलाई निधारमा सप्तरङ्गी टीका र गलामा सयपत्रीको मालाले सजाउने दिदीबहिनीहरु । आपसी घनिष्ठता माइती र चेलीको प्रगाढ सम्बन्धको अविच्छिन्न सिलसिला ।

हाम्रो नेपाली समाज शताब्दीऔँदेखि आपसी मित्रता, शान्ति र सद्भावले युक्त राष्ट्र हो । यस किसिमको सामाजिक र सांस्कृतिक जीवन संसारमा भाइचाराको सुमधुर सम्बन्धले हामीलाई सधैँ एकताको सूत्रमा आबद्ध गर्दै ल्याएको छ ।

पारिवारिक नाता, माइती र चेलीको सनातन सम्बन्ध एक अनुपम सांस्कृतिक अनुष्ठानको परम्परागत पद्धति हो । त्यसैले, हाम्रा लागि हाम्रो राष्ट्र, समाज र हामीले मान्दै आइरहेका पद्धति महत्त्वपूर्ण छन् । त्यसैगरी, अनेक परम्परागत पर्व तथा संस्कार, संस्कृतिहरू पनि त्यत्तिकै अभिन्न रहँदै आएका छन् ।

प्राकृतिक सुन्दरताका साथै हामीमा आपसी मित्रतापूर्ण भाइचारा छ । हाम्रा मौलिक सम्पदा, संस्कृतिहरूका लागि पनि परिचित र प्रसिद्ध छौँ । हरेक वर्ष नेपाल घुम्ने पवित्र उद्देश्यको योजना बनाएर विदेशी पाहुनाहरू हाम्रो देशमा यिनै मन लोभ्याउने कुरा हेर्न आउँछन् । उनीहरूमध्ये अधिकांशले हेर्ने, घुम्ने, पुग्ने र रमाउने भनेकै हाम्रा प्राकृतिक छटाहरू हुन् । वन्यजन्तु र अनेक वनस्पतिहरू हुन् । त्यस्तै, समृद्ध सम्पदा र संस्कृति तथा विविधतामा एकता भएको जीवनशैली हो ।

हाम्रा हरेक पर्व, उत्सव तथा सांस्कृतिक परिपाटीहरूको निरन्तरताले हामीलाई एकापसमा सधैँ सन्निकट राख्छ । यही निकटताले हामीबिच दयामाया, विश्वास र सामाजिक जीवन चलिरहेको हुन्छ । यसैमा न्यानोपन दिँदै आइरहेको छ । विकासको गतिले फड्को मार्न नसके तापनि सहयोग, सद्भाव र भाइचाराका कारण हामी दुःखमा पनि सुख र सन्तुष्टिको आनन्द लिन्छौँ ।

प्रायः मुलुकका मानिसहरूसँग व्यस्तता अधिक छ र आपसी दयामायाको अभाव छ । त्यसैले, उनीहरूमा सुख र दुःखको भावना तथा मानवीय संवेदनाको कमी महसुस गर्न सकिन्छ । फलस्वरूप भाइचाराको पक्ष बिरानो रहेको छ । त्यसैले, हाम्रो मित्रता, मायाममताका प्रति तिनको अगाधै अभिरुचि र आकर्षण बढ्नु स्वाभाविक हो ।

यसैबिच, शारदीय सौन्दर्यको मनमोहक परिवेशका बिच हाम्रो महान् पर्व बडादसैँ लगत्तै हाम्रो घर आँगनमा अर्को रमाइलो चाड भाइतिहार भित्रिसकेको छ । यस पर्वलाई हामी पशुपक्षी, प्रकृति र जीवनको पूजा गर्दै मनाउँछौँ । सप्तरङ्गी र सयपत्रीको विशेष महत्त्वपूर्ण स्थान हुने यस अवसरमा सप्तरङ्गी टीका र सयपत्री मालाले कति शोभायमान जीवन–स्वरूप दृष्टिगोचर हुन्छ स्वतः अनुभव गर्न सकिन्छ ।

यस अवसरमा जताततै झिलिमिली बत्ती बालिन्छ । देउसी र भैलीहरू खेलिन्छ । वास्तवमा भाइतिहारको एक अनुपम सांस्कृतिक उत्सव बत्तीको उज्यालो पनि हो । घर–घरमा पुगेर भट्याइने ‘देउसी’ र ‘भैलो’ को परम्परागत गायन तथा आशीर्वाद पनि अर्को मनोरम पाटो । यसले पनि हामीलाई भाइचाराको भद्र भातृत्वमा गाँस्दै ल्याएको अनुभव हुन्छ ।

यसरी अनेक अर्थमा अत्यन्त रोमाञ्चक उत्सवका साथ मनाइने पवित्र पर्वको नाम हो भाइचाराको ‘भाइतिहार’ ।

भातृत्वको भद्र पर्व यो । संस्कृतिको एक विराठ अनुष्ठान हो यो । यस पर्वलाई हामी यसरी नै सम्झिने गर्छौँ । मूलतः सप्तरङ्गी टीका र सयपत्रीको मालाको महिमा यस पर्वको अर्को उल्लेख्य पाटो हो ।

हुन पनि यस पर्वमा सांस्कृतिक सद्भावको पक्ष प्रकट हुन्छ । आपसी मित्रतादेखि पशुपक्षी र प्रकृतिसम्म त्यो विस्तारित हुँदै उद्घाटित हुन पुग्छ । दया, माया, करुणाका साथै मैत्रीपूर्ण जीवन–संरचनाको सिलसिला सुरु गर्छ ।

यसरी यस चाडले आफ्नो परम्परागत गौरवलाई अक्षुण्ण राख्दै आइरहेको छ । सोही क्रमको निरन्तरताका रूपमा यसले भाइपूजाको एक अद्वितीय संस्कृतिको अध्याय निर्माण गरेको स्मरणीय हुन्छ ।

यस पर्वमा दिदीबहिनीहरूले दाजुभाइको पूजा गर्छन् । यसका साथै प्रत्येक व्यक्ति स्वयम् ‘भगवान्’ हुन् भन्ने अर्थमा आफ्नो आत्माको पूजा गरी ‘म्हपूजा’ को संस्कृतिसमेत सम्पन्न गर्ने गछौँ ।

यसरी यस पर्वमा भातृत्वपूर्ण भाइचाराको भरिलो र पवित्र भावना सन्निहित रहेको हुन्छ । अतः भाइतिहारलाई भाइचाराको एक अनुपम पर्वका रूपमा लिइने गरिन्छ ।

समयको अन्तरालमा आज भाइतिहारको संस्कृतिले अझ महत्त्वपूर्ण स्थान लिइरहेको पाइन्छ । यस पर्वको आवश्यकता र महत्वलाई मनन गरी नेपाल भित्रका नेपालीहरूका साथै विदेशका विभिन्न भूमिमा रहेको नेपालीहरूले पनि यो पर्व ठुलो उत्साह र उमङ्गका साथ मनाउने गर्दै आइरहेका छन् । हिन्दु तथा बौद्ध धर्म मान्ने नेपालीहरूको पर्वका रूपमा मात्रै यो तिहार सीमित छैन ।

अब भाइतिहार सबै जातजाति, समुदायको साझा पर्वको महान् चाडमा विकसित भइसकेको छ । सुख, शान्ति र समृद्धिको हार्दिक कामनासहित शुभकामना आदान–प्रदान गर्ने काम प्रायः सबै सम्प्रदायका मानिसहरूले गर्दै आइरहेका छन् । अर्को कुरा मानवीय मैत्री भावनाका साथ यो पर्व मनाइन्छ ।

शान्तिपूर्ण सद्भावको सुन्दर संसार यसै पर्वमा देख्न सकिन्छ । यस्तो समाज र संसारमा व्यक्ति कुनै वैमनस्य वा व्यक्तिगत स्वार्थमा अन्धो भएको हुँदैन । सबैसँग समान र सम्मानपूर्ण व्यवहार गर्छ । यसरी नै मुस्कानसहित मनले हार्दिकता प्रकट गर्ने बानी विकसित भइरहेको हुन्छ ।

मनका यिनै हार्दिकतापूर्ण भाइचारामा भाइतिहारको खास विशेषता झल्किन्छ । वास्तवमा आपसी भाइचाराले हामीलाई सत्कर्मको मार्गमा अभिप्रेरित गराइ रहन्छ । भाइचारा भन्नु आपसी विश्वास, मित्रता र मानवताको सुन्दर समाजको पहिचायक पाटो हो । यसले हामी प्रत्येकलाई, हरेक जाति र हरेक पुस्ताका मानिसलाई सकारात्मक सन्देश प्रवाह गराउँछ ।

यस किसिमको सोच र शक्ति हामीलाई यही भाइचाराको प्रतीक पर्व भाइतिहारले दिन्छ । भाइतिहारमा प्रकट हुने भाइचाराले अन्ततः सधैँ यस्तै जीवनशैलीको जीवनयापनमा लागिरहन पनि हामी सबैलाई प्रेरणा प्रदान गर्छ । अनि हामी हरेक वर्ष आफू र आफ्ना सन्ततिहरूसँगै रमाउँछौँ । यसरी नै हाँसीखुसी, सामाजिक जीवन जिउने प्रतिबद्धताका साथ भाइतिहारको संस्कृति भव्य उत्सवका साथ मनाउँछौँ ।

सुन्दरता, स्वच्छता र पवित्रता यसको अर्को पक्ष हो । घर, आँगन, कोठाचोटा सफासुग्घर पार्नुसँगै त्यहाँ दीप प्रज्वलन गरी शक्ति प्राप्तिको प्रार्थना गर्छौँ । औँसीको कालो रातलाई समेत उज्यालो ज्योतिले गाउँ तथा सहरै झिलिमिली पार्ने प्रयत्न गर्छौँ । त्यस प्रयत्नमा  परम्परागत पर्वप्रतिको आस्था हुन्छ ।

त्यही आस्थामा पूजाआजाको संस्कृतिले आपसी भाइचाराको बोध गराउँछ । आफू र आफन्तहरू समेतलाई शक्तिशाली बनाउने चेष्टा गर्छ । सोही चेष्टाको रूपमा आफैँ देवता र आफैँ पुजारीको मान्यता प्रतिस्थापन गर्दै म्हपूजाको कार्य गरिन्छ ।

वस्तुतः भाइतिहारमा दिदी र भाइको सम्बन्ध अझ प्रगाढ बन्छ । टाढिएका दिदीभाइको मिलन हुन्छ । दिदीबहिनी र दाजुभाइको बिछोड नहोस् भन्ने भेटघाट र भलाकुसारीले भाइचाराको धमिलो पक्षलाई चहकिलो पार्दछ । भाइतिहारमै दिदी र बहिनी तथा दाजु र भाइको आवश्यकता, अभाव वा महत्त्वबोध हुन्छ ।

अन्ततः भाइचाराको प्रतीक भाइतिहार । यसले सनातनदेखिको आस्था, विश्वास र पर्वप्रतिको गम्भीरता प्रकट गर्छ । त्यही विश्वास, मान्यता र प्रतीक पर्वका रूपमा भाइतिहारले दिदीबहिनी र दाजुभाइको नाता सम्बन्धलाई जीवन्त राख्दै ल्याएको छ ।

त्यसैले, यस अवसरमा कहिल्यै नओइलाउने दुबो तथा मखमली फूल र वासनादार सयपत्री फूलको माला लगाइन्छ । निधारमा सप्तरङ्गी टीका लगाई जीवनको प्रतीकको रूपमा बत्ती बालिन्छ । सप्तरङ्गी भनिए पनि यसमा मूलतः पाँचवटा रङको प्रयोग हुन्छ ।

भाइतिहारमा भाइचाराको प्रतिनिधित्व हुन्छ । यसो गर्दै अनुहारको अग्रभाग निधारमा सजाएर बनाइने ती पाँच रङको विशेष अर्थ छ । जस्तै– रातो रङले मङ्गल, सेतोले स्वच्छता र शान्ति, पहेँलोले दीर्घजीवन, नीलोले सुस्वास्थ्यको प्रतीक मानिन्छ । यसरी नै हरियो रङले बौद्धिकताको प्रतिनिधित्व गर्ने गर्छ । अर्थात् यी प्रत्येक रङहरूलाई हाम्रो मानव जीवनको उज्यालो पाटाहरूको रूपमा लिइने, ग्रहण गरिने चलन रहेको छ ।

त्यसैगरी, कहिल्यै नसुक्ने तोरीको तेलले घेरा हाली फूलैफूलले पूजा गरी दीर्घायुको कामना गरिन्छ । फूलप्रसाद, सगुन, फूलैफूल र रङैरङको परिवेशमा भाइतिहारको मौसम वास्तवमा बत्ती, फूल, रङ, सेलरोटी, देउसीभैलो, चङ्गा, पिङ, जुवा, तास आदिले सम्मिश्रित र अविस्मरणीय बन्छ ।

यही स्मरणीय पलमा प्रतिबिम्बित हुने मानवीय मैत्री भावनाको शाश्वत पक्ष नै भाइतिहारको साँचो संस्कृति हो । यसै मेसोमा दिदीबहिनीको पर्वका रूपमा यसले आफ्नो सनातन अस्तित्व जीवन्त राख्दै आइरहेको छ । र, आइरहनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप