सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

अपाङ्गता भएका व्यक्तिमा फिजियोथेरापी सेवाको पहुँच

आइतबार, १७ मङ्सिर २०८०, ११ : २६
आइतबार, १७ मङ्सिर २०८०

आज डिसेम्बर ३ । यस दिन हरेक वर्ष विश्वभर विभिन्न कार्यक्रम गरेर अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । यो दिनको मुख्य उद्देश्य समाजका हरेक तहमा रहेका अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र हितको प्रवर्द्धन गर्ने र राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक सबै पक्षमा अपाङ्गता भएका व्यक्तिहरूको अवस्थाबारे चेतना जगाउने हो । 

विश्व जनसङ्ख्याको १५ प्रतिशतभन्दा बढी (१.३ बिलियन) व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको तथ्याङ्क प्रकाशित भएको छ । यीमध्ये ८० प्रतिशत व्यक्ति कम विकसित मुलुकमा रहेको पनि आँकलन गरिएको छ । ६० वर्षमाथिका कुल जनसङ्ख्याको ४५ प्रतिशत व्यक्तिमा अपाङ्गता रहेको छ । महिला तथा बालबालिकामा भने हरेक ५ मध्ये १ महिला र हरेक १० मा १ बालबालिका जीवनको कुनै एक समयमा अपाङ्गता भोग्न बाध्य हुन्छन् । 

नेपालको जनगणना २०७८ ले नेपाली जनसङ्ख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको बताउँछ । यद्यपि अपाङ्गताको सही पहिचानको कमी, समान परिभाषा नहुनु र अपाङ्गतालाई सामाजिक खेदको विषयका रूपमा हेरिने हुनाले यसको व्यापकता अझै बढी हुन सक्ने विज्ञहरू बताउँछन् । 

अपाङ्गता पुनर्स्थापना 

अपाङ्गता भएको व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ ले अपाङ्गताको वर्गीकरण दुई किसिमले गरेको छ । पहिलो शारीरिक अङ्ग वा प्रणालीका आधारमा १० किसिमका र दोस्रो अशक्तता गम्भीरताका आधारमा ४ किसिमका भनी विभाजन गरिएको छ । अपाङ्गता स्वास्थ्यसँग सम्बन्धित मात्र नरही शिक्षा, सीप विकास र रोजगारी, सुरक्षा व्यवस्था, महिला तथा बालबालिका आधिकार, लैङ्गिक समानता, सामाजिक सुरक्षा र मनोरञ्जन आदिसँग प्रत्यक्ष सम्बन्ध राख्ने हुनाले यसलाई सामाजिक विषयका रूपमा हेर्नुपर्ने तर्क विश्वभर यस क्षेत्रमा काम गर्ने सरोकारवाला सुझाउँछन् । 

नेपालमा आपाङ्गताको पहिचान गरी गम्भीरताका आधारमा चार किसिमका अपाङ्गता पहिचानपत्र वितरण गर्ने व्यवस्था गरेको छ । उक्त पत्रका आधारमा अपाङ्गता भएका व्यक्तिले सामाजिक सुरक्षा भत्ता, बिमा, उपचारका सहुलियत, सरकारी सेवामा प्राथमिकता जस्ता विभिन्न सुविधा दिइएको छ । 

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ अनुसार पुनर्स्थापना सेवा भन्नाले अपाङ्गता भएका व्यक्तिलाई समाजमा सक्रिय जीवन निर्वाह गर्न सक्षम हुने गरी प्रदान गरिने चिकित्सकीय सेवा, जीवन उपयोगी व्यावसायिक तथा सीपमूलक तालिम, सहायक सामग्री औषधी उपचार, नियमित परामर्श तथा शैक्षिक र आर्थिक कार्यक्रम भन्ने बुझिन्छ । आपाङ्गता भएका व्यक्तिलाई फिजियोथेरापी, सहायक सामग्री, मनोसामाजिक परामर्श, व्यावसायिक तालिमको जीवनभर आवश्यकता पर्छ । राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले पुनर्स्थापना सेवा सर्वसुलभ र पहुँच योग्य बनाउन सङ्घ, प्रदेश र स्थानीय तहमा स्थापना गर्ने उल्लेख गरेको छ । पुनर्स्थापना सेवाले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन सरल बनाउन जीविकोपार्जन गर्न र समाजमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न मद्दत गर्दछ । 

फिजियोथेरापी सेवा अपाङ्गता भएका व्यक्तिहरूको पुनर्स्थापनाका लागि महत्त्वपूर्ण पाटो हो, जुन हरेक किसिमका अपाङ्गता भएका व्यक्तिलाई आवश्यक हुन्छ । फिजियोथेरापीद्वारा गरिने दुखाइ व्यवस्थापन, मांसपेशी सशक्तीकरण, गमनशीलता प्रशिक्षण आदिले व्यक्तिलाई दैनिक जीवनका क्रियाकलाप गर्न सहयोग पुग्छ । आधुनिक चिकित्सा प्रणालीको अभिन्न अङ्ग हो फिजियोथेरापी । यो सेवा अस्पताल, निजी पुनर्स्थापना केन्द्र, मेडिकल कलेज, खेलकुद क्लब आदिमा केही हदसम्म छ । तर पनि अपाङ्गता भएका व्यक्तिहरूका लागि भने सीमित सरकारी तथा गैरसरकारी संस्थाद्वारा प्रदान गरिँदै आएको छ । यस विषयमा फिजियोथेरापी सेवाको पहुँच बढाउन दक्ष जनशक्तिको उत्पादन, रोजगारीको सुनिश्चितता, सरकारी पुनर्स्थापना केन्द्रको स्थापना गर्नु पर्दछ । यद्यपि नेपाल सरकारले गरेका केही क्रियाकलाप सराहनीय छ । 

अपाङ्गता र पुनर्स्थापनासम्बन्धी नेपाल सरकारले मेडिकल अफिसर र अन्य स्वास्थ्यकर्मीलाई दिने तालिम विश्वकै नमुना तालिम रहेको छ । यसै गरी सहायक सामग्रीहरूको प्राथमिकता सूची तयार गर्ने नेपाल दोस्रो राष्ट्र हो । हालसालै बन्दै गरेको पुनर्स्थापनासम्बन्धी राष्ट्रिय रणनीति पनि नेपाल सरकारको पुनर्स्थापनाप्रति बलियो प्रतिबद्धता हो । 

यस वर्षको लक्ष्य 

संयुक्त राष्ट्रद्वारा प्रकाशित अपाङ्गता र विकास प्रतिवेदन २०२३ को प्रारम्भिक निष्कर्षहरूमा अपाङ्गता भएका व्यक्तिका लागि दिगो विकासका लक्ष्य पूरा गर्नमा अझ कठिनाइ देखिन्छ । अतः सन् २०२३ को अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस ‘दिगो विकासका लक्ष्य पूरा गर्न अपाङ्गता भएका व्यक्तिका लागि र अपाङ्गता भएका व्यक्तिहरूद्वारा एकीकृत कार्य’ भन्ने मूल नाराका साथ मनाइने संयुक्त राज्यद्वारा घोषणा गरिसकेको छ । नेपालमा पनि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाद्वारा यही नारा र उद्देश्यका साथ अपाङ्गता भएका व्यक्तिसम्बन्धी चेतना जगाउने र उक्त व्यक्तिहरूको हक र अधिकार सुनिश्चित गराउने अवधारणाले विभिन्न कार्यक्रम आयोजना गरेर मनाइँदै छ । 

कँडेल वीर अस्पताल फिजियोथेरापी युनिटका प्रमुख तथा नेपाल फिजियोथेरापी सङ्घ, केन्द्रीय कार्यसमितिका महासचिव हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विनय कँडेल
विनय कँडेल
लेखकबाट थप