सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
जानकारी

मान्छे बेहोस भएर ढल्दा गन्हाएको मोजा वा जुत्ता सुँघाउनु उपयुक्त हो ?

बिहीबार, ३० कात्तिक २०८०, ११ : २३
बिहीबार, ३० कात्तिक २०८०

बुधबार (१५ कात्तिक) दिउँसो, भद्रकालीस्थित राष्ट्रिय वाणिज्य बैंंकको गेट अगाडि एक व्यक्ति ढलेर बेहोस भए । तत्कालै वरपरका मान्छेले उनकै जुत्ता खोलेर उनलाई नाकमा सुँघाइदिए । कोही भन्दै थिए, एकछिनमा आफैँ उठ्छ । कोही भन्दै थिए, यहीँ वरपरको कार्यालयका व्यक्ति त होइनन्, भए खबर गर्नुपर्‍यो ! 

हामीकहाँ बेहोस भएर ढलेको व्यक्तिलाई छारेरोग लागेको सम्झी त्यहाँ उपस्थित व्यक्तिले जुत्ता वा मोजा सुँघाइदिएको देखिन्छ । के यसरी बेहोस भएर ढलेका व्यक्तिलाई गन्हाएको जुत्ता वा मोजासुँघाउनु सही हो ?

न्युरोलोजिस्ट डा. सुमन भट्टराईका अनुसार, विकसित देशमा यसरी ढलेका वा बेहोस मान्छेलाई जुत्ता वा मोजाको गन्ध सुँघाउने गरिँदैन । यो विश्वव्यापी अभ्यास होइन । ‘हाम्रोजस्तो विकासोन्मुख देशमा यस्तो (जुत्ता सुँघाउने) अभ्यास देखिन्छ । जुत्ताको गन्धले ब्रेनमा जाने अलफ्याक्टोरी नर्भलाई स्टिमुलेसन (उत्तेजित) गरेर छारे रेगलाई कम गर्छ भन्ने मान्यता देखिन्छ,’ न्युरोलोजिस्ट भट्टराई भन्छन्, ‘तर यो वैज्ञानिक विधि होइन, मिथ्या हो । हाम्रो सल्लाह हो, यसरी जुत्ता नसुँघाउनुस् ।’

डा. भट्टराईका अनुसार मान्छे बेहोस भएर ढल्ने विभिन्न कारण हुन्छन्, छारे रोगका कारण मात्रै यस्तो हुँदैन । ‘प्यारालाइसिस भएर अर्थात् ब्लड प्रेसरका कारण मस्तिष्कको कुनै भाग नचल्ने वा त्यहाँ रगत जम्ने हुनसक्छ, यस्तो बेला पनि मान्छे ढल्न सक्छ । कहिलेकाहीँ ब्रेनमा अक्सिजन नपुगेर पनि मान्छे ढल्ने गर्छन् वा बेहोस हुन पुग्छन्, जसलाई हामी सिनकोप भन्छौँ । ब्लड प्रेसर वा सुगर लगायत समस्याका कारण पनि ढल्छन्,’ उनी भन्छन्, ‘ढल्ने वा बेहोस हुनेहरू सबैलाई छारेरोग नै लागेको हुँदैन । यसरी ढल्नेहरूलाई जुत्ता सुँघाउँदा असर त गर्दैन, फाइदाजनक पनि होइन । मिडिया वा बौद्धिक वर्गले यो (जुत्ता सुँघाउनु) राम्रो होइन भन्नैपर्छ ।’

उनका अनुसार, दिमागको कुनै भागमा बढी तरंग (ब्रेन वेभ्स) उत्पन्न भएर शरीरका अंग (जस्तै : हात, खुट्टा लगायत) बढी चल्ने अवस्थालाई हामी मिर्गी वा छारे रोग (अंग्रेजीमा एपिलेप्सी वा सिजर) भन्छौँ । यस्तो खालको तरंग सामान्य अवस्थामा हुँदा कुनै समस्या हुँदैन तर यो तरंग बढी उत्पन्न हुँदा समस्या (छारे रोग) हुन सक्छ । यस्तो तरंग नसाबाटै प्रवाहित हुने गर्छ । छारे रोगका कारण ढलेको मानिस दुईदेखि पाँच मिनेटभित्र आफैँ होसमा आउँछन् । 

why-people-faint

बेहोस भएर ढलेकालाई के गर्ने ?

अकस्मात् ढलेको व्यक्तिलाई प्राथमिक रूपमा के गर्ने भन्ने महत्त्वपूर्ण हुन्छ । डा. भट्टराईका अनुसार, यसरी ढल्न पुगेका मानिसलाई सर्वप्रथम थप चोटपटक लाग्नबाट जोगाउनुपर्छ । अर्थात् उसलाई सुरक्षित स्थानमा सार्नुपर्छ । ढलेको व्यक्तिको मुखबाट आएको र्‍याल वा फिँजहरू घाँटीभित्र गएर नसर्कियोस् वा बाहिर जाओस् भनेर उसलाई कोल्टे पारेर राख्नुपर्छ । ‘यस्तो बेला पानी खुवाउने गरेको पनि पाइन्छ । यो गलत हो । किनभने यस्तो बेला पानी सर्कन सक्छ, जसले पछि निमोनिया निम्त्याउन सक्छ,’ उनी भन्छन्, ‘यस्तै घाँटी वा छातीतिरको भागको कपडा अलि खुकुलो पारिदिनुपर्छ ताकि ब्रेनसम्म पुग्ने महत्त्वपूर्ण नसाहरू नथुनियोस् वा नथिचियोस् ।’

यसरी बेहोस भएर ढल्दा हामीकहाँ पानी छम्कने वा खुवाउने गरेको पनि देखिन्छ । डा. भट्टराईका अनुसार, यस्तो बेला पानी छम्कँदा हानि त गर्दैन तर पानी खुवाउँदा सर्कन सक्छ । ‘त्यसैले पूरा होस नआएसम्म केही नखुवाउँदा उचित हुन्छ,’ उनी भन्छन्, ‘कतिपयले बिरामीको मुखमा औँला हाल्ने पनि गर्छन् । यो पनि उचित होइन, किनभने बिरामीमा होस नहुने भएकाले औँला टोकिदिन सक्छन् ।’   

उनका अनुसार, मानसिक समस्या र छोरे रोग पूर्णतः फरक कुरा हुन् । ‘यद्यपि छोरेरोग भएका सय जनामध्ये ३० जनामा मानसिक समस्या पनि देखिन्छ । यस्तै मानसिक रोग हुनेहरूमा पनि छोरे रोग हुन सक्छ । कतिपय व्यक्तिलाई छारेरोग नभए पनि मानसिक समस्याका कारण ढल्ने वा बेहोस हुने गरेको देखिन्छ । लामो वा पाँच मिनेटभन्दा बढी समय बेहोस हुने वा अन्य कारणले बेहोस भएका व्यक्तिलाई सकेसम्म छिटो नजिकैको अस्पताल लैजानुपर्छ । 

मनोविद् डा. करुणा कुँवरका अनुसार, बिजुलीको तार सर्ट भएर झिल्का आएजस्तै हो छारे रोग, यो मानसिक रोग होइन । छारे रोगलाई वर्गीकरण गर्दा मानसिक स्वास्थ्यभित्र राखिएको पाइन्छ, यद्यपि यो मानसिक समस्या होइन । ‘मानसिक समस्या भएका सबै व्यक्तिलाई छारेरोग हुँदैन र हरेक छारेरोग भएका व्यक्तिलाई मानसिक समस्या पनि हुँदैन,’ उनी भन्छिन्, ‘मानसिक समस्या कन्भर्जन डिस अर्डर भएकाहरू बेहोस भएर ढलेको पाइन्छ । यस्तो बेहोसी केही लामो समय हुने गर्छ कन्भर्जन डिसअर्डरमा देवीदेवता वा पितृ चढेको पनि भनिन्छ । झट्ट हेर्दा कन्भर्जन डिसअर्डर नाटकीय देखिन्छ, यद्यपि यो तनावको उच्च अवस्था हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप