शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
जलवायु परिवर्तन

हेर्दाहेर्दै हिमाल हरायो, ताल सुक्यो

मङ्गलबार, २८ कात्तिक २०८०, १६ : ०७
मङ्गलबार, २८ कात्तिक २०८०

मनाङ । मनाङका धनबहादुर गुरुङ माथिल्लो मनाङमा पढाउन जाँदा गंगापूर्ण ताल निकै ठूलो थियो । ४७ सालदेखि भ्राकामा रहँदासम्म उनले देखेको गंगापूर्ण ताल अहिले छैन ।

‘त्यही तालदेखि गंगापूर्ण हिमालसम्म मनमोहक ग्लेसियर थियो, त्यो पनि अहिले छैन,’ उनी भन्छन्, ‘आँखै अगाडि ताल सुक्यो, हिमाल हरायो ।’

उनकै अनुभवमा मनास्लु हिमाल नजिकै रहेको लार्के पिक अहिले हराएको छ । ‘मनास्लु हिमालको छेउमा लार्के पिक देखाएर सरकारले आरोहणका लागि अनुमति दिएको छ । तर त्यो लार्के पिक अहिले छैन,’ गुरुङले थपे, ‘०४३ सालसम्म थियो । अहिले त्यो नाङ्गो डाँडा भइसकेको छ । सरकारले वास्ता गरेको छैन, अध्ययन गरेको छैन । यो गहिरो विषय हो ।’ गाइडले लार्के पिक भनेर लार्के हिमाल चढाएको उनको भनाइ छ ।

यी सबैखालका फेरबदल जलवायु परिवर्तनका कारण आएको उनी बताउँछन् । ‘हिजो देखेको ताल आज देख्न नपाउने, हिजो देखेको हिमाल आज देख्न नपाउने । हाम्रै जीवभरिमा ठूलो फेरबदल आएको छ,’ गुरुङ भन्छन्, ‘उच्च हिमालमा हामीले नजानिँदो हिसाबले जलवायु परिवर्तनको असर भोगिरहेका छौँ । बेलाबेलामा डिजास्टर पनि आइरहेको छ । तर रोक्ने उपाय हामीसँग छैन ।’

थोंचेका मिनबहादुर गुरुङ उमेरले बुढ्यौलीमा पुगे । आजभोलि मौसम र वातावरणमा आएका परिवर्तन उनका लागि अनौठो लाग्न थालेको छ । ‘ताचैको डाँडामा असारसम्मै हिउँको थुप्रो हुन्थ्यो । कुनै वर्ष त बाहुनडाँडा (लमजुङ) सम्म पनि हिउँ पर्थ्यो,’ उनी भन्छन्, ‘खै आजभोलि आरीघोप्टे पानी पो पर्छ । हिउँ कुनै वर्ष त देख्नै पो पाइन्न ।’

खेतबारीमा पहिले भएका जीव किरा हराएका र नयाँ किरा देखिन थालेका उनी बताउँछन् । त्यहाँका डाँडाहरुमा भेटिने हाब्रे पनि लोप भएका छन् । ‘डोना तालको बाटोबाट गोठमा जाँदा ४०–५० वटा हाब्रे भेट्थ्यौँ । एउटै रुखमा ५–७ वटा हुन्थ्यो,’ उनले भने, ‘१० वर्ष अगाडितिर हाब्रेको दिसासम्म देखिन्थ्यो । आजभोलि खोज्दा पनि पाइँदैन ।’

२०७८ सालमा मनसुन सुरु नहुँदै मनाङमा बाढीले बेस्सरी हान्यो । मर्स्याङ्दी किनारका बस्ती खण्डहर भए । गाउँलेलाई सोध्दा यस्तो बाढी उनीहरुको जीवनमा कहिल्यै आएको थिएन । ‘बाढी आउँछ भन्ने थाहा पाएको भए नदी किनारमा कसले घर बनाएर बस्थ्यो ? हाम्रा जिजुबाजेदेखि कसैले नदेखेको र नभोगेको प्रलय हामीले भोग्यौँ,’ ताल गाउँका वडाध्यक्ष मिनराशी गुरुङ भन्छन्, ‘अलिअलि जानेका मान्छेहरु जलवायु परिवर्तनको असर भन्छन् । परम्परागत बुझाइ भएकाहरु कली बहुलाएको भन्छन् ।’

उनले मनाङका खोलाहरुमा बिस्तारै माछा हुर्किन थालेको पनि बताए । ‘यति चिसो पानीमा माछा हुर्किने परको कुरा, बाँच्दै बाँच्दैनथ्यो । पहिला पहिला हामीले माछा पाल्न प्रयास गरेका हौँ तर भएन,’ उनले भने, ‘आजभोलि खोलामा माछा मज्जासँग खेल्छ । यो त अनौठै भएन र ?’

चिसो पानीमा हुने ट्राउट माछा मनाङमा व्यावसायिक पालन हुन थालेको छ । तर विगतमा ट्राउट पनि यहाँ नभएको उनले बताए ।

गोवाका गुणराज गुरुङले हिउँ पर्ने सिजन र उत्पादनमा जलवायु परिवर्तनको अनुभव गरेका छन् । ‘पुस–माघमा बेस्सरी हिउँ पर्थ्यो । आजभोलि वैशाख जेठमा पर्छ । यसको कारण के हो त ?,’ उनले भने, ‘झारपातमा पनि धेरै फरक परेको छ । नौलो नौलो झारपात देखिन थालेको छ । हाम्रो ठाउँमा खुर्सानी र गोलभेँडा हुन्थेन । आजभोलि व्यावसायिक खेती हुन थालेको छ । क्याप्सिकम मजाले उत्पादन भइरहेको छ । यो भनेको त जलवायु परिवर्तनकै कारण होइन र ?’

प्याज, काँक्रो पनि उत्पादन हुन थालेको उनले बताए । उनले तापक्रमको अन्तर पनि सुनाए । ‘दिउँसोमा टिसर्ट लगाएर बस्छौँ । घाम डुब्ने बित्तिकै डाउन ज्याकेटले पनि धान्दैन,’ गुरुङले भने, ‘कारण के हो भन्ने त हामी गाउँलेलाई के थाहा ? तर वर्षैपिच्छे दैनिकीमा ठुलो अन्तर परेको छ ।’ हिउँ पर्ने ठाउँहरुमा तोडले झरी पर्न थालेको उनीहरु बताउँछन् ।

२ वर्षअघि तल्लो मनाङमा मात्रै होइन, सुदूर उत्तरमा रहेको नार र फूमा पनि झरी प¥यो । हिउँमात्रै पर्ने ठाउँ भएर यहाँका नागरिकले तातोका लागि माटोको घरमा माटोकै छानाले छाउँथे । अघिल्लो बर्खाका कारण छाना चुहिन थाल्यो । केही घरहरु बगायो पनि ।

‘आम्मामा यत्रो ठूलो झरि पहिलो पटक फूमा प¥यो । गाउँलेको भागदौड नै चल्यो नि,’ पालिका अध्यक्ष कोञ्जो तेञ्जिङ लामाले भने, ‘ग्लेसियरहरु पग्लेर जमिन मरुभूमि जस्तो हुन थालेको छ । गाउँलेको जीवनमा धेरै संकट आइरहेको छ ।’ उच्च हिमालमा नयाँ ताल देखिन थालेको र पुराना तालहरु हराएको उनले बताए ।

नासों गाउँपालिकाको टुप्पोमा रहेको डोना तालको आकार निकै बढेको छ । १९९४ मा नाप्दा तालको लम्बाई १३ सय मिटर थियो । २०११ मा नाप्दा २५ सय मिटर पुग्यो । अहिले नाप्यो भने अझै बढेको छ । ‘तालको लम्बाई बढ्यो, चौडाई चाहिँ घटेको छ । कुन दिन के हुने हो भनेर चिन्ता बढेको छ,’ नासों–५ का वडाध्यक्ष थुतेन लामाले भने । अचेलका अव्यवस्थित विकासका कारण भूक्षयका घटना बढेका उनले बताए ।

हिमाली क्षेत्रमा लामो समय अनुभव बटुलेका नरेन्द्र लामा हिमाली जलवायुले अस्वाभाविक रुप देखाएको बताउँछन् । ‘हामी हिमाली क्षेत्रको भ्रमण गर्दा हिजोजस्तो अवस्था थियो, आज त्यस्तो कहाँ पाउनु ? माथिल्लो क्षेत्रको स्वभाव धेरै फेरिएको छ,’ उनले भने, ‘जंगलहरुमा पहिरो झर्ने, बाढी आउने भइरहेको छ । गर्मीमा अधिक गर्मी र जाडोमा अधिक जाडो हुन थालेको छ ।’ सरकारले समयमै नियन्त्रणको उपाय खोज्नुपर्ने उनले सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप